काठमाडौं । गणतन्त्रमा पनि शासक कलमसँग डराउँछन् । जसरी राणा र पञ्चायतका शासकहरु डराउँथे । त्यसैले बोल्न र लेख्न प्रतिबन्ध लगाउँथे ।
![](https://www.drishtinews.com/wp-content/uploads/2023/03/Janak-kabita.jpg)
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै हजारौँ बलिदानीको बलमा लेखिएको संविधानमा अभिव्यक्ति स्वतन्त्रता सुनिश्ति छ । तर, गणतन्त्रका शासकहरु अभिव्यक्तिमाथि प्रतिबन्ध लगाउन उद्धत छन् ।
बिहीबार विराटनगरमा भएको एउटा घटनाले निरंकुश शासन व्यवस्थाकै झल्को दियो । जहाँ, कवितामार्फत शासकलाई प्रश्न गरिरहेका कविहरु पक्राउ परे ।
प्रदेशसभाले गरेको प्रदेश १ को नामाकरण ‘कोशी’ खारेज गरी पहिचानको आधारमा नयाँ नामकरण गर्नुपर्ने माग राख्दै शान्तिपूर्ण साहित्यिक प्रतिरोधमा उत्रिएका साहित्यकारहरुलाई पक्राउ गर्नुले लोकतन्त्रकै उपहास भएको टिप्पणी गरिएको छ ।
‘कोशी’ प्रदेश नाम खारेजीको अभियानस्वरुप ‘पहिचानको लागि सडक साहित्य यात्रा-२०७९’ प्रदेश १ सभाको गेटअगाडि सुरु हुन लाग्दा प्रहरीले हस्तक्षेप गरेको थियो । कविता सुनाइरहेका कवि एवं पत्रकार जनकऋषि राई र सञ्जय याक्खालाई प्रहरीले पक्राउ गर्यो । केहीबेरमा रिहा गरेपनि यस घटनालाई सामान्य मानिएन ।
![](https://www.drishtinews.com/wp-content/uploads/2023/03/Sahitik-sadak-yatra.jpg)
निरंकुश राज्य व्यवस्थामा जस्तै गणतन्त्रमा पनि लेख्दै बोल्नेसँग राज्यसत्ता त्रसित भएको र प्रतिबन्ध लगाउन खोजेको धेरैले आरोप लगाए ।
‘बिराटनगरबाट शुरुवात कविता यात्रामा बर्बर प्रहरी दमनले यस्तो लाग्यो, यो संघीय राज्य अनि बलिदानीपूर्ण गणतन्त्र हाम्रो लागि हौइन रहेछ ! शान्तिपूर्ण कविता वाचन कार्यक्रममाथि गरिएको दमन हाम्रो आवाज माथिको दमन र प्रतिबन्ध हो’, किरात राई लेखक संघका केन्द्रीय अध्यक्ष बलिराज खम्बू लेख्छन्, ‘हामीसँग कुनै जिन्दावाद मुर्दावादको नारा थिएन, केवल थियो एकटुक्रा कागज र अक्षरहरु । यिनै अक्षरहरुसँग डराएर जुन दमन हामीमाथि भएको छ । यो दमनले हाम्रो यो यात्रा रोकिने छैन् ।’
त्यस्तै, पत्रकार भद्रगोल किराती लेख्छन्, ‘कोशी नाम खारेज गर, पहिचान बिरोधी होसियार, ईतिहास र सभ्यताको सम्मान गर, पहिचानसहितको पुनः नामकरण गर, यो अभियान निरन्तर १४ जिल्लामै लगिनेछ ।’
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले भने यस घटनालाई क्षेप्यास्त्र पड्किएको टिप्पणी गरेका छन् । कवि राई लेख्छन्, ‘सुखद खबर ! तथाकथित ‘कोशी’ नामांकनप्रतिको चैतनिक असहमतिले बिराटनगरमा कविताको क्षेप्यास्त्र पड्क्यो । स्याबास पहिचानका योध्दा कविहरु । आज कविहरुले फेरि यो सन्देश दोहो¥याएका छन्, ‘बिद्रोह जनताको नैसर्गिक अधिकार हो ।’
