Logo
Logo

सिरहाको मिर्चैया तानवग्रस्त, प्रहरीद्वारा २७ राउन्ड हवाईफायर



सिरहा । नगरपालिका घेराउ गर्न पुगेका स्थानीयवासी र प्रहरीबीच झडप हुँदा मिर्चैया बजार तनावग्रस्त बनेको छ । बस्न र व्यापार गर्न तत्काल व्यवस्था गरिनुपर्ने, घर भत्काउँदा भएको क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति दिइनुपर्ने, जग्गाको लालपुर्जा दिइनुपर्नेलगायत माग गर्दै स्थानीय व्यापारी बिहीबार नगरपालिका कार्यालय पुगेका थिए । सोक्रममा प्रहरीले रोकेपछि झडप हुँदा तनावग्रस्त भएको हो ।

प्रदर्शनकारीले आफूहरूले उठाएका विषयको जवाफ मेयर श्रवणकुमार यादवले दिनुपर्ने माग गर्दै नगरपालिका कार्यालय अगाडि प्रदर्शन गर्दै नगरपालिकाभित्र प्रवेश गर्न खोज्दा झडप भएको हाे । प्रहरीले स्थिति नियन्त्रणमा लिन २७ राउन्ड हवाईफायर, ११ सेल अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए ।

झडपका क्रममा पाँच प्रहरी घाइते भएका छन् । प्रदर्शनकारीको ढुंगा प्रहारबाट मेयर श्रवण यादव चढ्ने गाडीको सीसा फुटेको छ । प्रदर्शनकारीले प्रहरीले घर घरमा गएर कुटपिट गरेको आरोप लगाएको छ । घरभित्र प्रवेश गरी कुटपिट गर्दा संगीताकुमारी साह घाइते भएको उनका पति अञ्जय साहले बताए । कुटपिटबाट घाइते संगीताको कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पतालमा उपचार भइरहेको उनले बताए ।

प्रदर्शनका क्रममा प्रहरीको कुटाइबाट दिनेशकुमार यादव घाइते भएका छन् । टाउकोमा चोट लागेका यादवको स्थानीय मंगलम् अस्पतालमा उपचार भइरहेको छ ।

गत २७ चैतदेखि संघर्षमा उत्रिएका व्यापारीले बस्न र व्यापार गर्न तत्काल व्यवस्था गरिनुपर्ने, घर भत्काउँदा भएको क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति दिइनुपर्ने, जग्गाको लालपुर्जा दिइनुपर्ने, छानबिन गरी न्याय दिइनुपर्नेलगायत माग गर्दै दिनहुँ प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्