Logo
Logo

हामी फेरि एक्लाएक्लै भयौँ



पेटको अपरेशन सकियो । चिन्ता लिएजस्तो डरलाग्दो त होइन रहेछ अपरेशन ! नयाँ अनुभव थपियो । डा. एल्ड्रिज एक जना समर्पित क्रिश्चियन थिइन् । म भने कुनै ‘भगवान्’मा वा धर्मसम्प्रदायमा विश्वास गर्दिन थिएँ । उनी आफ्नो देशदेखि टाढा नेपालमा आएर सेवा गरिरहेकी थिइन् । सबैले उनलाई असल डाक्टर मान्थे । त्यतिबेलासम्म पाटन अस्पताल अझै मिसन अस्पताल नै थियो ।

मलाई अपरेशन टेबलमा सुताइसकिएको थियो । स्पाइनल एनेस्थेसियापछि अपरेशन हुनु ठीक अगाडि उनले मसँग भनिन्– ‘म तिम्रो निम्ति प्रभुसँग प्रार्थना गर्दैछु ।’ मेरो निम्ति ‘प्रभु’को कुनै अर्थ थिएन– नास्तिकताको पाठ राम्रैसँग घोकेका थियौँ । तर ती गोरी शान्त प्रकृतिकी प्रौढ डाक्टरले जुन स्नेह र करुणाका साथ ‘तिम्रो निम्ति प्रार्थना गर्दैछु’ भनेर प्रार्थना गर्न थालिन्, उनीप्रति नै म समर्पित भएँ । कृतज्ञ भएर ‘थ्यांक यु डक्टर !’ भनेँ ।

त्यसपछि मलाई निदाउने औषधि दिए । तैपनि अर्धचेतावस्तामै थिएँ । अपरेशन भइरहेको सबै नै थाहा थियो, तर डर थिएन । डाक्टरहरु बोलेको, आन्द्रा चलाएको सबै थाहा थियो । सरोज पनि कपडा फेरेर अपरेशन थिएटरमै पसेका थिए र मेरो शीरतिर उभिएर अपरेशन हेरिरहेका थिए ।

जब सरोजले मेरो नाम लिएर बोलाए, के भएछ कुन्नि, जीउ सबै शिताङ्ग भएर झण्डै बेहोसीमा जान लागेँ । पछि थाहा भयो उनले बोलाउँदा मैले टाउको उठाएछु– स्पाइनल एनेस्थेशिया दिँदा त्यसरी टाउको उठाउन नहुने रहेछ । त्यसपछि डाक्टरहरुले फेरि के–के गरे मलाई थाहा भएन । म पुनः बिउँझिएँ र सन्सारमै फर्किएँ । मृत्युको किनारासम्मै पुगेर फर्केजस्तो भयो ।

संसार न हो ! एकपल्ट संघर्ष गरेर विजय प्राप्त गर्दैमा नपुग्ने रहेछ । बल्ल तङ्ग्रिएँ । सामान्य दैनिकीमा फर्किएँ । पारिवारिक जीवन बिताउनै पनि बल्ल बानी पर्दै थियो । भनाइ सहेरै भए पनि फेरि स्कुल फर्किएँ । नगएको दिनको सबै पैसा काटियो, ज्यालादारी मजदुरजस्तै नै थिएँ, ६२५ रुपैयाँ महिनाको तलब थियो त्यो बेला ।

सरोजको पैसा थपिएकाले विस्तारै बाँच्न सजिलो हुँदै थियो । सुविधा पनि थपिएकै थियो । तर उनी सरकारी स्थायी जागिरबाट अझै मुक्त भइसकेका थिएनन्– बिदामा थिए ।

अब कि त सरकारी जागिर छोड्नुपर्ने भयो, कि भने पाटन अस्पताल । साथीहरुले सरकारी स्थायी काममै जोडिनु राम्रो भने । पाटन अस्पतालमा उनी सरकारी होइन मिशनको दरबन्दीमा काम गर्दै थिए ।

पाटन अस्पतालका निर्देशकले स्वास्थ्य विभागलाई चिट्ठी नै पनि लेखेछन्–सरोजलाई सरकारी दरबन्दीमै पाटन अस्पतालमा सरुवा गरिदिन अनुरोध गर्दै । तर स्वास्थ्य विभागका मानिसले त्यो मानेनन्– ‘को हो त्यो डाक्टर डिकिन्सन ? हामीलाई फलानो डाक्टर पठाइदेउ भनेर आदेश दिने ?’ भनेछन् ।

अब त्यो सरकारी जागिरका निम्ति उनी काठमाडौं छोडेर बाहिर जिल्लामा नै जानुपर्ने भयो । राजविराज जिल्ला अस्पतालमा सरुवा भयो । म जानसक्ने अवस्था थिएन । बच्चा लिएर माइतीमा बसेँ, सरोजमात्र बाहिर गए– जागिर जोगाउन भनी । आखिरमा त्यो जागिरको कुनै अर्थ पनि रहेन । बेकारमा हामी मात्र फेरि एक्लाएक्लै भयौँ ।

आमा धर्ती, आमा आकाश, जस्तै परिस्थितिमा पनि आमाकै काख र साथ ! हामी फेरि छुट्टिएर एक्लाएक्लै बसेको आमालाई चित्त बुझ्दैनथ्यो– यो मलाई थाहा थियो । तर मेरो निम्ति विकल्प थिएन । सरोजसँग छुट्टिएर बस्नु मेरो निम्ति पनि सहज थिएन ।

