Logo

कालापानी विवादमा प्रधानमन्त्री ओलीले ‘स्टेटमेनसीप’ देखाउनै पर्छ- मोहनचन्द्र अधिकारी


Published On : 12 November, 2019

झापा बिद्रोह’का चर्चित नेता हुन्, मोहनचन्द्र अधिकारी । ०२८ सालमा रौतहटको गौरबाट पक्राउ परेपछि उनी निरन्तर १७ वर्ष ९ महिना कष्टकर जेलजीवन बिताउन बाध्य भए । उनीसँगै आन्दोलनमा लागेका, जेलपरेका नेता अहिले मुलुकको सर्वोच्च कार्यकारी पदमा पुगेका छन् । नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा दुईतिहाइको सरकार छ । तर, पनि हली, गोठाला, मजदुर र किसानलाई राज्यको मालिक बनाउन हिँडेका अधिकारीको सपना अधूरै छ ।

बुढ्यौलीसँगै केही वर्षअघि मुटुमा देखिएको गम्भीर समस्याका कारण शारीरिक रूपमा कमजोर बने पनि उनी राजनीतिक रूपमा उत्तिकै दृढ र स्पातिलो छन् । कम्युनिष्ट विचार, सिद्धान्त र आदर्शमा सिंगो जीवन बिताएका उनी अहिले पनि त्यो आदर्श नै पछ्याइरहेका छन् । त्यसैले भारतले नेपालको सीमा मिच्दा उनको छाती पोलेको छ । कम्युनिष्ट नेतृत्वले सरकारले सर्वहाराको हित गर्न नसकेकोमा आक्रोश बढेको छ । नेताहरूको विलासी जीवन र वैचारिक, सैद्धान्तिक स्खलन देख्दा दिक्दार बनाएको छ । त्यसैले आज पनि उनी भन्दैछन्, ‘यो गणतन्त्र बुर्जुवा गणतन्त्र हो । संशोधनवादीहरूले झुक्याए पनि एक दिन अवश्य समाजवादी गणतन्त्र आउँछ ।’ प्रस्तुत छ, नेपालका नेल्सन मण्डेला भनिने उनै अधिकारीसँग दृष्टिका लागि छविरमण अधिकारीले उनकै निवासमा गरेको विस्तृत कुराकानीको सम्पादित अंश :

मोहनचन्द्र अधिकारी

भारतसँग महाकाली सन्धी भएका बेला मुलुकमा राजनीतिक स्थिरता थिएन । सरकार आफैँ पनि कमजोर थियो । संविधान बनेपछि राजनीतिक कोर्सले स्थिरता प्राप्त गरेको छ । र, मुलुकमा दुईतिहाइ बहुमतको बलियो सरकार छ । तर, पनि हाम्रा सीमा मिचिन छाडेका छैनन् । किन होला ?

म राष्ट्रवादी मान्छे हुँ । मलाई कसैबाट कुनै लाभ लिनु छैन । त्यसैले आफ्ना कुरा खुलस्त राख्ने गरेको छु । चीनलाई घेरा हाल्न पश्चिमा र भारतले नेपाललाई अखडा बनाउने चेष्टा गरिरहेका छन् । भारतमा पनि अहिले पश्चिमाको प्रभाव रहेको सरकार छ । त्यसैले उनीहरू सबैको मिलेमतोमा नेपालमाथि निरन्तर प्रहार भइरहेको हो । त्यसैले हामी सबै एकजुट भएर राष्ट्र जोगाउनतिर लाग्नुपर्छ । हामी भूगोल र जनसंख्याका हिसावले दुई ठूला मित्र राष्ट्रहरूको बीचमा छौँ । त्यसैले हामीले हाम्रा सीमा दुवैतिरबाट सुरक्षित राख्दै भौगोलिक अखण्डता अक्षुण राख्नुपर्दछ । तर, बारम्बार यस्ता समस्या आउने गरेका छन् । उत्तर र दक्षिणका दुवै छिमेकीसँग हाम्रो विशेष सम्बन्ध पनि छ । दुवै देशका जनतासँग मित्रभाव छ । बिहेबारी चल्छ । आउजाउ हुन्छ । दक्षिणको छिमेकी भारतसँग त्यस्तो सम्बन्ध अलि बढी देखिए पनि उत्तरसँग पनि हाम्रो त्यसकारको सम्बन्ध इतिहासदेखि नै रहेको छ । नेपाली चेली भृकुटीको विवाह अंशु वर्मासँग भएको थियो । अहिले पनि तिब्बतियनहरूसँग हाम्रा उत्तरमा बसोबास गर्नेहरूको बिहेबारी हुने गरेको छ । यस्तो सुमधुर सम्बन्ध रहेका देश भएकाले हामीले सम्बन्ध अस्थिर र दुषित बनाउने गरी होइन, धैर्यतापूर्वक, मैत्रीभावपूर्ण तरिकाले समानताका आधारमा र विश्व भातृत्वका आधारमा हामीले सीमाको समस्या टुंग्याउनुपर्छ ।

