Logo
Logo

ओडीआई वरीयतामा नेपालको सुधार


3.2k
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ओडीआई वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले एक स्थान सुधार गर्दै १६औं स्थानमा उक्लिएको हो ।

केही दिनअघि मात्रै १९औं स्थानबाट १७औं स्थानमा उक्लेको नेपालले यस पटक नामिबियालाई पछि पारेको हो । घरेलु मैदानमा स्कटल्याण्ड र नामिबियासँगको लिग–२ खेल्नुअघि १९ औं स्थानमा रहेको नेपालले त्यसपछिका ११ खेलमा १० जित निकाल्दै आफूलाई तीन स्थान सुधार गरेको हो ।

नेपाल भन्दा पछि नामिबिया १७ औं, अमेरिका १८ औं, युएई १९ औं र पपुवा न्युगिनी २० औं स्थानमा छन् । नेपाल भन्दा अघि ओमान १५ औं, नेदरल्यान्ड्स १४ औं, जिम्बावे १३ औं र स्कटल्यान्ड १२ औं स्थानमा छ ।

भारत शीर्ष, अष्टेलिया दोस्रो, न्युजिल्यान्ड तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा छ । त्यस्तै पाकिस्तान पाँचौं, दक्षिण अफ्रिका छैटौं, बंगलादेश सातौं, श्रीलंका आठौं, अफगानिस्तान नवौं, वेस्टइन्डिज १० औं र आयरल्यान्ड ११ औं स्थानमा छन् ।

नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत बिहीबार अन्तिम युएईसँग खेल्दैछ । उक्त खेल जितेमा नेपाल शीर्ष तीनमा रहँदै आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछ ।

यदि युएईसँग पराजित भए वा वर्षाको कारण खेल हुन नसके भने नेपालले यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्