Logo
Logo

लोकतन्त्रको आडमा प्रहरीतन्त्र हावी : रुपज्योतिमाथि राज्यको ‘जंगली’ व्यवहार ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ कात्तिक । केही समययता उच्चपदस्थ व्यक्तिहरु धमाधम पक्राउ परिरहेका छन् । यसले सरकार र प्रहरीको एकातर्फ प्रशंसा भइरहेको छ भने अर्काेतर्फ कतिपय घटनामा प्रहरीले काम देखाउने नाममा अन्याय गरेको भन्दै आलोचनासमेत हुन थालेको छ ।

रुपज्योतीले ४-५ करोड रुपैयाँ खर्च गरेर बुढानीलकण्ठमा विपश्यना केन्द्र चलाएका छन् । जहाँ निशुल्क विपश्यना ध्यान गर्न सकिन्छ । जमलमै उनको करोडौंको सम्पत्ति छ । ठूला व्यापारमा उनी आबद्ध छन् । त्यस्तो व्यक्तिले पैसा लिएर जग्गा र घर नबेच्ने गरी ठगी गर्ला भनेर कसैले विश्वास गर्न सक्ने अवस्था छैन । सोहीकारण उद्योग वाणिज्य महासंघ लगायतले उनको पक्राउको विरोध गरेका छन् ।

पछिल्लो पटक पक्राउ पर्ने उच्चपदस्थ व्यक्तिमा उद्यमी रुपज्योती परेका छन् । एक समय अर्थ सहायकमन्त्री समेत भएका ज्योतीलाई हाउजीङको नाममा ठगी गरेको अभियोग छ । करिब एक अर्ब सम्पत्ति रहेका ज्योतीले करिब एक करोड रुपैयाँ ठगी गरेको विश्वास गर्न गाह्रो रहेको भन्दै व्यवसायीहरुले आश्यर्च व्यक्त गरेका छन् ।

बिहीबार पक्राउ परेका ज्योतीलाई आइतबार प्रहरीले दोस्रोपटक अदालतमा उपस्थित गराएको थियो । जहाँ उनले आफ्नो बहस आफैं गरे । इजलासमा न्यायाधीशसँग आफैँ सवालजवाफ गरेका थिए । उनले आफूलाई अपहरण शैलीमा पक्राउ गरिएको भन्दै पक्राउ गर्नुका आधार माग गरे । झुठा मुद्दा लगाएर परिवारको प्रतिष्ठा गिराउने काम भएको भन्दै उनले इजलासमै आपत्ति जनाए । आफुसँग त्यसवापत एक समूहले ५ करोडको बार्गेनिङ गरेको र दिन नमान्दा प्रहरी प्रयोग प्रयोग गरिएको उनको गुनासो छ ।

‘अपहरण शैलीमा एक्कासि पक्राउ गरियो, मेरो परिवारमाथि साइनो सम्बन्ध नै नभएको मुद्दा लगाइएको छ,’ उनले भने, ‘म भागेर कहीँ जान्नँ । व्यवसाय गर्न स्विट्जरल्यान्डबाट आएको हुँ । अमेरिकामा रहेकी छोरी (सुरुचि)लाई पनि यतै रहने गरी बोलाएपछि उनी नेपाल आएकी हुन् ।’

काठमाडौंस्थित बाँसबारीमा रहेको ल्यान्डमार्क डेभलपर्स प्रालिका सञ्चालकका रूपमा उनीहरूले ठगी गरेको प्रहरीले दाबी गरेको छ । तर प्रारम्भिक अनुसन्धान नै नगरी प्रहरीले पक्राउ गरेर मुद्दा दायर गर्न हतार गरेपछि विवाद भएको हो । सो कम्पनीले जग्गा खरिद गरी घर बनाउन सीई कन्स्ट्रक्सनसँग साझेदारी गरेको थियो । कन्स्ट्रक्सनले कित्ता नम्बर २३८ को २२२.५३ वर्गमिटर जग्गामा भवन निर्माणसमेत गरेको थियो । त्यसमध्ये एक घर बिक्रीका लागि बिगेन्द्रकृष्ण मल्लसँग २०७१ सालमा त्यससम्बन्धी सम्झौता भएको थियो, पछि दुई पक्षबीच विवाद भयो । सो कम्पनीले मल्ललाई सो घर जग्गा दिन मानेन । ब्याजसहित पैसा नै फिर्ता गर्र्ने प्रस्ताव ग¥यो । तर, उनी राजी भएनन् । अर्काे ठाउँको घर दिने भन्दै सीईले प्रस्ताव राख्यो । त्यो पनि उनले मानेनन् ् । एक करोड ३६ लाख बुझाएकोमा करिब पाँच करोड चाहिने भन्दै बार्गेनिङ गर्न थाले । दुई पक्षबीच कुरा मिलेन ।