चीनलाई घेरा हाल्न पश्चिमा र भारतले नेपाललाई अखडा बनाउने चेष्टा गरिरहेका छन् ।

स्पष्ट स्टेटमेनसिप देखाउँदै प्रधानमन्त्रीले यो समस्या समाधान गर्न कुटनीतिक सक्रियता बढाउनुपर्छ । मुलुकहरू भूगोलले सानो–ठूलो भए पनि सार्वभौमसत्ता समान हुन्छ ।

सल्लाहकारहरूका कतिपय गलत आचरणको निकै नै आलोचना भएपछि प्रधानमन्त्रीसमक्ष पुगेको हुन सक्छ र फेरबदल गर्न खोजिएको हुन सक्छ ।

८ जनाले महाकाली नेपालकै नदी हो, भारतको होइन भनेर महाकाली सम्झौताको विपक्षमा भोट दिएका थियौँ । तर, हामी नेपाली राष्ट्रियताको प्रवद्र्धन गर्ने राष्ट्रवादीहरू हा¥यौँ । त्यसरी देउवा, माधव, ओलीलगायतले महाकाली भारतलाई सुम्पिएका हुन् ।

सरकारले सीमा विवादका विषयमा समाधान खोज्ने पहल गरिरहेको छ, यसलाई कसरी हेर्नुहुन्छ ?

अहिले पनि सीमाका समस्या टुंग्याउन सकिएन भने कहिले टुंगिन्छ ? कम्युनिष्ट पार्टीको नेतृत्वमा दुईतिहाइको सरकार बन्ने भनेको इतिहासको एकाध हुने परिघटना हो । त्यो अहिले छ । यस्तो सरकार भएका वेला सीमा जोगाउन सकिएन, सीमाका समस्या समाधान गर्न सकिएन भने कम्युनिष्ट सरकारप्रति पनि नकारात्मक धारणा बढ्छ र यस्तो अर्को अवसर नआउन पनि सक्छ । त्यसैले स्पष्ट स्टेटमेनसिप देखाउँदै प्रधानमन्त्रीले यो समस्या समाधान गर्न कुटनीतिक सक्रियता बढाउनुपर्छ । नेपालले दुवै छिमेकीसँग सीमा वार्ताको पहल गर्नुपर्छ भन्ने मलाई लागेको छ । हाम्रै पहलमा त्यस्तो छलफलको आयोजना गरियो भने समस्या समाधानको एउटा बाटो पहिल्याउन सकिन्छ । हामी भूगोलमा सानो छौँ । तर, हामीलाई हाम्रो देश प्यारो छ । राष्ट्रिय अखण्डताप्रति हामी संवेदनशील छौँ । मुलुकहरू भूगोलले सानो–ठूलो भए पनि सार्वभौमसत्ता समान हुन्छ । त्यसैले हामी चीन र भारतजस्तै समान सार्वभौम मुलुक हौँ ।

पछिल्लो समय प्रधानमन्त्री ओलीले आफ्नो कार्यशैली सच्याउन खोजेको देखिन्छ । सीमामा भारतको हस्तक्षेपछि सबै दलको बैठक बोलाएर राष्ट्रिय एकताको सन्देश दिनुभएको छ । यस्तै, आफ्नो सचिवालयका सदस्यलाई सामूहिक राजीनामा दिन लगाएर सचिवालयबाटै सुधार गर्न खोज्नुभएको देखिन्छ । यो पछिल्लो कदमलाई यहाँले कसरी हेर्नुभएको छ ?

मलाई चैँ अहिले नै उहाँहरूले आफ्नो व्यवहारलाई सर्वहाराकृत बनाउनुहुन्छ भन्ने मलाई लाग्दैन । सर्वहारावादी व्यवहार बनाउन समय लाग्छ । अहिले हामी आफ्नो सीमा जोगाउन मात्र लाग्न सक्छौँ । यतिबेला कुनै पनि पार्टी र व्यक्तिसँगको मतभेद त्याग्नुपर्छ र देश बचाउनुपर्छ । त्यसमा प्रधानमन्त्रीले आह्वान गर्ने कुरा हो । हामी सबै नेपाली जनतालाई सरकारले गोलबद्ध गरेर लैजानुपर्छ । त्यसो गर्दै हामीले आफ्नो भूमिको रक्षा गर्नुपर्छ ।

सचिवालय फेरबदल गर्ने प्रधानमन्त्रीको निर्णयलाई चैँ कसरी हेर्नुभएको छ ?

