काठमाडौं । सन् २०२४ मा पेरिसमा हुने ओलम्पिकका लागि महिला फुटबल छनोटमा नेपाल भियतनामसँग पराजित भएको छ । बुधबार काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा भियतनाम ५–१ ले विजयी भएको छ ।

नेपालक लागि सावित्र भण्डारीले सान्त्वना गोल फकाइन् । ४ गोलले पछि परेको नेपालका लागि ८०औं मिनेटमा सरु लिम्बूको पासमा सावित्रा भण्डारीले किपरलाई विट गर्दै गोल गरेकी हुन् । यसअघि दशरथ रंगशालामा खेलको ११औं मिनेटमा नै भियतनामका लागि नुयेन थि टुएट जुङको पासमा हाई येनले गोल गर्दै अग्रता दिलाएकी थिइन् ।
यस्तै, खेलको ३५औं मिनेटमा भियतनामको खेलाडीले पोष्टको दिशामा हानेको बल डी बक्सभित्र नेपालकी डिफेन्डर हिरा भुजेलको हातमा लाग्दा भियतनामले पेनाल्टी पाएपछि भियतनामकी कप्तान हियुन नुलेले गोल गरिन् ।
खेलको ३८औं मिनेटमा नुयन थि विच थुयको बल अमृता जैशीको खुट्टामा लाग्दा आत्मघाती गोल भोग्दै पहिलो हाफमा नेपाल ३–० ले पछि परेको थियो ।
दोस्रो हाफपछि आक्रमक देखिएको भियतनामले खेलको ४८औं मिनेटमा होङ थि लोनको पासमा कप्तान हियुन नुले दोस्रो बारमा गरेको प्रहार गोल भएको थियो । भियतनामको लागि लागि पाँचौं गोल नुयेन थि थान नाले नियमित समयको अन्तिम मिनेटमा गरिन् र भियतनाम ५–१ ले विजयी भएको हो ।











