Logo
Logo

मुर्दाघरसँगैको बासको अनुभव



एक दिन उज्यालो अनुहार लिएर डाक्टर अस्पतालबाट फर्किए । मैले सोध्नै नपाइ उनैले भने– ‘हस्पिटलमा क्वार्टर पाइने भयो !’ खुसी लाग्नु स्वाभाविकै थियो । एउटै सानो कोठामा कोचिएर बसेका थियौँ ।

लामो समयको पर्खाइपछि पहिलोपटक साँच्चैको परिवारका रूपमा बस्न पाएकाले त्यो पनि ठीकै थियो । तर लामो समयसम्म त्यसरी चल्नेवाला थिएन पनि । हामी क्वार्टरमा सर्ने भयौँ ।

त्यतिबेला पाटन अस्पताल अझै नयाँ नै थियो । ‘शान्त–भवन अस्पताल’बाट ‘पाटन अस्पताल’ बनेको धेरै भएको थिएन । अस्पतालको नयाँ भवन त भव्य थियो । तर डाक्टर, नर्स बस्ने क्वार्टर भने बनिसकेको थिएन ।

क्वार्टरको आवश्यकता भएका केही डाक्टरहरुको निम्ति अस्पतालको ढोकै छेउको धर्मशालामा अस्थायी बन्दोबस्त गरिएको रहेछ । टाढाका बिरामीका कुरुवाका निम्ति भनेर बनाइएको त्यो धर्मशाला अझै सञ्चालनमा आइसकेको थिएन ।

बीचमा एउटा चोक थियो । चारैतिर हल्का ढंगले उठाइएको इँटाले बनेका कोठाहरु थिए । धारा र शौचालय सार्वजनिक थिए । काठमाडौँ बाहिर घर हुने, बस्ने ठाउँको संकट भएका डाक्टरहरु मात्र त्यहाँ बसे ।

हाम्रो घर, माइती दुवै काठमाडौँमै भए पनि सहज थिएन । सरोजको घरसँगको सम्बन्ध सुध्रिँदै थियो र आवतजावत पनि हुन थालेको थियो । तर पनि भर्खरै बन्दै गरेको हाम्रो सानो परिवार बस्नका निम्ति समय परिस्थिति उपयुक्त भइसकेको थिएन ।

केही दिनपछि नै थाहा भयो कोठाको भित्ताको अर्कोपट्टि त अस्पतालको मुर्दाघर पो रहेछ । त्यहाँ मुर्दा ल्याएको, मरेका मान्छेका आफन्त रोइरहेको, मृतक र मृत्युका बारे कुरा भइरहेको समेत आफ्नो कोठाबाटै सुनिन्थ्यो । मुर्दाघरसँगैको बासको पनि यसरी अनुभव गरियो ।

मैले त त्यो घरको छायाँसम्म पनि अझै देखेकी थिइनँ । त्यसैले पनि हामी भुरुङखेलको त्यो डेरा छोडेर ‘क्वार्टर’मा अर्थात् त्यही धर्मशालामा बसाइँ सर्यौ ।

त्यो नयाँ ठाउँमा पुग्दा मैले मज्जाले लामो सास फेरेँ । त्यो केवल धर्मशाला थियो । अस्थायी बसोबासो थियो । तर पनि मेरोनिम्ति ठूलो फड्को थियो जीवनमा ।

दुईवटा कोठा पायौँ– एउटा बेडरूम बनाउन, अर्को भान्साकोठा बनाउन । बीचमा चोक भएकोले बच्चालाई खेल्ने, दगुर्ने ठाउँ पनि भयो । पानी आइरहन्थ्यो । कसैको खटनपटन र चियोचर्चो नहुने भएकोले पनि म खुसी थिएँ ।

केही समय त साँच्चै रमाएँ । तर केही दिनपछि नै थाहा भयो कोठाको भित्ताको अर्कोपट्टि त अस्पतालको मुर्दाघर पो रहेछ । त्यहाँ मुर्दा ल्याएको, मरेका मान्छेका आफन्त रोइरहेको, मृतक र मृत्युका बारे कुरा भइरहेको समेत आफ्नो कोठाबाटै सुनिन्थ्यो । मुर्दाघरसँगैको बासको पनि यसरी अनुभव गरियो । जीवनको उल्टो– मृत्युलाई यसरी पनि नजिकबाट हेरियो ।

नौलो ठाउँमा नौलै किसिमले दिन बित्दै थिए । एक दिन राति मलाई अचानक बेस्सरी पेट दुख्यो । डाक्टर साथै भएकाले त्यही राति नै इमर्जेन्सी नै जाने आवश्यकता भएन । विस्तारै दुखाइ सहनसक्ने भयो ।

बिहान गाइनेकोलोजी विभागमा गएर देखाइयो । त्यो बेला डा. कुण्डु गाइनेकोलोजीमा सिनियर रेजिडेन्ट थिइन् । उनले भनेर थाहा भयो– राति त्यसरी सहिनसक्नु गरी दुखाएको एउटा सिस्ट बटारिएर रहेछ ।

कसो–कसो आफैँ ठाउँमा आएछ र इमर्जेन्सी अपरेशन गर्नु परेनछ । तर अपरेशन गरेर त्यसलाई ननिकाले फेरि कुनै पनि बेला त्यसैगरी बटारिने र अप्ठ्यारो पार्ने भयो ।

