Logo
Logo

एउटा व्यक्तिले महासंघमा भाँडभैलो मच्चायो


किशोर प्रधान, पूर्वउपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ


काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) नयाँ नेतृत्व चयनको प्रक्रियामा छ । महासङ्घको साधारणसभा आज (मंगलबार) सुरु हुँदैछ ।

महासंघको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल आगामी कार्यकालमा स्वतः अध्यक्ष बन्नेछन् भने बाँकी पदहरूमा निर्वाचन हुनेछ । महासंघको २०औँ अध्यक्षको रुपमा वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अबको तीन वर्ष कार्यभार सम्हाल्दै छन् ।

अबको वरिष्ठ उपाध्यक्षमा तीन जना प्यानलसहित मैदानमा उत्रिएका छन् । ‘वेटिङ प्रेसिडेन्ट’ भएकाले अन्जान श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठ प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । महासंघमा अध्यक्ष पदका लागि प्रत्यक्ष निर्वाचन नहुँदा वरिष्ठ उपाध्यक्ष नै निर्वाचनको केन्द्रमा रहन्छ । यद्यपि, सर्वसम्मतको प्रयास पनि भइरहेको छ ।

वि.सं. २०२२ सालमा स्थापना भएको उद्योग वाणिज्य महासंघको संस्थापक अध्यक्ष लोकनाथ जोशी हुन् । उनले २०२४ सम्म महासंघको नेतृत्व सम्हालेका थिए । पछिल्लो समय महासंघको भूमिकालाई लिएर विभिन्न टिकाटिप्पणी हुने गरेका छन् ।
महासंघको चुनौती, विगतका कमीकमजोरी र अब गर्नुपर्ने कामका विषयमा महासंघका पूर्वउपाध्यक्ष एवं विराटनगरका व्यवसायी किशोर प्रधानसँग गरिएको कुराकानी ।

नेपाल उद्योग वाणिज्य महासंघमा पनि राजनीतिक पार्टीहरूमा जस्तै भाँडभैलो देखिन थाल्यो किन ?
नेपाल उद्योग वाणिज्य महासंघलाई हाम्रा केही पूर्वजले अनावश्यक राजनीति गरेर अहिलेको दुर्गति अवस्थामा पुर्याउने काम गरे । हामी व्यवसायी एकातिर भन्छौँ– राजनीतिभन्दा टाढा छौँ । व्यवसाय मात्रै गर्छौँ । व्यवसायीको हकहितका लागि खडा भएको संस्था हो । अर्कोतिर, हामी व्यवसायी नै राजनीति गर्छौँ । जबसम्म यो दुईटा चरित्रबाट टाढा भएर एउटा चरित्रमा अडिग हुँदैनौँ, तबसम्म महासंघको ओरालो यात्रा रोकिँदैन ।

तपाईँलाई थाहा छ– दुईटा नाउमा खुट्टा राख्ने मानिस कहिल्यै सफल भएको छ ? त्यसकारण व्यवसायीले व्यवसाय गर्नुपर्छ, व्यवसायीको हकहितमा काम गर्नुपर्छ । राजनीतिज्ञले राजनीति गर्नुपर्छ । तर, हाम्रो समाज भाँडभैलोमा गएको छ । राजनीतिक दलहरूको जुनसुकै सङ्ख्यामा हस्तक्षेप गर्ने अनि राजनीतिक परिवेशबाट आफ्नो उम्मेदवार जिताउने प्रयास गर्ने र देशभरका सङ्घसंस्थालाई आफूमातहत राख्न खोज्ने प्रवृत्तिको विकास भएको छ । त्यसले देशको अर्थतन्त्रलाई छियाछिया पारेर आजको जुन गति भएको छ, यो त्यसैको परिणाम हो ।

आज पनि हामी सप्रेका छैनौँ । अझ पनि त्यो दलदलमा हामीले खुट्टा टेकिराखेका छौँ । उद्योगीव्यवसायी सबै साथीहरूसँग मेरो एउटा मात्रै अनुरोध के हो भने, हामीले दुईटा नाउमा खुट्टा राख्न छाडौँ । सही र सक्षम तरिकाले आफ्नो व्यवसाय र उद्योग सञ्चालन गर्ने प्रक्रियामा जाऔँ । महासंघको नेतृत्वदायी भूमिका रहेका व्यक्तिले अहिले पनि सोचेन भने, भविष्यमा हाम्रा सन्तानहरूले निकै सराप्ने अवस्था आउँछ । अहिले नै सराप्न थालेको स्थिति छ । भविष्यमा त थुक्ने अवस्था हुन्छ ।

