Logo
Logo

बागमतीका मुख्यमन्त्रीले भोलि विश्वासको मत लिने



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भोलि विश्वासको मत लिने तयारी गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री जमकट्टेलले चैत ८ गते दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् ।

११० जना सांसद रहेको बागमती प्रदेशसभामा यसअघि माघ ३ गते मुख्यमन्त्री जम्कट्टेललाई ६ दलका १०५ जना सांसदले विश्वासको मत दिएका थिए ।

कांग्रेस ३६, एमाले २७, माओवादी केन्द्र २१, राप्रपा १२, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसदले विश्वासको मत दिएका थिए । प्रदेशसभाका दुई तिहाई भन्दा बढी सांसदको विश्वासको मत पाएका जम्कट्टेलले मुख्यमन्त्री नियुक्त भएको ६५ दिनमा नै दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री जम्कट्टेले चैत ८ गते बुधबार विश्वासको मत लिन प्रदेशसभा सचिवालयलाई पत्र समेत पठाइसकेका छन् । उनले नेपालको संविधानको धारा १८८ को २ बमोजिम संसदबाट पुनः विश्वासको मत लिने तयारी गरेका हुन् ।

सोही अनुसार प्रदेशसभा सचिवालयले चैत ८ गते दिउँसो ३ बजेका लागि प्रदेशसभाको बैठक बोलाएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए । मुख्यमन्त्री जम्कट्टेलाई आगामी चैत १२ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने बाध्यता छ ।

पुस २६ मा मन्त्रिपरिषद् गठन हुँदा एमाले माओवादी केन्द्र र राप्रपा सत्ता सीमकरण थियो । हाल सरकारमा माओवादी केन्द्र र एमाले मात्रै सहभागी छ ।

संविधानतः मुख्यमन्त्रीलाई समर्थन दिएको वा विश्वासको मत दिएको दल तथा सांसदले समर्थन फिर्ता लिएको अवस्थामा सोको ३० दिन भित्र पुनः विश्वासको मत लिनुपर्ने हुन्छ । जस अनुसार मुख्यमन्त्री जम्कट्टेलले फागुन १४ गतेको मितिले ३० दिन भित्र विश्वासको मत लिनु पर्ने हुन्छ ।

सात दलको प्रतिनिधित्व रहेको बागमती प्रदेशमा ११० जना सांसदहरु रहेका छन् । एक सय १० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीलाई विश्वासको मतका लागी ५६ जना सांसदको समर्थन आवश्यक पर्छ ।

प्रदेशमा सबैभन्दा ठूलो दल कांग्रेसका ३६, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १२, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन् ।

मुख्यमन्त्री जम्कट्टेललाई केन्द्रमा सत्ता समिकरणमा रहेका दलहरु कांग्रेस, माओवादी र एकीकृत समाजवादीका सांसदहरुले मात्रै विश्वासको मत दिए पुग्छ ।

प्रतिक्रिया दिनुहोस्