Logo
Logo

अप्ठ्यारो अवस्थामा पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह



काठमाडौं । विषम परिस्थितीमा प्रहरी नेतृत्वमा पुगेका आइजिपी सिंह म्याद थप नभएमा यही साता अवकाश पाउँदैछन् । उनले ११ महिने कार्यकालमा प्रहरीमा के–के गरे ? कस्तो रह्यो उनको कार्यकाल ?

नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले सफलतापूर्वक ११ महिना नेपाल प्रहरीको नेतृत्व गरेका छन् । आगामी शुक्रबार अवकाश पाउन लागेका सिंहले प्रहरी संगठनका लागि केही महत्वपूर्ण योगदान दिएका छन् । संगठनमा थोरै समयमा भए पनि सुधारको पहल गरेकाले उनको कार्यकाल उपलब्धिमुलक नै बन्न पुगेको छ ।

सिंह स्थानीय तहको निर्वाचनको मुखमा आइजीपी नियुक्त भएका थिए । आइजीपी नियुक्त हुनुभन्दा ३० दिनअघि मात्र उनी एआइजी बढुवा भएका थिए ।

उनकै ब्याचका विश्वराज पोखरेल र सहकुलबहादुर थापा पहिले नै एआइजी भइसकेका थिए । त्यसकारण उनीहरुलाई नै आइजीपीको प्रमुख दाबेदार मानिएको थियो । तर, सुरक्षा निकायको सर्वाेच्च पदमा पुग्न भाग्यको पनि साथ चाहिन्छ भनिन्छ ।

कुनै समय आइजीपीको प्रतिस्पर्धाबाटै बाहिरिएका सिंहलाई भाग्यले साथ दियो र उनी नै नेपाल प्रहरीको २९औं आइजीपीमा नियुक्त भए । नियुक्त भएको दिनदेखि नै चुनौती झेलेका उनको कार्यकालको अन्तिम महिना उपलब्धिपूर्वक रहे ।

सुरुवाती तीन महिना मुद्दा झेल्दैमा बित्यो । आइजीपी बढुवाविरुद्ध एआइजी पोखरेल सर्वाेच्च अदालत गए । यद्यपि, असार महिनामा सर्वाेच्चले सरकारको निर्णय नै सदर गरेपछि उनलाई काम गर्न सहज वातावरण भएको थियो ।

सुरक्षाका दृष्टिकोणले ऐतिहासिक निर्वाचन
उनकै कार्यकालमा प्रहरीमा दुई वटा महत्वपूर्ण निर्वाचन सम्पन्न भयो । सुरक्षाका दृष्टिकोणले दुवै निर्वाचन ऐतिहासिक रहे । किनकि, एकैचरणमा निर्वाचन गर्दा पनि विगतमा जस्तो बुथ कब्जा तथा झडपका घटना न्यून भएका थिए । सिमित स्रोत साधनकाबीच प्रहरीले शान्तिपूर्णरुपमा स्थानीय, प्रदेश र संघको निर्वाचन सम्पन्न गरेको थियो ।

कतिसम्म भने प्रहरीसँग पर्याप्त सञ्चार साधन तथा पेस्तोलसमेत थिएनन् । नेपाली सेनासँग पेस्तोल सापट लिएर भए पनि प्रहरीले चुनाव गराएको थियो ।

अर्काेतर्फ विगतको निर्वाचनमा प्रहरीले सत्तापक्षलाई सघाएको आरोप लाग्ने गर्दथ्यो । यो पटक फाट्टफुट्ट घटना बाहेक प्रहरीको भूमिका निष्पक्ष नै देखियो । चुनावको दृष्टिकोणले प्रहरी नेतृत्व सफल बन्न पुग्यो । गृहमन्त्री बालकृष्ण खाण स्वयं रुपन्देहीबाट पराजित भए ।

सुरुवाती सरुवा केही विवादित बन्न पुग्यो । तत्कालीन गृह प्रशासनले सबै जसो महत्वपूर्ण जिल्लामा चलखेलका आधारमा आफु निकट व्यक्तिहरुलाई पठायो । खासगरी एसएसपी र एसपी सरुवा विवादित बन्न पुग्यो ।

डीएसपी र इन्सपेक्टर सरुवामा पनि प्रधानमन्त्री तथा गृहमन्त्री निकट बिचौलियाहरु हाबी भए । जसकारण चुनावको मुखमा प्रहरीमा निकै राजनीतिक हस्तक्षेप हुन पुग्यो । तराईका जिल्लामा कतिपय प्रहरीले तस्करीको लाइन नै खुलाएका थिए । त्यसलाई प्रहरी नेतृत्वले रोक्न सकेन ।