अहिलेको भाँडभैलोको स्थिति आउनुमा महासंघकै पदाधिकारीहरू मुख्य जिम्मेवार हुन् कि राजनीतिक दलहरू ?
यसमा दुबै पक्षको उत्तिकै भूमिका छ । निर्वाचन जित्नका लागि राजनीतिक नेतृत्वको शरणमा पुग्ने प्रवृत्ति छ । राजनीतिज्ञहरूले देशको सबैभन्दा ठूलो संरचना भएको संस्थामा आफ्नो प्रभुत्व कसरी जम्छ भन्ने रुपमा हेरेका छन् । बढी दोषचाहिँ व्यवसायीहरू आफ्नै छ । हामी नै त्वम् शरणम गच्छामी भनेर नेताको ढोकाढोका चहार्न जाने प्रवृत्ति छ । तपाईँ कसैको भरमा भिख माग्न नमस्कार गरेर जानुभयो भने, उसले नमस्कार फिर्ता पनि गर्छ, भिख पनि दिन्छ । हामी व्यवसायी एकजुट भएर आफ्नै बलबुतामा अघि बढ्नुपर्ने बेला नेताको घरघरमा गइयो भने त सबैले आ–आफ्नो भाग खोजिहाल्छन् नि ।

वरिष्ठ उपाध्यक्षलाई नै अध्यक्ष चयन गरेर जाँदा सर्वसम्मत नेतृत्व चयन हुन्छ भन्ने परिकल्पना गरेर विधान संशोधन गरिएको थियो । तर, अहिले त्यस्तो देखिएन नि ?
त्यो विधान संशोधन गर्ने प्रक्रियामा म पनि थिएँ । त्यो भयङ्कर ठूलो भूल भएको अनुभव मैले गरिसकेँ । मैले सबै उद्योगीव्यवसायीसँग क्षमा पनि मागिसकेको छु । साथीहरूले क्षमा पनि गर्नुभयो जस्तो लाग्छ । तर, यसको संरचना गर्ने व्यक्तिले आजसम्म बुझेको छैन कि, मैले गरेको संरचना गल्ती भएको रहेछ । यो गल्तीलाई उहाँहरुले अहिले पनि स्वीकारेको देखिएको छैन । महासंघ लिडरसिप संस्था हो । अध्यक्षात्मक प्रणालीमा चल्ने संस्था हो । यो हिसाबले संस्था निर्माण गरिएको हो । व्यक्तिगत स्वार्थका लागि यसलाई तोडमोड गरेर कसैले विधानलाई संशोधन गरेकाले तुरुन्तै विधान संशोधन गर्नुपर्छ ।

अहिलेका अध्यक्ष शेखर गोल्छाले विधान समिति पनि बनाउनुभएको थियो । तर, महासंघकै केही साथीहरूले विधान संशोधन प्रस्ताव अघि बढ्न दिएनन् । त्यो ठूलो दुर्भाग्य हो । एकजना व्यक्तिको कारण १२÷१४ वर्षदेखि महासंघ भाँडभैलो अवस्थामा छ । अधोगतितिर गएको संस्थालाई विधान संशोधन गरेर अब प्रत्यक्ष निर्वाचन गराएरै अध्यक्ष छान्ने व्यवस्था गर्नुपर्छ । धेरै साथीहरूले यो कुरा बुझिसक्नुभएको छ । हाम्रो साथीहरूको हिम्मत र जोश त्यहाँसम्म पुगेको छैन । विगतको गल्ती, कमजोरी सच्याएर संस्थालाई मर्यादित र सक्षम बनाउने प्रयास गर्नुपर्छ । त्यसकारण यसपटक कुनै पनि हालतमा विधान संशोधन हुनुपर्छ । विधान संशोधन भएन भने, यो संस्थाको जसरी गरिमा गिर्दैछ, अझ तलतिर जान्छ । र, आउने दिनमा यो संस्थाको अस्तित्वमाथि पनि प्रश्न उठ्न सक्ने अवस्था आउँछ ।

