काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।
बिहीबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा हिमालयन र मछिन्द्रले १–१ गोलको बराबरी खेलेका छन् । खेलको इन्जुरी समयमा विमल घर्ति मगरले गोल गरेपछि मछिन्द्र हारबाट जोगिएको हो । त्यसअघि सत्यम शर्माले गोल गर्दै हिमालयनलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ८६ औं मिनेटमा सत्यमले पेनाल्टीमार्फत गोल गरेका हुन् । मछिन्द्रका डिफेन्डर छिरिङ गुरुङले ह्यान्डबल गरेपछि हिमालयनले पेनाल्टीको अवसर पाएको थियो । जसमा सत्यमले सहजै गोल गरे । यस बराबरीसँगै हिमालयनले ६ खेलमा ६ अंक जोडेको छ । मछिन्द्रले पनि ६ खेलमा ६ अंक जोडेको छ ।
त्यस्तै च्यासल मैदानमा बिहीबार भएको खेलमा थ्री स्टार क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्यो । थ्री स्टारले आर्मीलाई १–० गोल अन्तरले पराजित गरेको हो । थ्री स्टारको जितमा अजयी मार्टिन्सले खेलको १७औं मिनेटमा निर्णायक गोल गरे ।थ्री स्टारले ६ खेलमा १० अंक जोडेको छ । आर्मीले ६ खेलमा ८ अंक जोडेको छ ।