यद्यपि, निर्वाचनलगत्तै प्रहरीमा सुधार भयो । प्रहरी नेतृत्व बलियो भयो । सरुवा र बढुवामा राम्रा अधिकृतहरु नै पुरस्कृत भए ।

कतिसम्म भने डीआइजी र एसएसपीको सरुवा गर्दा सम्बन्धित अधिकारीले नै थाहा पाएनन् । जबकी राम्रो कार्यालयमा जानका लागि शक्तिकेन्द्रलाई खुशी बनाउनुपर्ने बाध्यता थियो ।

डीआइजीबाट एआइजी बढुवामा समेत आइजीपी नै शक्तिशाली देखिए । वरियताअनुसार नै उनकै सिफारिसमा पाँच सिनियर डीआइजीको विवादरहित बढुवा भयो ।

त्यस्तै, सरुवामा उनले मापदण्ड बनाएर कार्यान्वायन गरे । जसअनुसार एसपीको सरुवामा पहुँच नभएकाले पनि जिल्ला कमाण्ड गर्ने अवसर पाए । सरुवामा प्रहरी नेतृत्व बलियो हुँदा संगठनभित्रको अनुशासन पनि बलियो भने भने पुलिसिङमा त्यसको सुधार देखिएको छ ।

साथै गलत गर्ने प्रहरीमाथि पनि उनले कारबाही गर्न डराएनन् । तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको आडमा बुटवलमा आतंक मच्चाएका डीएसपी ठगबहादुर केसीलाई पक्राउ गर्न सीआइबीबाट बिशेष टोली पठाए । केसीको निवासबाट ३५ तोला सुन बरामद भयो । उनलाई तत्कालै निलम्बन गरे । गलत नियतले सो सुन राखेको भन्दै उनलाई भ्रष्टाचार मुद्दा चलाउन अख्तियारमा सिफारिस गरिएको छ ।

तस्करीमा मिलेमतो देखिएपछि पश्चिम नवलपरासीका एसपी ऋषिराम कँडेललाई त्यहाँबाट हटाएर कारबाहीमा गरियो । राम्रो कमान्ड गर्न नसक्ने बालाजु वृत्तका डीएसपी रबिन बिष्टलाई जिम्मेवारी मुक्त गराएर कारबाही गरिएको थियो । संगठनमा केही नीतिगत सुधारका काम पनि उनको कार्यकालमा भएको छ ।

साथै विभिन्न बैंक तथा फाउन्डेसनसँग मिलेर छात्रवृत्ति कोषहरु स्थापना गरिएको छ । यसले प्रहरी कर्मचारीको मनोबल बढाउने निश्चित छ । उनकै कार्यकालमा काभ्रेको पनौतीमा प्रहरी एकेडेमीको शिलान्यास भएको छ । नयाँ एफपियु मिसनका लागि एक तहको प्रक्रिया अघि बढेको छ ।

साथै अपराध अनुसन्धानमा पनि उनी सफल नै भए । म्याच फिक्सिङदेखि राजनीतिक संरक्षणमा भइरहेको आर्थिक अपराधको सफल अनुसन्धान भएको छ । उनको कार्यकालमा ठूला र संगठित प्रकृतीका अपराध भएनन् । तर, निर्मला पन्तको घटना भने उनको कार्यकालमा पनि पर्दाफास हुन सकेन । शान्ति सुरक्षा र अपराध अनुसन्धानमा पनि आइजिपी सफल नै भएका छन् ।

अर्काे महत्वपूर्ण विषय हरेक जसो आइजीपी यसअघि आर्थिक अनियमिततामा मुछिदै आएका थिए । चुनावको समय भएकाले प्रहरीले धेरै बजेट पनि पाएको थियो । तर, आइजीपी सिंह आर्थिक मामिलामा विवादमा मुछिएनन् । सार्वजनिक खरिद ऐनअनुसार नै काम गरेकाले पनि अनियमितताको बोझ उनले बोक्नु परेन ।

सुरुवाती महिना त्यति राम्रो हुन नसकेपनि पछिल्ला तीन महिनामा महानिरीक्षक सिंहले प्रहरीको मनोबल बढाउन सफल भएका छन् । जसकारण समग्रमा उनी सफल प्रहरी महानिरीक्षक बनेका छन् ।