पछि, ल्याण्डमार्कले उक्त प्लट २०७४ कात्तिकमा क्वालिटी डेभलपर्सलाई विक्री गरिदियो । सीई कन्स्ट्रक्सनका महाप्रबन्धक शम्भुप्रसाद फुँयालले २०७४ चैत २३ मा बुकिङकर्ता मल्ललाई पत्र पठाउँदै उनलाई रकम फिर्ता लिन पटक–पटक भनिएपनि मल्लले रकम फिर्ता नलिएको र सो रकम मागेको दिन फिर्ता दिने गरी कम्पनीमा रहेको उल्लेख गरेका छन् । यस्तो केस कसरी ठगी मुद्दा हुन सक्छ ?

यो बिशुद्ध लेनदेनसम्बन्धी मुद्दा थियो । तर, मल्लले गृहमन्त्रीका छोरामार्फत् प्रहरीमा दबाब दिएर उजुरी दर्ता गराए । ज्योती त्यसविरुद्ध सर्वाेच्च अदालतमा गए । सुरुमा अदालतले ज्योतीलाई पक्राउ नगर्न आदेश दिएको थियो । गत १७ कात्तिकमा उनको रिट सर्वाेच्च अदालतले खारेज गरेलगत्तै प्रहरी उनको खोजीमा लागेको थियो । विदेशबाट फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै गत बिहीबार उनलाई पक्राउ ग¥यो ।

आफ्नो निवेदन सर्वाेच्चले खारेज गरिदिएको उनले थाहा पाएका थिए । अब फौजदारी मुद्दा लाग्न सक्ने पनि उनलाई थाहा थियो । त्यो अवस्थामा उनी विदेशमै लुकेर बस्न सक्थे । तर, तीन दिनपछि नै नेपाल आए । विपश्यना ध्यान गर्ने र झुट नबोल्ने रुपज्योतीलाई जघन्य मुद्दाका अपराधी जसरी प्रहरीले विमानस्थलबाटै पक्राउ ग¥यो ? प्रहरीको यस्तो क्रियाकलापको व्यवसायीहरुले विरोध गरेका छन् ।

यो लेनदेनको मुद्दा थियो । प्रहरीले फोन गरेर बोलाएको भएपनि ज्योती जाने थिए । तर, प्रहरीले त्यो उपाय अपनाएन । किनकि पूर्व मन्त्रीलाई पक्राउ गरियो भनेर प्रचार गर्न प्रहरीलाई हतारो थियो । साथै केही स्वार्थी समूह पनि यसमा लागेका थिए । उनीहरुबाट समेत प्रभावित भएर प्रहरीले लेनदेन विवादमा एक जना प्रतिष्ठित उद्यमी, व्यवसायीलाई अपराधी बनाएको छ ।

उनलाई मात्र नभई उनकी छोरीलाई समेत पक्राउ गर्नुले प्रहरीको नियत शंकास्पद देखिन्छ । सुरुचीलाई त्यसबारे कुनै जानकारी नै थिएन । हालसालै मात्र उनी अमेरिकाबाट आएकी थिइन् । त्यो कम्पनीमा ज्योतीका परिवारसहित ११ जनाको शेयर छ । सबैलाई विपक्षी बनाएर मुद्दा दायर गरिएको छ । जबकि परिवारका धेरै सदस्यलाई त्यो केसबारे अहिले मात्र थाहा भएको अवस्था छ । प्रहरीले जारी गरेको पक्राउ पूर्जीमा ज्योति र उनकी छोरी सुरुचीलाई ल्याण्डमार्क डेभलपर्सको संचालक भनिएको छ । तर ल्याण्डमार्क डेभलपर्सको संचालकमा ज्योति र सुरुचीको नाम छैन । ल्याण्डमार्क डेभलपर्सका संचालकहरुमा मिला सायमी, प्रकाशभक्त माथेमा र किरण महर्जनको नाम छ । ज्योति परिवारबाट कोही संचालक नभएको जानकारी हुँदाहुँदै पनि जाहेरी लिनुले पनि प्रहरीको नियोजित योजना थियो भन्ने ठाउँ दिएको छ । यसबारेमा सरकारले स्पष्ट पार्नुपर्ने देखिन्छ ।