विधान संशोधन गरेर पहिलेकै अवस्थामा लानुपर्छ भन्ने हो ?
विधानमा केही थपघट गर्नुपर्ने हुन्छ । त्यतिबेला प्रादेशिक अवधारणा थिएन । त्यसलाई समावेश गरेर उनीहरूको अधिकार, कर्तव्य र स्ट्याटसलाई समावेश गरेर सबभन्दा पहिला विधान संशोधन गरिनुपर्छ । स्ट्रेन्थ अनुसार मताधिकार पाइएन भन्ने एसोसिएट र वस्तुगतको सवाल पनि छ । त्यसमा पनि केही संशोधन गरेर अगाडि बढ्नुपर्छ । प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष छान्ने व्यवस्थामा जानैपर्छ । विगतमा त्रुटि भएका सच्याउनुपर्ने विषय विधानमा छन् भने त्यसलाई सच्याएर अर्को साधारण सभामा पास गर्ने गरी जानुपर्ने अवस्था बनाउनुपर्छ । अनि मात्रै नेपाल उद्योग वाणिज्य महासंघले दिशा पाउँछ ।

अहिलेको हुनेवाला अध्यक्षले भनिसक्नुभएको छ । हुन त, अहिलेका अध्यक्ष शेखर गोल्छाले पनि विधान संशोधन गरेर दुई वर्षे कार्यकाल गर्छु भन्नुभएको थियो । तर, उहाँकै साथीहरूले त्यो काम गर्न दिएनन् । अब हुने अध्यक्ष चन्द्र ढकालजीले पनि विधान संशोधन गर्छु, दुई वर्षे कार्यकाल बनाउँछ भन्नुभएको छ । उहाँको काम हेर्न बाँकी नै छ । एउटा प्रयास त असफल भइसकेको छ । अब उहाँको प्रयास सफल होस भन्ने शुभकामना छ ।

विधान संशोधन गरेर प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष छान्ने व्यवस्था गरियो भने वरिष्ठ उपाध्यक्षले फेरि अध्यक्षको लागि निर्वाचन लड्नुपर्ने हुन्छ ?
चन्द्र ढकाल विधानअनुसार अबको अध्यक्ष हुनुहुन्छ । अहिलेको निर्वाचनमा जसले वरिष्ठ उपाध्यक्ष जित्छ, उही स्वतः अध्यक्ष हुन्छ । विधान संशोधनपछि अध्यक्षसहितको नयाँ नेतृत्व छान्न निर्वाचन हुन्छ । अब हुने वरिष्ठ उपाध्यक्षसम्मका लागि संशोधित विधानको असर पर्दैन । त्यसपछि नयाँ विधानअनुसार निर्वाचन हुन्छ । विधानमा कार्यसमितिको अवधि दुई वर्ष तोकियो भने चाहिँ चन्द्र ढकालजीकै कार्यकालबाट लागू हुन सक्छ ।

देशको अर्थतन्त्र सकारात्मक दिशामा छैन । निजी क्षेत्र पनि हायलकायल भएको स्थिति छ । यसलाई सुधार्न महासंघमा भोलिको नेतृत्व कस्तो आउनुपर्छ ?
अहिले देश आक्रान्त भएको छ । व्यवसायीले ब्याजसमेत तिर्न नसक्ने अवस्था आएको छ । पेट्रोल छर्केर शरीरमा आगो लगाउनुपर्ने अवस्थामा व्यवसायी पुगेका छन् । १ सयभन्दा बढी उद्योगीव्यवसायीले आत्महत्या गरेको अवस्था छ । सरकारको कानको रौँ पनि हल्लिएको छैन । सरकारले के सोचेको छ, कसरी सोचेको छ भनेर हामीले मनन गर्नुपर्ने अवस्था आइसकेको छ । बैंकले कसरी सरलीकरण कसरी गर्न सक्छ भनेर ध्यान दिनुपर्ने अवस्था छ । यस्तो अवस्थामा तिनै जना वरिष्ठ उपाध्यक्षका उम्मेदवारले जसरी सातैवटा प्रदेशमा सर्वसम्मत नेतृत्व चयन भयो, त्यसैगरी सर्वसम्मत भएर देश र जनतालाई सन्देश दिनुपर्छ– निजी क्षेत्र एकजुट छ, हामी देशको अर्थतन्त्रलाई सहयोग गर्न तयार छौँ । सरकारसँग सहकार्य गरेर अगाडि बढ्न तयार छौँ भन्ने आभास दिन सक्यौँ भने अति राम्रो प्रभाव पर्छ ।

