बारा । नेकपा एमालेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता समाजवादी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव बारामा जनता सोझो देखेर चुनाव लड्न आएका आरोप लगाएका छन् ।
बुधबार बाराको गढीमाईमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मधेसको मसिहा भन्नेहरूले मधेसी जनता ठग्नेबाहेक केही नगरेको बताउँदै भने, ‘बारामा जनता सिधा देखेपछि उपेन्द्र यादव मोरङ, सुनसरी, सप्तरी हुँदै बारा आएका हुन् ।’ सोक्रममा एमालेबाहेक अन्य दलले विकास गर्न नसक्ने समेत उनले दावी गरे ।

अध्यक्ष ओलीले भने, ‘मधेसमा हुलाकी राजमार्ग कसले बनायो ? मधेसका मसिहा त धेरै देखिए तर मधेसका कुनै पनि मसिहाले मधेसका जनता ठग्नेबाहेक केही गरेनन् । बनाउन त एमालेले बनायो । एमालेको सरकार भएर हुलाकी राजमार्ग बनेको हो । मधेसीको पहाडीको सरकारले होइन ।’
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘उपेन्द्र यादवले जितेर के गर्नुहुन्छ ? मन्त्री खानुहोला । उहाँलाई कांग्रेस र माओवादीले छाडेका बेला एमालेले साथमा लिएर हिँड्यो । माथि पुगिसकेपछि उहाँको भूमिका त बेग्लाबेग्लै हुँदै गयो । दिउँसो रुद्राक्षको माला जपेको छ, बेलुका बेलुका भुत्ल्याउनु पनि परेन जिउँदै खाने खालको भूमिका देखियो ।’ उनले सबल र बलियो राष्ट्रिय शक्ति निर्माणमा एमालेलाई साथ दिन बारा २ का मतदातालाई आग्रह गरे ।