चिठ्ठीपत्रको आदान–प्रदान भूमिगतकालमा भन्दा सहज थियो । तर चिठ्ठीको जवाफमा कुनै न्यानो कुरा लेख्ने स्थितिमा म थिइनँ । केही समयमात्र भएको थियो सँगै बसेको, फेरि टाढिनुपर्ने भयो ।

उता सरोज पढेको सांघाईको मेडिकल कलेज– युनिभर्सिटी भइसकेको रहेछ । पुराना जेहेनदार विद्यार्थीहरुलाई पोष्टग्राज्युएशनको अवसर दिइने भएछ । छुट्टीमा नेपाल फर्किएका एक विद्यार्थीले मलाई भेटेरै यो कुरा सुनाए । सकेसम्म छिटो युनिभर्सिटीसँग सम्पर्क गर्न सल्लाह पनि दिए ।

तुरुन्तै सरोजलाई खबर पठाएँ । तर सुरुमा यो मौखिक खबरलाई विश्वासै गरेनन् उनले । केही समयपछि लिखित चिठ्ठी नै आयो । त्यतिबेलासम्म त हतार नै भइसकेको थियो । सरकारी जागिरबाट अध्ययन बिदा मिलाउनु थियो, पासपोर्ट नै बनाउनु थियो, घर परिवारबारे बन्दोबस्त गर्नु थियो …

मेरो मन हतार मान्थ्यो, उनलाई भने केही न केही जस्तो ! मनमनै रिस पनि उठ्थ्यो । बल्ल त्यही लिखित कागज नै लिएर अस्पताल पुगेछन् छुट्टी माग्न । कहाँ त्यति सजिलो हुन्थ्यो ? पहिले खबरै नगरी बिदामा बसेको भनेर हैरान पारेछन् । सरोजको युवा रिस उस्तै थियो । कसैसँग केही नसोधिकन तुरन्तै स्थायी जागिरबाट राजीनामा ठोकिदिएछन् । जागिरको कुरा नै समाप्त भयो !

बल्ल–बल्ल पासपोर्टको प्रोसेसमा लागे । अलि ढिलैमात्र पासपोर्ट हात पर्याे । हतार हतारमा भए पनि सबै काम पूरा भयो । उनी जाने बेला बोलाएको समयभन्दा त ढिलै भइसकेको थियो । तर जे होस्, ढिलै भए पनि फेरि आफू पढेको सांघाईको मेडिकल कलेज पुगे– जो अब मेडिकल युनिभर्सिटी भइसकेको थियो । १ सेप्टेम्बरदेखि नयाँ क्लास थियो, १० सेप्टेम्बरमा बल्ल उड्न पाए ।

सरोजलाई एयरपोर्टसम्म पुर्याउन म, छोरी, नन्दहरु र मेरा दिदीहरु पनि पुगेका थियौँ । बेलुकीको समय एयरपोर्टमा झिलीमिली बत्ती थियो । छोरीले त्यसैलाई नै चीन भन्ठानेकी थिइ ।

जब सरोज हात हल्लाउँदै हामीसँग बिदा भए, छोरी ‘म पनि चीन जाने’ भनी रुन थाली । बल्ल–बल्ल फकाएर त्यहाँबाट फर्किनुपर्याे । त्यो रात फेरि छोरीलाई नै चित्त बुझाउन माइती होइन, उसकी फूपूहरुसँगै घरमा आएर दोस्रोपटकको रात काटेँ । छोरीलाई सबै मिलेर फकाउँदैमा रात बित्यो ।

फेरि नयाँ खुसी भनुँ या चुनौती– म माइतीबाटै छोरीलाई च्याप्दै त्यही स्कुलमा जाने आउने क्रम जारी नै रह्यो, नयाँ स्कुल खोजिन । जस्तै अप्ठ्यारो परे पनि, जस्तै अवस्थामा पनि स्थापनाकालदेखि नै लागेको स्कुलमा काम गर्दै गरेँ ।

त्यतिबेलासम्म महिनाको तलब ९०० पुगेको थियो । बजारभाउ पनि ह्वात्तै बढेको थियो । धन्न आमासँगै बसेको भएर जसोतसो खर्च पुर्याउँदै अगाडि बढ्ने कोसिस गरिरहेँ । नहुनुभन्दा त्यति पैसाले पनि मलाई मद्दतै भयो । झन्डै सरोजको कुरा सुनेर ‘स्कुल छोड’भन्दा नछोडेको ! छोडेको भए के गर्थेँ होला ?

दिनभर स्कुलको काम, छोरीको जिम्मेवारी, घरधन्दासँगै पार्टीको काममा लागिरहेँ । झन्–झन् दुब्लाउँदै गएँ । मेरा विचार, स्वाभिमान, यथार्थ, बाध्यता, व्यवहार… आदिबीच टक्कर चलिरहन्थ्यो । यस्तैबेला चिनिँदारहेछन् मानिस पनि । एक–एकलाई स्पष्ट चिन्दै गएँ । मनकै बाकसमा सबलाई थन्क्याउँदै पनि गएँ …।

यता, १३ उपसुचकहरु मध्ये ३ कम्पनीमा वृद्धि भएको र ३ कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन । 
 

प्रतिक्रिया दिनुहोस्