काठमाडौं । नेपाल पेरिस ओलम्पिकअन्तर्गत एसियाली छनोटको पहिलो चरणबाटै बाहिरिएको छ । घरेलु मैदानमा भएको दुई खेलमा लगातार हार बेहोर्दै नेपाल पहिलो चरणबाट बाहिँरिदा भियतनाम दोस्रो चरणमा प्रवेश गरेको छ ।

पहिलो खेलमा ५–१ को अन्तरले हार बेहोरेको नेपालले दोस्रो खेलमा २–० ले पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा छैटौं मिनेटमा भियतनामकी पाम हाइ ऐनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । त्यसको एक मिनेटमै उनले नै दोस्रो गोल गर्दै टोलीको दोब्बर अग्रता दिलाइन् ।
नेपालले खेलको दोस्रो हाफमा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको स्थानमा अञ्जना रानामगरलाई मौका दिइएको थियो । खेलको ३९औं मिनेटमा सावित्रा भण्डारीको प्रहार भियतनामकी गोलरक्षकले बचाएकी थिइन् ।
यस्तै, ६६औं मिनेटमा दीपा शाहीको प्रहार फस्ट बारमा लाग्दै बाहिँरिदा नेपालले गोल गर्ने सुन्दर मौका गुमाएको थियो । त्यसपछिको खेलमा थप गोल हुन नसक्दा नेपाल समुह चरणबाटै बाहिरिएको हो ।
ओलम्पिक छनोटमा नेपाल समुह ‘सी’मा रहेको थियो । नेपाल रहेको समुहमा प्यालेन्स्टाइन र अफगानिस्तान रहेपनि दुई टोलीले नाम फिर्ता लिएपछि नेपाल र भियतनाम मात्र खेलेका हुन् ।











