बागलुङ । चैते दसैँ मेलाका अवसरमा बागलुङमा आयोजित सर्वाधिक राशिको ‘कालिका भलिबल कप’ को उपाधि नेपाल पुलिस क्लबले जितेको छ । पुलिस क्लबले घुम्टे गलकोटलाई ३-२ सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

शुक्रबार बालिका बाल उद्यानमा भएको खेलमा पुलिस क्लबले दोस्रो २५-१८, चौथो २५-२३ र पाँचौँ सेट १५-९ ले जित्यो । पहिलो र तेस्रो सेट घुम्टे गलकोटले जितेको थियो । प्रतियोगितामा विजेता बनेको नेपाल पुलिस क्लबले रु तीन लाख र उप–घुम्टे गलकोटले रु एक लाख पचास हजार हात पारेका छन् ।
यही चैत १३ गतेदेखि सञ्चालन भएको खेल शुक्रबार दिउँसो सकिएको हो । भलिबल प्रतियोगितामा देशभरबाट १३ समूहको सहभागिता रहेको चैते दसैँ मेला भलिबल खेलका व्यवस्थापक किशोर छन्त्यालले जानकारी दिनुभयो । चैते दसैँका अवसरमा हरेक वर्ष यहाँ ठूलो मेला लाग्ने गर्छ ।