त्यस्तै, आदिवासी जनजाति साहित्यकार/लेखक महासंका अध्यक्ष राजन मुकारुङ लेख्छन्, ‘सुन्नुपर्नेमा कविता सुनाउँदा नै पक्रनुपर्ने, थुन्नुपर्ने कति कमजोर सत्ता हो ।’
त्यस्तै, गीतकार आशकुमार राईले नश्लवादी तथा एकात्मक राज्य सत्ताको आयु लगभग सकिसकेको प्रमाण भएको टिप्पणी गरेका छन् । ‘जो एउटा कविता सुन्न नसकेर आतंकित र भयभित भइ बर्बरतामा उत्रिरहेको छ’ उनले लेखेका छन् ।
साहित्यकार बच्चु हिमांशुले राज्यले द्वन्द चाहेको भन्दै विद्रोहको रुपम समयले तय गर्ने बताएका छन् । ‘इतिहासका कुनैपनि द्वन्दमा राज्यविरुद्ध होमिनु जनताको चाहना थिएन’, उनी लेख्छन्, ‘जब राज्यबाट विभेद हुन्छ । जनताले विभेदको प्रतिरोध गर्दा राज्यबाट दमन हुन्छ । तब अवश्य विद्रोह हुन्छ । विद्रोहको रुप समयले तय गर्छ ।’
त्यस्तै, देवराम दोवालीले लोकतन्त्रलाई आत्मासात गर्दै शान्तिपूर्वक माग जाहेर गर्दा प्रहरी हस्तक्षेप हुनु एकात्मक बाहुनबादी जातिबादी राज्यसत्ताले जबर्जस्ती मुठभेडमा धकेलेर सफाय गर्ने दिवा सपना देखेको उल्लेख गरेका छन् । उनी लेख्छन्, ‘सचेत पुर्वक हाम्रो आन्दोलन जारी राखौँ, जबसम्म हिन्दु अधिनायकबादी बाहुनवाद राज्यसत्ताले घुडा टेक्दैन ।’
त्यस्तै, माया बान्तवालाई पनि उक्त घटनाको दृश्यले उनको मन पोलेको छ । ‘संविधानले दिएको अधिकारलाई राज्यले जनतालाई निरंकुश तानाशाही प्रवृत्तिले कवितासम्म बाचन गर्न नदिनुले संविधानको रक्षक भनौदा दमनकारी प्रहरीहरु तिमीहरुको शक्ति अब यत्ति नै हो ?’ उनी प्रश्न गर्छन्, ‘यी पहिचान प्रेमीहरुको हृदयमा बल्दै गरेको आगोमा तिमीहरुले घ्यु थपेका छौँ, याद राख ।’
त्यस्तै, प्रश्न गर्दै नविन रम्तेल लेख्छन्, ‘एउटा कविताको शिर्षकमात्रै बाचन गर्न नपाई धरपकड गरिनु साँच्चै लोकतन्त्रको उपहास हैन ?’ प्रहरी दमनमा परेकाहरुलाई सम्मान व्यक्त गर्दै पत्रकार श्रीशिसा राई लेख्छन् ‘पहिचानको आन्दोलनको एक स्वरुपका रुपमा आयोजित कविता वाचनमा जस्तोसुकै दमन भएपनि पहिचान कविता वाचन गर्न छाड्नुहुँदैन । पहिचान आन्दोलन, अझ भनौँ पहिचान साहित्य लेखन अभियानका सन्दर्भमा यो फोटो विशुद्ध सांकेतिक सन्देशमुलक छ ।’
त्यस्तै, नगे चाम्लिङले संविधानमा बोल्न पाउने मौलिक हक भएको उल्लेख गर्दै राणा शासनभन्दा निरंकुश ढंगले आक्रमण गर्ने डिएसपी दीपा श्रेष्ठलाई बर्खास्त हुनुपर्ने माग राखेका छन् । कलमदेखि डराउने सत्ता कायरताको पराकाष्ठा रहेको भन्दै आदिवासी अधिकारकर्मी गोविन्द छन्त्याल लेख्छन्, ‘पहिचान र अधिकार प्राप्तीका आन्दोलनमा सिर्जनाको माध्यमले प्रतिरोध गर्नुहुने सबैमा सलाम, गिरफ्तारी हुनुभएका साहित्यकारहरुमा विशेष सलाम ।’
