झापा। कोशी प्रदेशको नामाकरणको विषयलाई लिएर पुर्वमा पहिचान पक्षधरले आन्दोलन गरिरहेका अवस्थामा घुम्न निस्केका एमाले अध्यक्ष केपी ओलीले आफूलाई आक्रमण गर्न खोजिएको र त्यसमा माधब नेपालका कार्यकर्ताको संलग्नता रहेको भन्ने भनाइप्रति नेकपा एकीकृत समाजवादी, झापा कमिटीले आपत्ति जनाएको छ ।

शुक्रबार एकीकृत समाजवादी झापा कमिटी विज्ञप्ति जारी गर्दै ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएको हो । ‘अहिले कोशी प्रदेशको नामाकरणको विषयलाई लिएर पुर्वमा पहिचानको मुद्दामा आवाज उठाइरहेको समयमा घुम्न निस्केका नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफुलाई आक्रमण गर्न खोजिएको र त्यसमा माधब नेपालका कार्यकर्ताको संलग्नता रहेको भन्ने भनाई आपत्तिजनक छ’ झापा जिल्ला कमिटी संयोजक बेदराज रेग्मीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पहिचानका लागि आन्दोलनरत पक्षले उठाएको आवाज र मागलाई उचित सम्बोधन गर्नुको साटो अनर्गल प्रचारबाजी गर्नु ओली जतिका नेतालाई नसुहाउने एकीकृत समाजवादीले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी पहिचानको मुद्दामा र अधिकारको विषयमा प्रष्ट छ । कुनै समस्या देखा पर्दा समाधानको उपाय खोज्नुको साटो पहिचानको विषयलाई विसयान्तर गर्ने, अरुलाई दोष थोपर्ने कदमबाहेक यो केही होइन । पहिचानको माग गर्नेलाई आतंककारीको संज्ञा दिनु राष्ट्रबिरोधीको लेप लगाउने केपी ओलीको गलत सोचको उपजको अभिव्यक्ति हो । तसर्थ, यस प्रकारका अनर्गल हल्ला नचलाउन र भ्रम नछर्न आग्रह गर्दै त्यस्ता कुराबाट सचेत रहन सबैमा अनुरोध गर्दछु ।’











