Logo
Logo

लोकरिझ्याइँको घनचक्करमा देश



नेपालमा २०७९ सालको अन्तिम घाम अस्ताएसँगै ७० को दशक पनि मैजारू भएको छ । २०८० को पहिलो साता नयाँ वर्ष र नयाँ दशकका लागि शुभकामना आदान–प्रदान गर्ने र मोटामोटीरूपमा बितेको वर्ष र दशकका बारेमा एकसरो मूल्याङ्कन गर्ने काम हुनुपर्ने हो, भएकै होला ।

विगत एक किसिमको ऐना हो, हेर्न मिल्छ तर सच्याउन मिल्दैन । बढीमा गर्न सकिने भनेको आत्मसमीक्षा गर्ने, भएका गल्ती कमजोरीलाई विनम्रतापूर्वक स्वीकार गरेर सच्याउँदै अघि बढ्ने र फेरि गल्ती नदोहो¥याउने प्रण गर्नेमात्र हो ।

यस कोणबाट हेर्दा विगत एक किसिमको गल्तीको पाठशाला हो । जहाँबाट सिक्दै, सच्चिदै वर्तमान अर्थपूर्ण बनाउन सकिन्छ र त्यही भुइँ टेकेर भविष्यको सुन्दर योजना कोर्न सकिन्छ ।

व्यक्तिगतरूपमा होस् वा सामाजिक रूपमा, एक जिम्मेवार र सभ्य मानिसले गर्नुपर्ने यही हो । तर, दुर्भाग्य नेपाली समाज त्यसरी समयको ऐनामा आफूलाई हेर्न क्रमशः छोड्दै गएको छ । फोहर अनुहारमा राखेर ऐना फोड्ने र फेर्ने पुनरावृत्ति मौलाउँदो छ ।

समाजमा यसले एक किसिमको महामारीको आकार लिँदैछ । समयक्रममा पात्रहरू प्रवृत्तिमा अनुदिन हुँदैछन् । समाजमा एक हैन, अनेक आवरणका यी प्रवृत्तिहरू झाँगिदा आदर्श, मूल्य र मान्यताहरू सेपमा परेका छन् । यो सेपिलो वातावरणले अन्ततः समाज विचलन हुने हो, अहिले समाज त्यही दिशातिर हुँइकिँदै छ ।

प्रस्तुत पृष्ठभूमिमा हामीले केही दिनअघि मात्र स्वागत गरेको दशकले सबैभन्दा ठूलो समस्याका रूपमा लोकरिझ्याइँको सामना गर्नुपर्ने देखिन्छ । त्यसको सुरूआती वर्ष २०८० मै त्यसको ठूलो दुस्प्रभाव पर्न थालिसकेको छ । त्यसको केही अंश अघिलो दशकको विरासतका रूपमै प्राप्त छ ।

वैशाख १० गते आउन केही दिन मात्र बाँकी छ । मुलुकका तीन संसदीय निर्वाचनमा हुन लागेको उपनिर्वाचनलाई आवधिक निर्वाचनको उपनिर्वाचनभन्दा पनि एक किसिमको लोकरिझ्याइँको भद्दा प्रदर्शनी जस्तो बनाइएको छ ।

दल र नेताहरू खास चुनावी मुद्दामा चुनाव लडिरहेका छैनन्, को कसरी लोकप्रिय हुने भन्नेमै केन्द्रित छन् । त्यसका लागि उनीहरूले आमसञ्चारमा भनिने ‘नेगेटिभ क्याम्पेन’को सहारा लिएका छन् । आफूले राम्रो गर्नेभन्दा पनि अरूले राम्रो गर्दैन भन्नु नेगेटिभ क्याम्पेनको चुरो हो । यस क्रममा आवेग, अतिरञ्जना, आरोप, आश्वासन, गालीगलौज आदिलाई औजार बनाएर विपक्षीलाई ढाल्ने प्रयत्न हुन्छ ।