बिगेन्द्र मल्लको पैसा शम्भु फुँयालले ल्याण्डमार्कको नाममा बुझेका थिए । उनले बुझ्ने क्रममा आफूलाई उक्त रकम लिने अधिकार थिएन, तर विश्वासमा परी बुझेको ब्यहोरा जनाई उच्च अदालत पाटनमा ०७५–डब्लुओ–०३६५ नम्बरको रिट दर्ता गरेका थिए । त्यो मुद्दामा महानगरीय प्रहरी परिसर विपक्षी भई जवाफ समेत लगाएको छ । रकम लिने फुयााल हुन् भन्ने प्रमाणित हुँदाहुँदै उनीबिरुद्धको जाहेरीमा कारबाही नगरी ज्योति परिवारलाई बदनाम गर्ने प्रहरी वा सरकारले राखेको देखिन्छ ।

सुरुमा यो मुद्दा देवानी भनेर जिल्ला अदालतले फैसला समेत गरिसकेको थियो । तर, पावरकै भरमा काठमाडौं परिसरका तत्कालीन एसएसपी बसन्त लामाले मुद्दा दर्ता गरेका थिए । अहिले पनि तत्काल पक्राउ गर्न गृहमन्त्री छोराले दबाब दिएको स्रोत बताउँछ । कानुनी राज्य र सभ्य समाजमा प्रहरीले यस्तो व्यवहार गर्दैन । लोकतन्त्र भनेकै नागरिकको सर्वोच्चता हो । यस घटनाले प्रधानमन्त्री केपी शर्मा ओलीको समेत व्यापक आलोचना भएको छ । एक जना प्रतिष्ठित उद्यमीमाथि राज्यले गरेको व्यवहारले काठमाडौँका बौद्धिक वर्ग लज्जित भएको छ । पञ्चायतकालमा पनि उद्योगी, व्यापारीहरुमाथि यस्तो व्यवहार गरिँदैन थियो । यस घटनामा गृहमन्त्रीदेखि प्रहरीका कुन–कुन जिम्मेवार व्यक्तिहरुको संलग्नता छ, त्यसमाथि प्रधानमन्त्री ओलीले ध्यान नपु¥याउने हो भने, दुईतिहाइको दुरुपयोग गर्दै देशमा लोकतन्त्र होइन, प्रहरीतन्त्र हावी हुने कुरामा दुईमत छैन ।

रुपज्योतीले ४-५ करोड रुपैयाँ खर्च गरेर बुढानीलकण्ठमा विपश्यना केन्द्र चलाएका छन् । जहाँ निशुल्क विपश्यना ध्यान गर्न सकिन्छ । जमलमै उनको करोडौंको सम्पत्ति छ । ठूला व्यापारमा उनी आबद्ध छन् । त्यस्तो व्यक्तिले पैसा लिएर जग्गा र घर नबेच्ने गरी ठगी गर्ला भनेर कसैले विश्वास गर्न सक्ने अवस्था छैन । सोहीकारण उद्योग वाणिज्य महासंघ लगायतले उनको पक्राउको विरोध गरेका छन् ।

आलोचनापछि प्रहरी केही हच्किएको छ । तर, ज्योतीका परिवारका अन्य सदस्यविरुद्ध समेत पक्राउ पूर्जी जारी भइसकेको छ । घटनाको वास्तविकता नबुझी जाहेरीकै आधारमा सबैलाई अपराधीजस्तो व्यवहार गर्दा प्रहरीले विश्वास गुमाउँदै गएको छ । पछिल्लो अपराध संहिताले थुनामा नराखेर समेत अनुसन्धान गर्न सक्ने अधिकार प्रहरीलाई दिएको छ । तर, प्रहरीले त्यो शैली अपनाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्