बुटवल । नेकमा माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । राष्ट्रपति निर्वाचनमा केन्द्र सरकारमा फेरिएको सत्ता समीकरणअनुसार नेकपा एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरीलाई दिएको समर्थन माओवादले फिर्ता लिने भएको हो ।

गत पुस २७ गते सात दलका ५६ र २ स्वतन्त्रसहित ५८ सांसदको समर्थनमा मुख्यमन्त्री गिरीले माघ ५ गते विश्वासको मत पाएका थिए । माओवादी संसदीय दलका नेता जोखबहादुर महराका अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल भइरहेको बताए । उनले बिहीबारसम्म समर्थन फिर्ता लिने बताए ।
मुख्यमन्त्रीलाई विश्वासको मत दिएका माओवादी केन्द्र, जसपा र जनमत पार्टी सरकारमा छन् । नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादीले बाहिरबाट समर्थन गरेका थिए । अहिले फेरिएको सत्ता समीकरण अनुसार यी सबै दल प्रदेश सरकारको विपक्षमा छन् ।
मुख्यमन्त्रीलाई विश्वासको मत नदिएको राष्ट्रिय जनमोर्चा पनि माओवादीसहितको गठबन्धनमा छ । अहिले राप्रपा मात्रै नेकपा एमालेको पक्षमा उभिएको छ ।
मुख्यमन्त्रीलाई समर्थन गरेको माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा मुख्यमन्त्री गिरी अल्पमतमा पर्छन् । माओवादीले समर्थन फिर्ता लिएपछि अरु साना दलहरुले पनि फिर्ता लिने निश्चित देखिएको छ ।
यसपछि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । र विश्वासको मत नपाएको अवस्थामा गिरी नेतृत्वको सरकार ढल्ने छ ।