आफ्नै अपरेशन गर्नुपर्ने कुरा पहिलोपटक सुन्दै थिएँ । समस्या पनि कति किसिमका ? एउटा समस्याबाट बल्लबल्ल अलिकति पार पाइयो भन्यो, तुरुन्तै अर्को आइलाग्ने ! योभन्दा अघिका दुःख र समस्या त आफ्नै रहरले भोगिएको थियो । तर यो भने आफैले खोजेको दुःख थिएन । मनोबलले मात्र समाधान हुने समस्या थिएन यो । अपरेशनको निम्ति तयार हुन थालेँ ।

पार्टीले फेरि कामको जिम्मा दिइसकेको थियो । खुल्ला जीवनशैली थियो, तर पार्टीका काम त गोप्य नै हुने भए । तर जीवनका विभिन्न पक्षलाई पहिलेभन्दा नौलो ढंगले हेर्न थालिएको थियो । विभिन्न किसिमका बुद्धिजीवीसँगको भेटघाट कुराकानीले सोचाइ फराकिलो हुन थालेको थियो । अनि सपना र यथार्थबीचको दूरी पनि विस्तारै देखिन थालेको थियो ।

आफू काम गरिरहेको स्कुलमा झन् झन् अप्ठ्यारो हुन थाल्यो । बाहिरबाट फर्केर काठमाडौँ आउनेबित्तिकै जसको आग्रहमा म स्कुल जान थालेकी थिएँ, अब उनको व्यवहारमा ठूलो परिवर्तन आइसकेको थियो । ‘छोडेर गइदिए हुने’ भन्ने भाव बेला–बेलामा देखापथ्र्याे । आफैँ बलियो नभइ हुने भएन ।

‘बुर्जुवा शिक्षा बहिष्कार’को नाममा दश वर्षअघि छोडेको पढाइलाई निरन्तरता दिने निर्णय गरेँ । दस वर्ष भनेको छोटो समय होइन । त्यो १० वर्षभित्र शिक्षा प्रणालीमा ठूलै परिवर्तन आइसकेको थियो । तर पनि दिनुपर्ने जाँच त्यही वर्ष दिएर पास गरेँ र पढाइलाई निरन्तरता दिने तयारी गर्न थालेँ । यसले जीवनमा नयाँ ऊर्जा थप्यो ।

धर्मशालामा केही महिना बसेपछि हामी नयाँ बन्दै गरेको क्वार्टरमा सर्यौँ । मुर्दाघरसँग जोडिएको धर्मशालाभन्दा त कति हो कति गुना सुविधाजनक भयो हाम्रो बसाइ । तर हामीसँगै बस्ने अन्य डाक्टर र सिनियर नर्सहरुको तुलनामा त हाम्रो आर्थिक अवस्था अझै निकै कमजोर थियो । त्यसैले जति अप्ठेरो भए पनि स्कुलको काम छोड्न सकेकी थिइनँ ।

घरमा बच्चा हेर्न कुनै सहयोगी पनि राख्नसक्ने स्थिति थिएन । आफैँ सानी बच्ची बोकेर कहिले कता कहिले कता पुग्नुपथ्र्यो । दिनदिनै बच्चा बोकेर लगनखेलदेखि भुरुङखेलसम्म पुग्न सजिलो थिएन । कहिले–कहिले त दिदीको घरमा लगेर छोड्ने पनि गर्थेँ ।

बच्चाहरुलाई पढाउँदा दिनभरि कराउनुपथ्र्यो । बेलुकी बच्चालाई लिएर घर फर्किँदा डाक्टर अझै पनि व्यस्त नै हुन्थे– रातभर अस्पतालमै हराउँथे । आफैँले सबै कुरा भ्याउनुपर्ने हुन्थ्यो । म एउटी स्वप्नद्रष्टा गतिशील युवतीबाट थाहै नपाई औसत गृहिणीमा परिणत भइसकेकी थिएँ ।

जीवनमा आदर्श, यथार्थ, चाहना, आवश्यकता आदिका बीच सन्तुलन बनाउन अझै सिकिसकेका थिएनौं । गरिरहेका काम र अवस्थाबीच तालमेल अझै मिलेको थिएन । स्कूलको तनाव, पार्टीको काम, बच्चा बोकेर यताउता गरिरहनुको धपेडी, बढ्दो आवश्यकता र आर्थिक समस्या, अनि त्यसमाथि थप पार्टीले दिएका जिम्मेवारी ।

म दुब्लाउँदै गएँ । स्कूलको काम सकेर बसबाट पाटन फर्किरहेको बेला आँखा तिरिमिरी हुन्थ्यो । रिंगटा लाग्थ्यो । सरोज ‘स्कुल छोडिदेऊ’ भन्थे । तर मलाई स्कुल छोड्ने आँट आउँदैन थियो ।

यी कठिनाइहरुले हाम्रो दाम्पत्य सम्बन्धमा रहेको न्यानोपनलाई पनि प्रभावित पार्न थाले । हुनुपर्ने आपसी सहयोग र समझदारी नभएजस्तो लाग्न थाल्यो । उनी सधैँ अस्पतालमा व्यस्त– उनको संसार अर्कै थियो । उनको सपना पनि फरक हुने नै भयो ।

मेरो सपना, मेरो भोगाइ छिटो–छिटो परिवर्तन भइरहेको थियो । लु स्युनले एउटा कथामा देखाए झैँ वस्तुगत यथार्थलाई बेवास्ता गरेर प्रेम र दाम्पत्य जीवन न्यानो पारिरहन सम्भव नहुने रहेछ… ।

प्रतिक्रिया दिनुहोस्