Logo
Logo

महिला गोल्डकपको उपाधि नमोबुद्ध सप्तरीलाई


252
Shares

काठमाडौं । झापाको बिर्तामोडमा भएको प्रदेशस्तरीय महिला गोल्डकप फुटबलको उपाधि नमोबुद्ध युवा क्लब सप्तरीले उचालेको छ । शनिबार भएको फाइनल खेलमा आयोजक अल इन वान क्लबलाई टाइब्रेकरमा चार–दुई गोलअन्तरले पराजित गर्दै नमोबुद्ध सप्तरीले उपाधि उचालेको हो ।

निर्धारित ६० मिनेटको खेल एक–एक गोलको बराबरीमा टुङ्गिएपछि टाइब्रेकरमा सप्तरीका खेलाडीको पाँच प्रहारमध्ये चारवटा प्रहारले जाली चुमेको थियो । त्यस्तै आयोजकका खेलाडीले गरेको चारवटा प्रहारमध्ये दुई प्रहार विफल भएको थियो ।

प्रतियोगिताको विजेता सप्तरीले नगद रु दुई लाख दुई हजार पाएको छ भने उपविजेता आयोजकले एक लाख एक हजारमा चित्त बुझाएको छ ।

प्रतियोगितामा राष्ट्रिय महिला फुटबल टोलीका सदस्यसमेत रहेका आयोजकका खेलाडी सबिता रानामगर ‘प्लेयर्स अफ दी टुर्नामेन्ट’, सर्वाधिक गोलकर्ता सप्तरीका रजनी थोकर, उत्कृष्ट गोलरक्षक सप्तरीका पूजा थापा, बेस्ट मिडफिल्डर सप्तरीका रस्मि घिसिङ, बेस्ट डिफेन्स आयोजकका खुस्मा राई र बेस्ट स्टाइकर आयोजकका लक्ष्मी श्रेष्ठ घोषित भए । यस्तै सप्तरीका अरुण राई प्रतियोगिताको बेस्ट कोच घोषित भएका छन् ।

प्रतियोगिताका विजेता र उपविजेतालगायत खेलाडीलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी बोर्ड सदस्य नन्दा बस्याल, अखिल नेपाल फुटबल एशोसिएसन (एन्फा)का सदस्य सरला श्रेष्ठ, आयोजक ‘अल इन वान’ क्लबका अध्यक्ष कृष्णबाबु योञ्जन, बिर्तामोड–१० का वडाध्यक्ष दुर्योधन गुरुङलगायतले पुरस्कार वितरण गरे ।

प्रतिक्रिया दिनुहोस्