अब हेर्नुस्, यो बुर्जुवाहरूकै खेल हो । अहिले समाजवादको आधारमा देशलाई चलाउन र देश बचाउनका निम्ति आएको परिवर्तन होइन । सल्लाहकारहरूका कतिपय गलत आचरणको निकै नै आलोचना भएपछि प्रधानमन्त्रीसमक्ष पुगेको हुन सक्छ र फेरबदल गर्न खोजिएको हुन सक्छ । तर, भ्रष्टाचार बढेको, सुशासन हराएको, कम्युनिष्ट आदर्श बिर्सिएको अवस्था हेर्दा यो परिवर्तनले मात्रै खुसी दिन सक्दैन । अहिले भएकालाई हटाएर अर्को राख्न खोजिए पनि त्यहाँ जाने त्यही बुर्जुवा प्रवृत्ति नै हो । त्यसैले म त्यति आशावादी छैन । यो बुर्जुवा सरकार नै भएकाले आशा गर्ने ठाउँ म देख्दिनँ । कम्युनिष्ट नाम बोकेर हिँड्दैमा कम्युनिष्ट हुने होइन ।

महाकाली नदी भारतलाई सुम्पने राष्ट्रघात हुँदै गर्दा यहाँ पनि जनप्रतिनिधिमूलक थलो राष्ट्रिय सभाको सांसद हुनुहुन्थ्यो । महाकाली कसरी बेचिएको थियो ?

त्यतिबेला शेरबहादुर देउवा प्रधानमन्त्री थिए । माधवकुमार नेपाल नेकपा (एमाले)को महासचिव थिए । खड्गप्रसाद ओली अहिलेजस्तो निर्णायक पोजिसनमा थिएनन् । तै पनि देउवाको आडमा बसेर खुरापात गर्थे । भोटिङअघि मैले गिरिजाबाबु (तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला)सँग महाकाली नेपालकै नदी हो, भारतको सीमा प्रवेश गरेपछि उसले जे गरे पनि गरोस्, नेपालको सीमाभित्र हस्तक्षेप हुनु हुँदैन भनेर कुरा गरेको थिए । उहाँले पनि आज भोटिङ नगरौँ भन्नुभएको थियो । म त्यसबेला संसद्को अन्तिम वक्ता थिएँ । रातिको २ बजेको थियो । मैले यस्तो राष्ट्रघाती सम्झौता नगरौँ भनेर बोलेको थिएँ । तर, हामी कमजोर अवस्थामा भयौँ । राति २ बजे भोटिङ भयो । मलगायत परी थापा, नवराज सुवेदी, नारायणमान बिजुक्षेंलगायत ८ जनाले महाकाली नेपालकै नदी हो, भारतको होइन भनेर महाकाली सम्झौताको विपक्षमा भोट दिएका थियौँ । तर, हामी नेपाली राष्ट्रियताको प्रवद्र्धन गर्ने राष्ट्रवादीहरू हा¥यौँ । त्यसरी देउवा, माधव, ओलीलगायतले महाकाली भारतलाई सुम्पिएका हुन् ।

त्यसबेला आर्थिक चलखेलको पनि चर्चा थियो ?

थियो । खास गरेर अमेरिका, ब्रिटेन र युरोपियन देशहरूको ब्लकले सीमा र हाम्रो कालीनदीलाई भारतको हो भनेर स्थापित गर्न ठूलै भूमिका खेलेको थियो । त्यसका लागि दुई अर्ब रुपैयाँ खर्च गरिएको थियो भन्ने मैले सुनेको थिएँ । महाकालीको पक्षमा मतदान गर्नेलाई त्यो ब्लक र भारतलेसमेत ठूलो धनराशी दिएको थियो भन्ने चर्चा थियो । यो सत्य थियो कि गलत, म एउटा व्यक्तिका हिसावले छानबिन गर्ने कुरा भएन । यसमा भारतले मात्रै पैसा लगानी ग¥यो होलाजस्तो लाग्दैन । अन्य राष्ट्रले पनि खर्च गरे होलान् ।