उपनिर्वाचनका क्रममा जारी चुनावी प्रचार हेर्दा यही प्रयत्न भइरहेको देखिन्छ । यसको मूलकारण चुनावलाई स्वभाविक राजनीतिक प्रक्रियाका रूपमा लिनेभन्दा प्रतिष्ठाको विषय बनाउने गलत सोच र चिन्तन नै हो ।

वास्तवमा भन्ने हो अहिले तीन क्षेत्रमा हुन लागेका उपनिर्वाचनहरू स्वभाविक उपनिर्वाचन हैनन् । राजनीतिक दल र नेताहरूको गैरजिम्मेवारी, अदूरदर्शिता र पदलोलुपताका कारण सिर्जना गरिएका राष्ट्रिय खतिका परिघटना मात्र हुन् ।

सांसद चुनिएको दुई महिना नबित्दै राष्ट्रपति हुनुपर्ने रामचन्द्र पौडेल, उपराष्ट्रपति हुनुपर्ने रामसहायप्रसाद यादव र नेपाली वैध नागरिकताबिना नै उम्मेदवार हुने रवि लामिछाने र उनीहरूका दलका कारण यी निर्वाचन जबर्जस्ती थोपरिएका हुन् ।

संवैधानिक र कानुनी कोणबाट यी उपनिर्वाचनहरू सही नै भए पनि नैतिकरूपमा सही हैनन् । त्यसैले यी जुन व्यक्ति र दलका कारण उपनिर्वाचन भइरहेका छन्, तिनीहरू नैतिकरूपमा जितका हकदार हैनन् । तर, यी उपनिर्वाचनलाई फेरि एकपटक यस्तो प्रतिष्ठाको विषय बनाइएका छन् कि त्यहाँ तिनै पार्टीका उम्मेदवारले जित्नैपर्ने संकथन निर्माण गरिएको छ ।

चितवन–२ लाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जीवनमरणको प्रश्न बनाएका छन् । उनको राजनीतिको दिशा र दशा तय गर्ने यो निर्वाचन उनी जसरी पनि जित्न चाहन्छन् । तर, मंसिर ४ यता उनको व्यक्तित्वमा ह्रासमात्र आएको छैन कि पुराना दल र तिनका उम्मेदवार पनि हिजोका कमी–कमजोरी सच्याएर कडा टक्कर दिने अवस्थामा पुगेका छन् । लामिछानेसँग हिजोजस्तो जान्नेलाई छान्ने, नो नट अगेन, सत्तामा होइन, संसद्मा पुगेर प्रश्न गर्नेजस्ता नैतिक मुद्दा बाँकी छैनन् ।

मंसिर ४ बाट वैशाख १० मा आइपुग्दा उनी सत्ताका लागि जे पनि गर्ने एक लिच्चड पात्रका रूपमा देखिएका छन् । हिजो नानीको बाबु भन्दै प्रचण्डलाई तथानाम गर्ने अहिले उनी उनै प्रचण्डको सरकारको वैशाखी बनेर चुनावी क्याम्पेनमा छन् । अझ, दोहोरो राहदानीमा फसेका उनी प्रचण्डकै कृपाले जेल जानबाट बचेर उम्मेदवार बनेका हुन् भन्दा पनि हुन्छ ।

कुनै पनि बेला जेल जानुपर्ने स्थितिको तरबारमुनि बसेर चुनावी मैदानमा आएका उनीसँग हिजोजस्तो नैतिक बल छैन । जनताले जुन आशा र विश्वासका साथ निराशा र बदलाको मत उनलाई दिएका थिए, अहिले त्यो परिस्थितिमा आनका तान फरक छ ।

तनहुँ–१ कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जितेर राष्ट्रपति भएको निर्वाचन क्षेत्र हो । कुनै समय कांग्रेसको गढ मानिएको यो क्षेत्र कांग्रेसका लागि जीवनमरणको प्रश्न बनेको छ । तर, अहिले कांग्रेस पार्टी नै त्यागेर अर्थशास्त्री डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावी मैदानमा उत्रेका छन् । यसले चुनावलाई रोचक बनाएको छ ।

