झापा । नेकपा एमालेका केन्द्रीय सल्लाहकार नरेश खरेलले पार्टी परित्याग गरेका छन् । पार्टीभित्र स्वेच्छाचारिता बढेको भन्दै उनले एमाले परित्याग गरेका घोषणा गरेका हुन् ।

सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गर्दै खरेलसहित १० जनाले एमाले परित्यागको घोषणा गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्रका रुपमा चिनिएका खरेल यसअघि राष्ट्रियसभा सदस्य थिए । पार्टीको पोलिटव्यूरो सदस्यको जिम्मेवारीसमेत सम्मालिसकेका खरेलले पार्टी मनोमानी ढंगले सञ्चालन हुन थालेकाले आफू पार्टी परित्याग गर्न बाध्य भएको बताए ।
उनले भने, ‘पार्टीभित्र देखिएको गलत पद्धति, संस्कृति, कार्यशैली र नीतिका विरुद्ध पार्टीमा रहँदा अपमान र तिरस्कार सहनु परेको छ । पार्टीले इमान्दार कार्यकर्ताको आशा विपरित पार्टी नेतृत्वमा देखापरेको गुटवन्दी दम्भ र अहँकार तथा अन्तरद्वन्द्वले संसद विघटन हुँदै पार्टी तीन टुक्रामा विभाजित भयो ।’
नेता खरेलसहित एमालेको विभिन्न जिम्मेवारीमा रहेका हिराप्रसाद पोखरेल, खिना राना मगर, कल्पना पोखरेल, गेहराम भट्टराई, अरुण पोखरेल, महानन्द सहा, भीमप्रसाद लुईटेल, साजत आलम र आवलोदिन मियाले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
सहिद रत्नकुमार वान्तवाको स्मृति दिवसको अवसर पारेर उनीहरुले पार्टी परित्यागका हुन् । ०२७/०२८ को ऐतिहासिक झापा बिद्रोहका योद्धा, नेपालको कम्युनिष्ट आन्दोलनका अथक योद्धा, सादगी नेता, सादा जीवन उच्च विचारको धनी, खरेल २०३३ सालमा नख्खु जेल ‘ब्रेक’ गर्ने वामपन्थी नेतामा पर्छन् ।











