काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनल खेल वर्षाका कारण अवरुद्ध भएको छ । नेपाल र कुवेतबीच कीर्तिपुर खेलमैदानमा जारी खेल वर्षाका कारण स्थगित भएको हो । नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभर ब्याटिङ गरेपछि पानी परेर स्थगित गरिएको हो ।

खेल स्थगित हुनुअघि कुवेतले ६ विकेट गुमाएर ३७ रन बनाएको छ । नेपालका करण केसीले ५ विकेट लिए भने सोमपाल कामीले एक विकेट लिएका छन् । यसअघि नेपालले ब्याटिङ गर्दा पनि २३.२ ओभर ब्याटिङ गरेपछि खेल वर्षाका कारण स्थगित भएको थियो । त्यसपछि पानी पर्न छाडेपछि खेललाई ४२ ओभरमा घटाइएको थियो । अहिले काठमाडौं उपत्यकामा वर्षा भइरहेको छ ।











