Logo
Logo

प्रधानमन्त्री कपको पुरस्कार रकम राखेपसँग माग्ने एन्फाको निर्णय



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको पुरस्कार रकम राष्ट्रिय खेलकुद परिषद (राखेप)सँग माग्ने निर्णय गरेको छ ।

शनिबार बसेको एन्फा कार्य समितिको बैठकले प्रधानमन्त्री कपको पुरस्कार रकम ९ हजार ५०० अमेरिकी डलर र नेपाली टिमको होटल खर्च राखेपसँग माग गर्ने निर्णय गरेको हो ।

काठमाडौंमा शुक्रबार सम्पन्न प्रधानमन्त्री कपको उपाधि नेपालले जितेको थियो भने लाओस उपविजेता बनेको थियो । एन्फाले उपाधि विजेतालाई ५ हजार अमेरिकी डलर, उपविजेतलाई ३ हजार डलर तथा म्यान अफ द म्याच र प्लेयर अफ म्याचलाई समेत नगद पुरस्कार दिने घोषणा गरेको थियो ।

साथै, बैठकले उपाधि विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गर्नका लागि राखेपमार्फत सरकारलाई आग्रह गर्ने पनि निर्णय गरेको छ । बैठकले ए, बी र सी डिभिजन लिगका लागि अपुग रकम समेत राखेपसँग माग्ने निर्णय गरेको प्रवक्ता सुरेश शाहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

शहीद स्मारक बी डिभिजन लिगको तयारीका लागि क्लबलाई साढे १४ लाख रुपैयाँ दिने बैठकले निर्णय गरेको छ । लिगको कुल बजेट ३ करोड ९३ लाख १ हजार ८१३ रुपैयाँ बैठकले पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्