कतै घण्टीको लहर पहिलाजस्तै कायम रहेर डा. वाग्लेको जित निकाल्ने त हैनन् भन्ने डर कांग्रेसमा पसेको छ । त्यसो त कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई विरोधीहरूले पनि व्यक्तिगतरूपमा खोट लगाउन सक्दैनन् । भट्टराई कांग्रेसका अकबरी सुन नै भए पनि कांग्रेसको गिर्दो शाखका कारण उनलाई चुनाव महाभारत भइरहेको छ ।

यहाँ एमालेका उम्मेदवार पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनाल पनि उम्मेदवार छन् । तर, उनी मंसिर ४ निर्वाचनमा काठमाडौंमा ६ मा हारेजस्तै यहाँ पनि हार्ने उम्मेदवार नै हुन् ।
मंसिर ४ मा बारा २ जनता समाजवादी पार्टीका महासचिव रामसहायप्रसाद यादवले जितेको क्षेत्र हो ।

एमालेसँगको चुनावी गठबन्धनबाट झिनो मतान्तरले जितेका रामसहायलाई पार्टी सभापति उपेन्द्र यादवको अति सिंहदरबार मोह पूरा गर्न उपराष्ट्रपति बनाइयो । कुनै समय मधेसका मसिहा मानिएका उपेन्द्र मंसिर ४ को निर्वाचनमा सप्तरी–२ मा जनमत पार्टीका सीके राउतसँग नराम्ररी पराजित भएका थिए । अहिले उनी बारा–२ मा उम्मेदवार बनेर आफ्नो जितलाई जीवनमरणको प्रश्न बनाएका छन् ।

उपेन्द्र अधिकांश सत्तारूढ दलका साझा उम्मेदवार हुन् । उनलाई यसअघि रामसहायसँग पराजित जनमतका शिवचन्द्र कुशवाहले टक्कर दिइरहेका छन् । तत्कालीन माओवादीका कुशवाह मंसिर ४ को चुनावमा सत्तारूढ गठबन्धनबाट उम्मेदवार भई रामसहायसँगै पराजित उम्मेदवार हुन् । त्यसो त यस क्षेत्रमा नेकपा एमालेका पुरूषोत्तम पौडेले र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल पनि जितको सपना देखिरहेकै छन् ।

अहिले जसले जे भने पनि यी तीनै निर्वाचनमा यसअघि जुन–जुन दलका उम्मेदवार विजयी भएका थिए, ती दलकै उम्मेदवार जितको नजिक देखिन्छन् ।

वर्ष २०८० र दशक २०८० को कुरा गर्दा उपनिर्वाचनको कुरा किन ? भन्ने प्रश्न उठ्न सक्छ । प्रश्न उठ्नु स्वभाविकै पनि हो । यो सन्दर्भ यसकारणले कि यो उपनिर्वाचन यो वर्षको मात्र हैन, यो दशककै एक पानीढलो लोकरिझ्याइँ परिघटना हुनसक्ने सम्भावना छ । उपननिर्वाचनको निर्णय चरम लोकरिझ्याइँका आधारमा हुन्छ कि हुँदैन, त्यो हेर्न जरूरी छ ।

नेपालमा लोकरिझ्याइँको केन्द्रमा केही समय पहिलेसम्म एमाले अध्यक्ष केपी ओली थिए । उनी नै नेपालका धेरै समाचारहरूको मुहान हुन्थे । लोकप्रिय हुने मनसायले केही न केही अन्टसन्ट बोलिरहन्थे । जब उनको त्यो बोलीमाथि प्रश्न उठ्थ्यो, उनका पक्षधरहरू जाइलागी हाल्थे । स्वयं ओलीकै रोहबरमा साइबर सेना नै गठन गरिएको थियो ।

अहिले ओलीको लोकरिझ्याइँको सिंहासनमा रास्वपा सभापति रवि लामिछाने विराजमान छन् । उनको व्यक्तिगत जीवन अत्यन्तै विवादास्पद र हिलोले पुरिएको छ । अहिले उनी एक नितान्त व्यक्ति मात्र नभएर सार्वजनिक व्यक्तित्व भएपछि त्यो हिलोमा हलचल आएको छ । हिलो चलेसँगै उनी नांगिँदै गएका छन् । जति जति नांगो छोप्न खोज्छन्, त्यति नै नांगिँदै गइरहेको कुरूप दृश्य हेर्न नसकेर उनका समर्थक निम्न कोटीका आमाचकारी गाली गलौजमा उत्रिहाल्छन् ।