घुमुवालाई लगाम लगाउने तयारी
प्रहरीमा आर्थिक अनियमितताको प्रमुख कारण घुमुवा प्रहरीको विकृतिलाई मानिन्छ । हाकिमको प्रिय घुमुवा प्रहरी सूचना संकलनका नाममा पैसा उठाउन परिचालन हुने गरेका छन् । घुमुवालाई पनि आइजीपी धिरज प्रताप सिंहले लगाम लगाउने प्रक्रिया अघि बढाएका छन् ।

सूचना संकलनका लागि सादा पोसाकमा खटिने प्रहरीको गैरव्यावसायिक गतिविधि रोक्न नयाँ कार्यविधि बनेको छ । असल चालचलन भएका प्रहरीलाई मात्र सादा पोसाकमा खटाउन लागिएको छ ।

तत्कालीन डीआइजी टेकप्रसाद राई नेतृत्वको एक अध्ययन समितिले यससम्बन्धि प्रतिवेदन बनाएर कार्यविधि संशोधनको सुझाव दिएको थियो । सोही आधारमा घुमुवा परिचालनलाई व्यवस्थित बनाउन लागिएको हो ।

जसमा पछिल्लो चार वर्षको ‘ट्रयाक रेकर्ड’ हेरेर असल चालचलन भएका कर्मचारीलाई मात्र सादा पोसाकमा खटाउने तयारी छ । सादा पोसाकमा खटाउनुअघि माथिल्ला निकायबाट त्यसको स्वीकृति लिनुपर्ने व्यवस्था गर्न लागिएको छ ।

जिल्ला प्रहरी कार्यालयले पहिला प्रदेश प्रहरी कार्यालयलाई त्यसबारे जानकारी गराएर स्वीकृति लिनुपर्ने हुन्छ । नियमन हुने र पारदर्शिता पनि हुने भएकाले यस्तो लागू गर्न लागिएको छ । हाल कार्यालय प्रमुखले आफूनिकटका प्रहरीलाई सादा पोसाकमा खटाउने गरेका छन् ।

सादा पोसाकमा खटिने कर्मचारीका कारण संगठन बदनाम नहोस् भनेर यसमा सुधार थालिएको प्रहरी प्रधान कार्यालयका एक अधिकारी बताउँछन् । प्रतिवेदनका आधारमा सादा पोसाकमा प्रहरी परिचालनसम्बन्धी कार्यविधि संशोधन गरिएको छ ।

सादा पोसाकमा कार्यरत प्रहरीहरू पटक–पटक आफैँ अपराधमा संलग्न हुँदै आएका छन् । घुमुवा प्रहरीसमेत भनिने उनीहरूका कारण प्रहरी बदनाम हुँदै आएको छ । सादा पोसाकमा प्रहरी परिचालनलाई व्यवस्थित बनाउन विगतमा धेरैपटक प्रयास भए पनि सफल हुन सकेको छैन ।

प्रहरीका हाकिमहरूले व्यक्तिगत स्वार्थका लागि सादा पोसाकका प्रहरीलाई परिचालन गर्दै आएका छन् । सूचनासँगै आर्थिक लेनदेनमा पनि संलग्न हुने कारण सादा पोशाकका प्रहरी विवादमा पर्ने गरेका छन् ।

एक प्रहरी अधिकारीका अनुसार खासगरी तराईका जिल्लामा घुमुवा विकृति धेरै छ । कतिपय कार्यालयमा १० वर्षदेखि एउटै प्रहरी घुमुवाका रूपमा कार्यरत छन् । जहाँ सरुवा भए पनि काज मिलाएर त्यहीँ बस्ने प्रवृत्ति छ ।

धेरैजसो हाकिमलाई आर्थिक संकलनका लागि इमानदारभन्दा पैसा उठाउन सक्ने प्रहरी चाहिने र उनीहरूले त्यस्तै खराब संगत भएका प्रहरीलाई रोज्ने गरेका छन् । कतिपय अवस्थामा आइजिपीले नै तराईमा घुमुवा खटाउने गरेको स्रोत बताउँछ ।

त्यस्ता प्रहरीकै कारण समग्रमा प्रहरीको इन्टेलिजेन्स बदनाम हुन पुगेको हो । घुमुवालाई सुधार गरे प्रहरीको छवी पनि सुधार हुने प्रहरी अधिकारी बताउँछन् । तर, कार्यान्वायन भने निकै चुनौतीपूर्ण छ ।

प्रतिक्रिया दिनुहोस्