Logo
Logo

भवानी खतिवडाको नियात्रा ‘चारखोलाको आँगनीमा’ लोकार्पण



काठमाडौं । कवि तथा नियात्राकार भवानी खतिवडाको नियात्रा ‘चारखोलाको आँगनीमा’ लोकार्पण गरिएको छ ।

मंगलबार नेपाल सांस्कृतिक संघ तथा पर्वतीय साहित्य समाज नेपालले राजधानीमा गरेको संयुक्त रुपमा आयोजना गरेको एक कार्यक्रममा उक्त कृति लोकार्पण गरिएको हो ।

प्रा.डा. माधवप्रसाद पोखरेलको प्रमुख आथित्यमा कार्यक्रममा अध्यक्ष शङ्करराज पन्त, साहित्यकारहरू प्रतीक ढकाल, भुवनहरि सिग्देल, प्रभा भट्टराई, महेश पौड्याल र कवि भवानी खतिवडा स्वयंले संयुक्त रुपमा उक्त पुस्कत सार्वजनिक गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रा.डा. पोखरेलले अविधात्मक वर्णनको तहबाट ध्वनि, वक्रता र रसको उदात्त तहमा उठेको भवानीको काव्यकारिता विशिष्ट भएको भन्दै प्रशंसा गरे ।

साहित्यकार भुसिग्देलले भवानीमा देखिएको छन्दको ज्ञान, शब्दसामर्थ्य र सूक्तिमयता असामान्य भएको बताए ।

अर्का वक्ता साहित्यकार ढकालले भवानीमा कवित्व र साहस प्रचूर मात्रामा रहेकोले उनको साहित्यिक क्षमता नियात्रा र कविता दुवै क्षेत्रमा उत्तिकै अब्बल देखिएको बताए ।

त्यस्तै समालोचक महेश पौड्यालले ‘पद्य–नियात्रा’ भनेर गरिएको यस कृतिको निरूपण सटीक र सैद्धान्तिक दृष्टिले तर्कसङ्गत रहेको बताए ।

कवि भट्टराई आफू भवानीको काव्यकारिताबाट असाध्यै प्रभावित भएको भन्दै यस कृतिमा चित्रित इलामको वर्णन सुललित र सूक्तिमय भएको बताइन् ।

कवि भवानीले भने आफू अग्रजहरूको सानिध्यमा अगाडि बढिरहने र निकट भविष्यमा शे–फोक्सुण्डो यात्रा तथा सगरमाथाको बेसक्याम्पको यात्रामा आधारित नियात्राकृतिहरू पनि प्रकाशित गर्ने जानकारी दिइन् ।

लोकार्पण कार्यक्रममा गायिका लोचन भट्टराई, कविहरू दिनेश पाण्डे, खोलाघरे साहिँलो, नारायण पोख्रेल, रञ्जु दाहाल, सबिता बराल तथा विपिन पाठकले विमोचित कृतिका केही अंश पनि वाचन गरेर सुनाए ।

नियात्रा–सङ्ग्रह ‘घामभन्दा पहिले’ पछि आएको यो कृतिकार खतिवडाको दोस्रो कृति हो ।

प्रतिक्रिया दिनुहोस्