आशंका लाग्दा–लाग्दै पनि प्रधानमन्त्री ओलीको आह्वानमा भएको सर्वदलीय बैठकले त्यो लाभ दिनुपर्ने अवस्था देखाएको छ । त्यहाँ सबै दलले व्यक्त गरेका धारणा राष्ट्रियताको पक्षमा छन् । कमसेकम नेपालीहरू पनि आफ्नो सीमा रक्षाका लागि एकठाउँमा आउँछन् भन्ने त्यो बैठकले सन्देश दिएको छ ।

विश्व साम्राज्यवाद र भारतीय विस्तारवाद अझै कायम छ भन्ने कुरा पछिल्लो परिघटनाले देखाएको छ । सीमानाका कुरा आजका विवाद होइनन् । तर, समयमै समाधान नखोज्दा अहिले पनि बल्झिरहेको हो ।

विक्रम संवत् २०१८, ०१९ सालतिर म औलो उन्मुलनमा काम गर्थें । झापा गएको बेला टिष्टामा जंगे पिलरहरू नदेखेपछि परराष्ट्र मन्त्रालय र मालपोत विभागमा चिठ्ठी लेखेर पठाएँ । उल्टै मलाई हकार्ने काम भयो ।

दुईतिहाइको कम्युनिष्ट सरकारपछि राहत पाइला, विकासका काम होला, समाजवाद आउला भनेर जनताले विश्वास गरेका थिए । तर, ठीक उल्टो महंगी बढेको छ । जनतालाई महंगीको भूमरीमा पारेर त समाजवादतर्फ पुग्न सकिँदैन ।

त्यसरी महाकाली भारतलाई सुम्पिएकाहरूले कालापानी जोगाउलान् भन्ने विश्वास लाग्छ ?

त्यसरी महाकाली भारतलाई सुम्पिएका मान्छेले अब लिम्पियाधुरा, कालापानीको कुरा उठाउलान्, लड्लान् भन्ने विश्वास गर्न सकिने अवस्था त छैन । तर, पनि वर्तमानमा सुध्रिनु कि पो भन्ने शंकाको लाभ दिनुपर्छ । आशंका लाग्दा–लाग्दै पनि प्रधानमन्त्री ओलीको आह्वानमा भएको सर्वदलीय बैठकले त्यो लाभ दिनुपर्ने अवस्था देखाएको छ । त्यहाँ सबै दलले व्यक्त गरेका धारणा राष्ट्रियताको पक्षमा छन् । कमसेकम नेपालीहरू पनि आफ्नो सीमा रक्षाका लागि एकठाउँमा आउँछन् भन्ने त्यो बैठकले सन्देश दिएको छ । तर, अब त्यो अडान कायमै रहन्छ कि ढल्छ भन्ने कुरा भने महत्वपूर्ण हुन्छ ।

भारतको हस्तक्षेपको सवालमा राजनीतिक दलहरूको भूमिका कस्तो देख्नुभएको छ ?

विश्व साम्राज्यवाद र भारतीय विस्तारवाद अझै कायम छ भन्ने कुरा पछिल्लो परिघटनाले देखाएको छ । सीमानाका कुरा आजका विवाद होइनन् । तर, समयमै समाधान नखोज्दा अहिले पनि बल्झिरहेको हो । खुसीको कुरा अहिले सबै राजनीतिक दलले यसमा राष्ट्रिय एकताको प्रदर्शन गरेका छन् । यस्तो मौका फेरि–फेरि आउँदैन । यतिबेलै हामीले आफ्नो गुमेका सीमा खोज्नुपर्दछ । सन् १८१६ को सन्धी रद्द भइसकेपछि हामीले सुगौली–सन्धीको औचित्य अब छैन भन्न सक्नुपर्छ । सुगौली–सन्धीलाई हामी मान्दैनौँ भनेर जान सक्नुपर्छ ।

नेपालको भौगोलिक अखण्डताको पक्षमा सरकारको दृढता र अन्य सबै राजनीतिक दलको समर्थनले हाम्रा गुमेका सीमा फर्काउने तागत राख्छ ?

