Logo
Logo

गण्डकीमा माओवादीले लियो सरकारबाट समर्थन फिर्ता



पोखरा । गण्डकी प्रदेश सरकारको मुख्य साझेदार नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । केन्द्रमा सत्ता समीकरण बदलिएपछि माओवादीले गण्डकीमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

गण्डकी प्रदेश माओवादी संसदीय दलको शुक्रबार बसेको बैठकले मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । समर्थन फिर्तासँगै माओवादीका मन्त्रीले आजै राजीनामा दिने तयारी गरेका छन् ।

नेकपा एमालेका खगराज अधिकारी मुख्यमन्त्री रहेको गण्डकी प्रदेश सरकारमा माओवादी दुई मन्त्रीसहित सहभागी छन् । माओवादीबाट भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीमा हरिबहादुर चुमान र वनमन्त्रीमा रेशमबहादुर जुग्जाली रहेका छन् ।

माओवादीले समर्थन फिर्ता लिएसँगै अधिकारी सरकार समस्यामा परेको छ । अधिकारीले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

यो प्रदेशमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थनपछि कसको नेतृत्वमा सरकार गठन गर्ने भन्नेबारे भने सहमति जुटिसकेको छैन ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा सबैभन्दा ठूलो दल कांग्रेसको २७ सिट छ । २२ सिटसहित एमाले दोस्रो, ८ सिटसहित माओवादी तेस्रो र २ सिटसहित राप्रपा चौथो ठूलो दलका रुपमा छन् ।

प्रतिक्रिया दिनुहोस्