Logo
Logo

घुमुवालाई लगाम लगाएर बिदा हुँदै आइजीपी सिंह



नेपाल प्रहरीमा आर्थिक अनियमितताको प्रमुख कारण घुमुवा प्रहरीको विकृतिलाई मानिन्छ । हाकिमको प्रिय घुमुवा प्रहरी सूचना संकलनका नाममा पैसा उठाउन परिचालन हुने गरेका छन् ।

घुमुवा प्रहरीका विकृति बढेको भन्दै आइजीपी धिरज प्रताप सिंहले विकृति अन्त्य गर्ने थालनी गरेका छन् । घुमुवा प्रहरीलाई लगाम लगाउने प्रक्रिया अघि बढाए सिंह बिदा हुँदै छन् ।

सूचना संकलनका लागि सादा पोसाकमा खटिने प्रहरीको गैरव्यावसायिक गतिविधि रोक्न नयाँ कार्यविधि बनेको छ । असल चालचलन भएका प्रहरीलाई मात्र सादा पोसाकमा खटाउन लागिएको छ ।

तत्कालीन डीआइजी टेकप्रसाद राई नेतृत्वको एक अध्ययन समितिले यससम्बन्धि प्रतिवेदन बनाएर कार्यविधि संशोधनको सुझाव दिएको थियो । सोही आधारमा घुमुवा परिचालनलाई व्यवस्थित बनाउन लागिएको हो ।

जसमा पछिल्लो चार वर्षको ‘ट्रयाक रेकर्ड’ हेरेर असल चालचलन भएका कर्मचारीलाई मात्र सादा पोसाकमा खटाउने तयारी छ । सादा पोसाकमा खटाउनुअघि माथिल्ला निकायबाट त्यसको स्वीकृति लिनुपर्ने व्यवस्था गर्न लागिएको छ ।

जिल्ला प्रहरी कार्यालयले पहिला प्रदेश प्रहरी कार्यालयलाई त्यसबारे जानकारी गराएर स्वीकृति लिनुपर्ने हुन्छ । नियमन हुने र पारदर्शिता पनि हुने भएकाले यस्तो लागू गर्न लागिएको छ । हाल कार्यालय प्रमुखले आफूनिकटका प्रहरीलाई सादा पोसाकमा खटाउने गरेका छन् ।

सादा पोसाकमा खटिने कर्मचारीका कारण संगठन बदनाम नहोस् भनेर यसमा सुधार थालिएको प्रहरी प्रधान कार्यालयका एक अधिकारी बताउँछन् । प्रतिवेदनका आधारमा सादा पोसाकमा प्रहरी परिचालनसम्बन्धी कार्यविधि संशोधन गरिएको छ ।

सादा पोसाकमा कार्यरत प्रहरीहरू पटक–पटक आफैँ अपराधमा संलग्न हुँदै आएका छन् । घुमुवा प्रहरीसमेत भनिने उनीहरूका कारण प्रहरी बदनाम हुँदै आएको छ । सादा पोसाकमा प्रहरी परिचालनलाई व्यवस्थित बनाउन विगतमा धेरैपटक प्रयास भए पनि सफल हुन सकेको छैन ।

प्रहरीका हाकिमहरूले व्यक्तिगत स्वार्थका लागि सादा पोसाकका प्रहरीलाई परिचालन गर्दै आएका छन् । सूचनासँगै आर्थिक लेनदेनमा पनि संलग्न हुने कारण सादा पोशाकका प्रहरी विवादमा पर्ने गरेका छन् ।

एक प्रहरी अधिकारीका अनुसार खासगरी तराईका जिल्लामा घुमुवा विकृति धेरै छ । कतिपय कार्यालयमा १० वर्षदेखि एउटै प्रहरी घुमुवाका रूपमा कार्यरत छन् । जहाँ सरुवा भए पनि काज मिलाएर त्यहीँ बस्ने प्रवृत्ति छ ।

धेरैजसो हाकिमलाई आर्थिक संकलनका लागि इमानदारभन्दा पैसा उठाउन सक्ने प्रहरी चाहिने र उनीहरूले त्यस्तै खराब संगत भएका प्रहरीलाई रोज्ने गरेका छन् । कतिपय अवस्थामा आइजिपीले नै तराईमा घुमुवा खटाउने गरेको स्रोत बताउँछ ।

त्यस्ता प्रहरीकै कारण समग्रमा प्रहरीको इन्टेलिजेन्स बदनाम हुन पुगेको हो । घुमुवालाई सुधार गरे प्रहरीको छवी पनि सुधार हुने प्रहरी अधिकारी बताउँछन् । तर, कार्यान्वायन भने निकै चुनौतीपूर्ण छ ।

प्रतिक्रिया दिनुहोस्