तपाईँका कुरा निर्वाचनमा उत्रिएका व्यवसायीहरूले सुन्लान् ?
सबै उद्योगीव्यवसायी साथीहरूसँग मेरो एउटै अनुरोध के छ भने, प्रतिष्पर्धा गर्नु नराम्रो कुरा होइन । अहिले प्रतिष्पर्धाको समय होइन । आर्थिक मन्दीको समय हो । जुन विषयलाई उठाएर हामी सरकारसँग छलफल गर्छौँ । त्यही विषयमा हामी तीन–चार जना लडिरह्यौँ भने कसरी हुन्छ ? तीनजना मध्ये एउटा वरिष्ठ उपाध्यक्ष हुने हो । पदाधिकारी वा कार्यसमितिमा तीन जनाकै प्यानलबाट पुग्छन् । अनि एक अर्कालाई झगडा गराउने, एकअर्काको प्रस्तावमा विवाद गर्ने अवस्था जन्मिन्छ । त्यो अवस्थामा कुनै पनि ठोस प्रस्ताव अघि बढ्न सक्दैन । देशभरका उद्योगीव्यवसायीलाई सरलीकरण गर्न, समस्या समाधान गर्न जुन हामी प्रयासरत हुन्छ, त्यो प्रयासमा महासंघ सफल हुन सक्दैन ।

अहिले सिएनआइको हाइट कति बढेको छ भन्ने कुरा हामीले महसुस गरेका छौँ । आर्थिक विषय कति राम्रोसँग उठाइरहेको छ । खोइ हामी ? हामी नेपालको सबैभन्दा ठूलो संस्था भन्ने अनि हाम्रो भूमिका नहुने ? सरकारलाई हामीले सहजीकरण पनि गर्नुपर्छ । माग सम्बोधन गर्न आवश्यकताअनुसार दबाब पनि दिनुपर्छ । साना, मझौलादेखि ठूलो व्यवसायीका विषयलाई हामीले गम्भीरतापूर्वक उठाउनुपर्छ ।

एकअर्कामा प्रतिद्वन्द्वीको रुपमा जहिले पनि रहेका कारण हामीले यस्ता महत्वपूर्ण काम गर्न सकेका छैनौँ । त्यसमा पनि सबैभन्दा ठूलो दुर्भाग्य के छ भने, एउटा व्यक्तिको कारणले महासंघ दुर्गतिमा पुगेको छ । साथीहरूले किन नसोच्नुभएको हो । यो संस्था भनेको नितान्त उद्योगी–व्यवसायीको हितका लागि गठन भएको हो । यहाँ कुनै पनि प्रकारको द्धेष, राग हुनुहुँदैन । कुनै पनि राजनीतिक प्रभाव हुनुहुँदैन । स्वतन्त्र रुपमा काम गर्न सक्नुपर्छ । नेतृत्वमा भएका उद्योगीव्यवसायी आफैँले सोच्नुपर्छ कि, यो महासंघलाई कुन दिशामा हामी लाँदै छौँ ?

एउटा व्यक्तिको कारणले यो स्थिति आयो भन्नुभयो, त्यो को हो ?
म कसैको नाम लिन चाहन्नँ । सबै साथीहरूले बुझिसक्नुभएको छ । तपाईँलाई मैले दिएको म्यासेजले नै नेपालका सबै उद्योगीव्यवसायीले त्यो व्यक्ति को हो भन्ने बुझ्नुहुन्छ ।

भावी अध्यक्ष चन्द्र ढकालले महासंघमा सर्वसम्मतको प्रयास गरेको भनिन्छ, त्यो साँचो हो ?
यो साँचो हो । चन्द्र ढकालजीले धेरै राम्रो कामको सुरुवात गर्नुभएको छ । जबसम्म मानिसले प्रयास गर्दैन, तबसम्म सफल÷असफल भन्ने थाहा पाउँदैन । कमसेकम भावी अध्यक्षको रुपमा ढकालले सबैलाई बोलाएर सरलीकरण, एकीकरण गर्ने प्रयास गर्नुभयो । त्यसका लागि म ठूलो सराहना गर्छु । र, म चाहन्छु– उहाँले भविष्यमा पर्ने क्रियाकलाप पनि सबै सहमति र सहकार्यका आधारमा गर्नुहुन्छ ।

उहाँको आफ्नो व्यवसायिक अनुभव पनि छ । महासंघका संगठनात्मक नेतृत्वको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु । साना तथा मझौला उद्योगी, व्यवसायीदेखि वस्तुगत, जिल्लाका सबै उद्योगी व्यवसायी साथीहरूका सबै विषय सम्बोधन गर्ने क्षमता भगवान श्री पशुपतिनाथले उहाँलाई दिओस्, उहाँले राम्रो काम गर्नुहोस् भन्ने शुभकामना छ ।

प्रतिक्रिया दिनुहोस्