हात्तीको देखाउने र वास्तविक खाने दुई किसिमको दाँत हुन्छ । राजनीतिमा पनि त्यस्तै हुन्छ । भारतले अहिलेको सरकारलाई एकदम चोखो बनाइदिएर आइरहेको चुनावका लागि सहयोग गरेको हुन पनि सक्छ । २०७२ सालमा संविधान बनेपछि भारतले नाकाबन्दी ग¥यो भनेर राष्ट्रियताको कुरा गरियो । त्यसबेला भारतको विरोध गरियो । आलु–टमाटर खाइएन । तर, पछि विष हालेको आलु–टमाटर खान बाध्य भइयो । अहिले पनि खाइरहनुपरेको छ । त्यसकारण अहिले नै विश्वास गर्ने अवस्था भने छैन । सरकार र राजनीतिक दलले सीमाको लागि लड्ने तत्परता देखाए । त्यो भने स्वागतयोग्य छ । अहिलेसम्म हाम्रो सीमा सिल गरिएको छैन । कतिपय सीमास्तम्भ नै गायब पारिएका छन् । यहाँनेर म एउटा सन्दर्भ जोड्न चाहन्छु, विक्रम संवत् २०१८, ०१९ सालतिर म औलो उन्मुलनमा काम गर्थें । झापा गएको बेला टिष्टामा जंगे पिलरहरू नदेखेपछि परराष्ट्र मन्त्रालय र मालपोत विभागमा चिठ्ठी लेखेर पठाएँ । उल्टै मलाई हकार्ने काम भयो । यसरी नेपालले विस्तारै–विस्तारै गुमाएको मात्रै छ । आफ्ना सीमा समेट्न सकेको छैन । सबैतिरबाट हामी चेपुवामा परेका छौँ । हाम्रो भूभाग मिचिएको छ । हामीले दुईवटै छिमेकी मित्रसँग आफ्नो अडान स्पष्ट राखेर कुटनीतिक संवादको माध्यमबाट समाधान खोज्न ढिला गर्नु हुँदैन ।

भारतले बारम्बार हाम्रो सीमा र पानीमा गिद्धेदृष्टि लगाउनुको कारण के होला ?

खास गरेर भारतलाई आफ्नो उब्जनी बढाउनका निम्ति पानीको जरुरत छ । र आफ्नो कलकारखा विकास गर्नका निम्ति विजुलीको जरुरत छ । त्यो नेपालको भूमिबाट मात्र सम्भव छ । हामी जलविद्युत, खानेपानी र सिंचाइयुक्त पानीका दृष्टिले विश्वमै सम्पन्न छौँ । त्यसैले बारम्बार उनीहरू पानी र सीमामा हस्तक्षेप गरिरहेका छन् । यत्रा नदीनाला लगिसकेर पनि पुगेको छैन, र अहिले पनि उनीहरू स्वाट्टै खान खोजिरहेका छन् । नेपालीहरूले अब पनि बुद्धि पु¥याएनौँ, राष्ट्रिय एकता कायम गरेनौँ भने उनीहरू बलियो हुन्छन् । सरकारले दृढशक्ति देखाउँदै जनतालाई आह्वान गरोस्, र हामी सबैको संयुक्त प्रयत्नमा हाम्रो मुलुकको रक्षा गरौँ ।

मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई कसरी हेर्नुभएको छ ?

यो मुलुकमा राजनीतिक पार्टीका आन्दोलनहरूमा जनताको निरन्तर सहयोग देखिन्छ । मुलुकमा गणतन्त्र आएको छ । संविधानमा समाजवादउन्मुख लेखिए पनि तथा वर्तमान सरकारमा नेपाल कम्युनिष्ट पार्टी पुगेको भए पनि सर्वहारावर्गको हित, हलीगोठाला, मध्यम किसानको हित हुने काम गरेर समाजवादी गणतन्त्रको पृष्ठभूमि तयार गर्नुपर्ने थियो, त्यो हुन सकेको छैन । बरु, महंगी बढेको छ । भ्रष्टाचार बढेको छ । अनैतिकता बढेको छ । विकृतिहरू बढेका छन् । मानिसको जीवनस्तर तवाहीमा पुगेको छ । आलु किनेर खान नसकिने अवस्था छ । महंगीले आकास छोएको छ । मानिसको जीवन धान्न मुस्किल भइसकेको छ । दुईतिहाइको कम्युनिष्ट सरकारपछि राहत पाइला, विकासका काम होला, समाजवाद आउला भनेर जनताले विश्वास गरेका थिए । तर, ठीक उल्टो महंगी बढेको छ । जनतालाई महंगीको भूमरीमा पारेर त समाजवादतर्फ पुग्न सकिँदैन ।

तर, प्रधानमन्त्रीको दावी त समाजवादको आधार बनाउँदैछौँ भन्नेछ । केही भएन भन्नेहरू त हाम्रा विरोधी हुन् भन्नुहुन्छ नि ?