खासगरी सामाजिक सञ्जाल र युट्युवमा बेनामी दस्ता नै बनाएर लागेको उनको यो सेना अब भर्चुअल डोमेन छोडेर भौतिक डोमेनमै प्रवेश गरिसकेको छ । उनको कर्तुतको समाचार छाप्यो भनेर दिनदहाडै सडकमा कान्तिपुर जलाइएको मात्र छैन, उनको विपक्षमा मुद्दा हालेको भनेर युवराज पौडेल ‘सफल’लाई कुट्नेसम्मको हर्कत पनि गरिएको छ ।

यो अति भयो । यस्तो चर्तिकलाले कुनै पनि सभ्य समाजका लागि शोभा दिदैन । यसले समाजलाई जोड्दैन, विभाजित गर्छ । समाजमा सद्भाव बढाउदैन, द्वेष–घृणा बढाउँछ ।

समाजमा आफ्ना लागि यतिसम्मका हर्कत हुँदा पनि रवि लामिछाने भने मौन छन् । उनलाई थाहा छ, यो नै उनको शक्तिको स्रोत हो । जुन दिन उनले छाडाहरूलाई मुख सम्हाल्न भन्नेछन्, ती छाडाहरूले उनकै विपक्षमा मुख छोड्नेछन् । अझ, उल्टै यस्ता प्रश्न गर्न पनि सक्छन्, ‘गुरूदेव यो चोथाले छाडा हुन हामीले तपाईबाटै सिकेका हों । यो त हाम्रो पाठशाला हो, छाडा बोल्न पाएनौ भने हामी कहाँ तपाईको पछि लागिरहन्छौ र ?’

आखिर रवि आज जहाँ छन्, टेलिभजिनमा यस्तै लोकरिझ्याइँका चर्का कुरा गरेर नै पुगेका हुन् । नत्र जान्नेलाई छान्ने भन्ने पार्टीमा उनले जानेको चाहिँ के छ ?

यो मास हिस्टेरियाको वैशाख १० मा लिटमस टेस्ट हुँदैछ । यदि यो टेस्टमा रविको पार्टीले दाबी गरजस्तै तीनै स्थानमा घण्टी बज्यो भने ठाने हुन्छ, नेपाल २०८० को दशकमा लोकरिझ्याइँको घनचक्करमा नराम्ररी फस्ने छ । एउटा चतुर राजनीतिक खेलाडी ओलीलाई नै धान्न नसकिरहेको नेपालमा रविजस्ता अर्का धुर्त खेलाडी पनि थपिए भने मुलुक एक किसिमको चौदण्डीमा परिणत हुनेछ ।

यो परिस्थितिले मुलुकमा जस्ले जे बोले पनि हुने मात्र हैन, जस्ले हान्यो, उस्ले जान्यो भन्ने खालको विचित्रको परिस्थिति सिर्जना हुने छ । आर्थिक, सामाजिक र सांस्कृतिक कोणबाट त यसै पनि नेपाल असफल राष्ट्र हुने दिशातिर तीब्र गतिमा गैरहेकै छ, राजनीतिक रूपमा पनि लोकरिझ्याइँको घनचक्करमा फस्यो भने नेपाल बस्नलायक देश हुदैन । आदर्श, मूल्य र मान्यता मरेको एक किसिमका लहडीहरूको अखडाजस्तै हुने छ ।

लोकरिझ्याइँले देश यति ग्रस्त पारिसक्यो कि उनीहरूमा मास हिस्टेरियाको संक्रमण नै देखिसकेको छ भन्दा अत्युक्ति नहोला । तैपनि वैशाख १० गतेको लिटमस टेस्ट हेरौ, घना बादलभित्र चाँदीको घेरा देख्न सकिन्छ कि ?

प्रतिक्रिया दिनुहोस्