Logo
Logo

प्रदेश १ को पुनः नामांकन संयुक्त संघर्ष समितिद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा



विराटनगर । प्रदेश १ को पुनः नामांकन गर्न माग गर्नेक्रममा प्रहरी धरपकडबाट आफ्ना नेता पदम लिम्बू ‘लाजेहाङ’को मृत्यु भएसँगै पहिचानवादी संघर्ष समितिले थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । लाजेहाङको उपचारकै क्रममा बिहीबार राति मृत्यु भएको थियो । त्यससँगै शुक्रबार संयुक्त संघर्ष समितिको बसेको आपतकालीन बैठकले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

उनीहरुले प्रदेशको नाम ‘कोशी’ खारेजी गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामांकनको माग सम्बोधन नगरुञ्जेल र आन्दोलनकारी योद्धा लाजेहाङलाई राज्यले सहिद घोषणा गरी क्षतिपूर्ति नदिएसम्म मृतकको शव जिम्मा नलिने अडान राखेका छन् ।

यस्तै, बैठकले मृतक परिवारलाई तत्कालका लागि प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिको तर्फबाट शुक्रबार बेलुकीसम्ममा नगद एक लाख ५० हजार राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

साथै, बैठकले संयुक्त राष्ट्रसंघ, मानवअधिकार आयोग, प्रधानमन्त्री, राजनीतिक दललाई ध्यानाकर्षण पत्र दिने समेत निर्णय गरेको छ । बैठकले लाजेहाङको तस्बिर आजदेखि सहिदको रुपमा हरेक कार्यक्रममा सम्मानार्थ बोक्ने निर्णय पनि गरेको छ ।

बैठकले आज शुक्रबार बेलुका ५ बजेदेखि ६ बजेसम्म प्रदेशका सबै जिल्ला र काठमाडौंमा विरोधसभा गर्ने, चैत ११ गते दिउँसो १ बजेदेखि २ बजेसम्म प्रदेशको १४ वटै जिल्लामा चक्काजाम गर्ने निर्णय गरेको संयुक्त संघर्ष समिति बैठकमा सहभागी एक सदस्यले बताए ।

प्रतिक्रिया दिनुहोस्