विरोधीहरूले हल्ला फिजाउने कुरा गर्दा देशमा प्रतिपक्षी दल छ कि छैन भनेजस्तो अवस्था आएको छ । बरु, अहिले कम्युनिष्ट पार्टीको काम चैँ कांग्रेसको जस्तो भएको छ । कम्युनिष्टले नै कांग्रेसको काम गरेपछि किन चाहियो कांग्रेस भनेर जनताले कांग्रेसलाई भोट नहालेका हुन् । जबसम्म देश समाजवादमा जाँदैन, तबसम्म देशमा वर्गसंघर्ष भइरहन्छ । समाजवाद पनि वर्गसंघर्षकै कुरा हो । अहिले भनिएको बहुदलीय जनवाद भनेको त वर्गसमन्वयवाद हो । अहिले कम्युनिष्टको एउटै पार्टी भए पनि त्यहाँ गुटैगुट छन् । तीनचारवटा गुट त म घरमै बसेर, टेलिभिजन, पत्रपत्रिका पढेरै देख्छु । यसरी गुटैगुटमा परिणत भएको पार्टीले कसरी समाजवादको आधार बनाउँछ ? गुटको भागवण्डा मिलाउँदा मिलाउँदै समय बित्छ । पछिल्लो समय प्रधानमन्त्रीले सातवटै प्रदेशका प्रमुख परिवर्तन गर्दा त्यहाँ माधवकुमार नेपाल गुटको एउटै मान्छे परेन भनेको सुनियो । माधव नेपालले ‘रियाक्ट’ पनि गर्नुभयो । पार्टी एउटै भए पनि अहिले नेपाल अपोजिसनमा हुनुहुन्छ । ओली र प्रचण्डजीले अहिले मिलेर पार्टीको नेतृत्व गरिरहनुभएको छ । तर, प्रधानमन्त्रीको कुर्सी कहिले छाड्ने भनेर प्रचण्डजी भनिरहनुभएको सुनिन्छ ? के सरकार भागबण्डा गरेर चलाउने ठाउँ हो र ? साढे दुई वर्ष तैले कमाइस् भाइ, अब मैले पनि कमाउनुपर्छ भनेजस्तो भएन र ? त्यसकारण यस्तो अवस्थामा न मुलुक बलियो हुन्छ, न पार्टी । यो कुरा उहाँहरूले नै बुझ्नुपर्दछ । यहाँ मजदुर वर्गको नेतृत्वमा राज्यव्यवस्था छैन । ओली र प्रचण्डको अध्यक्षतामा रहेको पहिलेका पार्टी पनि कम्युनिष्ट पार्टी थिएनन्, बुर्जुवा पार्टी थिए । मिलेपछिको नेकपा पनि कम्युनिष्ट पार्टी बन्न सकेको छैन । मलाई यसले दुःखी बनाएको छ ।

तपाईं के का लागि कम्युनिष्ट बन्नुभएको थियो ?

हामी झापा संघर्ष अगाडिदेखि नै हामी कम्युनिष्ट भएका हौँ । आमूल परिवर्तन गर्नुपर्छ भनेर हामी कम्युनिष्ट भएका थियौँ । अकुत पैसा कमाउने भनेर लागेका थिएनौँ । बरु, सर्वहाराको सेवा गर्ने, मजदुर किसानको सेवा गर्ने भनेर लागेका थियौ । तर, पछि ठीक विपरीत वर्गसंघर्षको बाटो त्यागेर वर्गसमन्वयमा जाने र सर्वहाराको अधिकार अन्त्य गरियो । र, कम्युनिष्ट पार्टीहरू बुर्जुवा पार्टीमा परिणत भए । अहिले संविधानमा पनि सर्वहाराका लागि त्यस्तो कुनै अधिकार सुनिश्चित गरिएको छैन । आधा आकास महिलालाई भन्दा ३३ प्रतिशत दिने भनिए पनि व्यवहारमा लागू गरिएको छैन । महिलाको योग्यता पुगेको छैन भन्दा कयौँ महिला पुरुषलाई उछिनेका छन् । पढेलेखेका कयौँ महिला घरधन्दामै सीमित हुनुपरेको छ । त्यसकारण वर्गको पनि चिन्तन छैन, विमुक्तिको पनि चिन्तन छैन । छ भने केवल पैसा कसरी कमाउने भन्नेमै केन्द्रित देखिन्छ ।