![](https://www.drishtinews.com/wp-content/uploads/2023/03/Janakrisi-arest.jpg)
त्यसैगरी, राजेन खिम्बु ‘मुलघरे कान्छा’ले किरातभूमीको अस्तित्वको लडाइँ लामो संघर्षको यात्रा भएको भन्दै अब फेरि सुरुवात भएकाले किराती युवाहरुलाई अर्को जननायक रामप्रसाद राई बन्ने अवसर दिएको उल्लेख गरेका छन् ।
‘यदि किरातीहरु जाग्ने हो भने यो शासाकहरुको राज्यसत्ता कब्जा गर्न सक्छन् भनेर रामप्रसाद राईको नेतृत्वमा रहेको मुक्तिसेनाले वि.सं. २००८ साल माघ ८ गते शक्तीशाली शासक राणाहरुको सेनाको किल्ला ध्वस्त पार्दै सिंहदरबार कब्जा गरेको जिवित ईतिहासले प्रमाणित गरिसकेको छ ।’ किरातभूमीको अस्तित्वका लागि लामो संघर्षको तयारीमा जुट्न अपिल गर्दै उनी लेख्छन्, ‘यो राज्यसत्ता कब्जा गर्ने तागत हुँदा-हुँदै पनि आज हामी किरातीहरु तिनै शासकहरुको निरीह दास भएका छौँ । यो किराती समाजले फेरि पनि रामप्रसाद राईहरु जस्तो महान योद्धाको जन्म पर्खिरहेको छ, यो युगले फेरि किराती युवालाई अर्को जननायक रामप्रसाद राई बन्ने अवसर दिएको छ । किरातभुमिको अस्तित्वको निर्णायक लडाइँ लड्न हजारौं किरातीले बलिदान दिन तयार हुनैपर्छ ।’
यस्तो छ जनकऋषिको कविता
‘सदनअगाडि’
इतिहासले भन्छ- किरात प्रदेश
सभ्यता हो किरात
माटो हो किरात
हावा किरात
पानी किरात
वनजंगल किरात
यहाँको जनजीवन किरात
सबका सब किरात
म त्यही प्रदेशमा उभिएको छु
आदिम सभ्यताको मियो बोकेर
तिम्रो सदनअगाडि
तिम्रै हातले लेखेको घोषणापत्र ‘पढ’ भन्न आएको छु ।
काँडेतार राखेर तिमी
हामीलाई छेकिरहेका छौं
जासुस खटाएर तिमी
हाम्रो खबर लिइरहेका छौं
पुलिस राखेर तिमी
हामीलाई तर्साइरहेका छौं
तर, हामी
सबै बाधा पन्छाउँदै
तिम्रै सदनअगाडि
छाति खोलेर
भनिरहेका छौं– किरात प्रदेश
मुख्यमन्त्री महोदय,
नाङ्गो छातीमा
तिमीले बन्दुक हाने हुन्छ
बुट बर्साए पनि हुन्छ
इतिहासको मस्तिष्क लिएर उभिएको हामी
टाउकोमा ताकेर हाने पनि हुन्छ
अनि, तिमी मेरो रगत टेक्दै
यही बाटो भएर सदन गए हुन्छ
र, सदनको डिनरमा
काँचो रगतको डकार गरे हुन्छ
गरे हुन्छ पहिचान मारिएकोमा चियर्स
तर, सम्झनु
इतिहास बोकेर जुरुक्क उठेको दिन
तिम्रो हाडखोरलाई गोली हान्न नसकौंला
लेउ पलाएको तिम्रो चिहानअगाडि उभिएर थुक्नेछौं
हाम्रा थुकहरुले
तिम्रो कुकर्महरु पखालिनेछ
र, तिम्रो भड्किएको आत्माले शान्ति पाउनेछ-
किरात प्रदेशको माटोमा ।
फेरि तिम्रो आत्मा खुवालुङ तरेर
हामीसँगै फुल्नेछ
सभ्यता भएर
हामीसँगै कङकङ्माको स्वर गाउनेछ ।
किरात प्रदेशमा
सोलोलो…सोलोलो…