Logo
Logo

डिएसपीमाथि छानबिन सुरु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १७ कार्तिक ।

विवादमा तानिएका इलाका प्रहरी कार्यालय कोहलपुरका इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीमाथि छानबिन सुरु भएको छ । त्यसका लागि दुई समिति गठन गरिएको छ ।

प्रदेश–५ प्रहरी कार्यालय र प्रहरी हेडक्वाटरले शाहीमाथि छानबिन गर्न दुई अलग–अलग समिति गठन गरेका हुन् ।

प्रदेश–५ प्रहरी कार्यालयले प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी नरबहादुर केसीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

प्रहरी प्रधान कार्यालयले पनि एसएसपी उमेशराज जोशीको नेतृत्वमा अर्को समिति गठन गर्ने तयारी गरेको जनाइएको छ । समितिमा एक एसपी र एक डीएसपी पनि रहने जनाइएको छ ।

डीएसपी शाहीले तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कासँग खसी मागेको अडियो सार्वजनिक भएपछि उनी विवादमा तानिएका थिए । तरुण दलका नेपालगञ्ज नगर सभापतिलगायत ६ जनालाई प्रहरीले अत्याधुनिक पेस्तोलसहित पक्राउ गरेको दावी गरेको छ । तर, तरुण दलले भने नगरसभापति सन्दीपजङ्ग शाहको भनिएको पेस्तोल प्रहरीकै रहेको भन्दै फिङ्गर प्रिन्ट लिन माग गरेको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले जानकी गाउँपालिका–६, गनापुरस्थित नमस्ते रिसोर्टबाट उनीहरुलाई नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा शाहसहित दिनेश शाही, राघव शाह सानु, माधव नेपाली, जयबहादुर बुढा र प्रितम थापा मगर छन् ।

रिसोर्टको पूर्वतर्फ पार्किङ गरिरहेको बा १८च ४२११ नम्बरको मारुती सुजुकी कारको बायाँतर्फको सिटमा फल्ट बटम बनाई लुकाई छिपाइ राखेको अवस्थामा अटोमेटिक पेस्तोल एक थान र दुई राउण्ड गोली लोड गरिराखेको म्यागेजिनसहित उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीको दावी छ । तर उनीहरु पक्राउ परे लगतै डिएसपी शाहीको अडियो टेप बाहिरिएपछि घटनाले अर्कै मोड लिएको हो ।

प्रतिक्रिया दिनुहोस्