त्यति मात्र होइन, आफ्नो स्वार्थ सिद्ध गर्न धर्ममाथि पनि प्रहार गर्नुभएको छ । कम्युनिष्टले धर्म मान्नुपर्छ भन्ने होइन । हामीले नमानेकै हो । तर, हिन्दूधर्म नमान्ने अनि प्रधानमन्त्रीजस्तो मान्छे क्रिश्चियानिटीको बढावामा लाग्ने काम सही हुन सक्दैन । कि कम्युनिष्टको जस्तो आचरण गर्नुप¥यो कि त ९८ प्रतिशत हिन्दूहरूको बाहुल्यता रहेको देशलाई हिन्दूराष्ट्र भन्दिनुप¥यो । तर, उहाँहरूले धर्म निरपेक्ष भनेर क्रिश्चियानिटीको बढावा दिइरहनुभएको छ । क्रिश्चियानिटीको विषयमा त नेल्सन मण्डेलाले स्पष्ट भन्नुभएको छ, हामी क्रिश्चियनका पर्चा पम्प्लेट पढ्न लाग्यो, उता क्रिश्चियनहरूले हामीलाई तवाह गरिदिए ।’ त्यस्तो क्रिश्चियानिटीको नाममा शोषण भएको त विश्व परिचित छँदैछ । हामी पनि परिचित छौँ । यी सबै कुरा मेरा व्यक्तिगत गुनासो होइन । मलाई केही चाहिएको छैन ।

तपाईंलाई पार्टीले अहिले केही सहयोग गरेको छैन ?

पार्टीले उपचारका लागि भनेर मासिक पाँच हजार रुपैयाँ दिन्थ्यो । अहिले त्यो पनि बन्द गरिदिएको छ । त्यसले केही कठिन अवश्य भएको छ । तर, मलाई पैसा देऊ भनेर म माग्नेवाला छैन । पार्टीका नेताहरू अनेकसँग सहयोग लिएर चल्नुभएको होला । म त कसैसँग सहयोग माग्न गएको छैन । न बिक्रीबन्धक भएको मान्छे हुँ म । त्यसकारण मलाई भन्न मन लाग्छ, ‘यसरी कम्युनिष्ट पार्टीलाई बदनाम नगर्नुस् । एकपटक तपाईंहरूको आचरणले तपाईंहरू कम्युनिष्ट नरहेको भन्ने जनताले बुझे भने कमसेकम भोलिको निर्वाचनमा त्यसले असर गर्छ नि ।’

नेताहरूको नियत खराब भएकाले यस्तो स्खलन देखिएको हो कि कौशल नभएकाले ?

दुईवटै कुरा हो । तर, नैतिकता प्रधान कुरा हो । नैतिकता केले अड्याउँछभन्दा आदर्शले । हिजो हामी कम्युनिष्ट नैतिकताको सामुन्ने सबैचिज निछावर गरेर हामी जेल बस्यौँ । कमरेडहरूले आफ्नो ज्यानको कुर्वान गरेर सहादत प्राप्त गर्नुभयो । आदर्शको रक्षा गर्ने, नैतिक बलले चल्ने आचरण हिजो थियो । बदलामा आज भ्रष्टाचारमा सबै डुबेका छन् । प्रधानमन्त्रीको सरकारी निवास रहेको बालुवाटारको जग्गासमेत भूमाफियाको हातमा पुगेको छ । कम्युनिष्ट पार्टीकै नेता त्यसमा बदनाम भए । कम्युनिष्ट नैतिकवान हुन्छन् । आदर्श मान्दछौँ । माक्र्स, एंगेल्स, लेनिन, स्टालिन, माउत्सेतुङ, होचिमिन्हले देखाउनुभएको आदर्शलाई पछ्याएर अहिलेको नेतृत्व चल्नुपर्ने हो । तर, ठीकविपरीत अहिले जो नेतृत्वमा हुनुहुन्छ, उहाँहरू नै भ्रष्टाचारमा पर्नुभएको छ । नेकपाका महासचिव विष्णु पौडेल नै जग्गा विवादमा मुछिनुभयो ।

कम्युनिष्टले नै कांग्रेसको काम गरेपछि किन चाहियो कांग्रेस भनेर जनताले कांग्रेसलाई भोट नहालेका हुन् ।

ओली र प्रचण्डजीले अहिले मिलेर पार्टीको नेतृत्व गरिरहनुभएको छ । तर, प्रधानमन्त्रीको कुर्सी कहिले छाड्ने भनेर प्रचण्डजी भनिरहनुभएको सुनिन्छ ? के सरकार भागबण्डा गरेर चलाउने ठाउँ हो र ? साढे दुई वर्ष तैले कमाइस् भाइ, अब मैले पनि कमाउनुपर्छ भनेजस्तो भएन र ?

एकपटक तपाईंहरूको आचरणले तपाईंहरू कम्युनिष्ट नरहेको भन्ने जनताले बुझे भने कमसेकम भोलिको निर्वाचनमा त्यसले असर गर्छ नि ।’

हिजो हामी कम्युनिष्ट नैतिकताको सामुन्ने सबैचिज निछावर गरेर हामी जेल बस्यौँ । कमरेडहरूले आफ्नो ज्यानको कुर्वान गरेर सहादत प्राप्त गर्नुभयो । आदर्शको रक्षा गर्ने, नैतिक बलले चल्ने आचरण हिजो थियो ।

उनीहरूले समाजमा शोषण, दमन उत्पीडन कायम राख्ने हुनाले न हामीले कम्युनिष्ट पार्टी खोज्नुपरेको हो । तर, अहिले नेपाली कांग्रेसका पहिलेका प्रधानमन्त्रीले जस्तै नेकपाका प्रधानमन्त्रीको शासन शैली छ ।

मदन भण्डारीजीले ल्याउनुभएको बहुदलीय जनवादमा पनि कमसेकम सिद्धान्तका कुरा थिए । मैले पनि नौलो जनवादी कार्यक्रम माउत्सेतुङ विचारधारा अन्तर्गतको भनेर पाँचौँदेखि नवौँ महाधिवेशनसम्म उठाएको थिएँ । अब दसौँ महाधिवेशनमा के उठ्ने हो ? त्यो भन्न सकिने अवस्था छैन ।

कम्युनिष्ट पार्टीका सदस्यले कम्युनिष्ट चरित्र बिर्सियो भन्न खोज्नुभएको हो ?

हो, कम्युनिष्ट पार्टीको आचरण नै छाडिसकेपछि धन कमाउने उद्देश्य मात्र रह्यो । समाजवाद संसारमा देखाउने खोल मात्र भएको छ । संसारका धेरै बुर्जुवा पार्टीले समाजवादको कुरा गरेका छन् । भारतमा इन्दिरा गान्धीको पनि समाजवाद थियो । नेपालमा नेपाली कांग्रेसको पनि समाजवाद छ । तर, उनीहरू वास्तविक समाजवाद चाहँदैनन् । उनीहरूले समाजमा शोषण, दमन उत्पीडन कायम राख्ने हुनाले न हामीले कम्युनिष्ट पार्टी खोज्नुपरेको हो । तर, अहिले नेपाली कांग्रेसका पहिलेका प्रधानमन्त्रीले जस्तै नेकपाका प्रधानमन्त्रीको शासन शैली छ । उहाँहरूले विचार, सिद्धान्त छाडिसक्नुभएको छ । उहाँहरू गुट चलाएर पैसा कमाउन व्यस्त हुनुहुन्छ । मदन भण्डारीजीले ल्याउनुभएको बहुदलीय जनवादमा पनि कमसेकम सिद्धान्तका कुरा थिए । मैले पनि नौलो जनवादी कार्यक्रम माउत्सेतुङ विचारधारा अन्तर्गतको भनेर पाँचौँदेखि नवौँ महाधिवेशनसम्म उठाएको थिएँ । अब दसौँ महाधिवेशनमा के उठ्ने हो ? त्यो भन्न सकिने अवस्था छैन ।

प्रचण्डबारे यहाँको धारणा ?

प्रचण्ड कमरेड पनि डेमोक्रेसीमा आउनुभयो । तर, हतियार बुझाएर आएको साथीबाट के आशा गर्ने ? हतियार उठाउन जरुरत छैन भन्दा मान्नुभएन । हजारौँ काटिए, लुटिए, घाइते भए, अपांग भए । लुटिएको धनको हिसाव कसले देखाउने ? लडाकु समायोजनको रकमसमेत अनियमितता भयो भनेर आवाज उठिरहेको छ । यो कुरा उहाँले स्पष्ट पार्नुपर्दैन ? कम्युनिष्ट पार्टीको आचरण छाडिसकेपछि अराजक भइहाल्यो । अराजक भएपछि त जे गरे पनि भो । नैतिकताको प्रश्न आउँदा कम्युनिष्ट नैतिकता महराजीले देखाइहाल्नुभयो । मैले कम्युनिष्ट पार्टीका नेतालाई होच्याउन खोजेको होइन । यी तमाम घटनाले कम्युनिष्ट पार्टीलाई धक्का लाग्यो भन्ने चिन्ता हो । त्यसैले सबैभन्दा मुख्यकुरा कम्युनिष्ट नैतिकता, सिद्धान्त र आदर्श हो । त्यही सिद्धान्त र आदर्शका निम्ति हिँडेका हामी स्खलित हुँदै जाँदा जनसमर्थन गुम्ने अवस्था आउँछ । छिमेकीले हेप्न थाल्छ । सीमा मिच्न छाड्दैन । यो सबै कुरा वर्तमान नेतृत्वले बुझ्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्