Logo
Logo

लुम्बिनीका मुख्यमन्त्री चौधरीले मंगलबार विश्वासको मत लिने



रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिने भएका छन् । विश्वासको मत प्रयोजनका लागि सभामुख तुलाराम घर्तीले मंगलबार बिहान ११ बजेका लागि प्रदेशसभा बैठक आहृवान गरेका छन् ।

लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ अनुसार प्रदेशसभामा विश्वासको मत लिनेसम्बन्धी पत्र दर्ता भएको ४८ घण्टापछि विश्वासको मत लिन सकिने व्यवस्था छ ।

मुख्यमन्त्री चौधरीले प्रदेशसभा सचिवालयमा आइतबार बिहान १० बजे पत्र दर्ता गराएको र मंगलबारका लागि विश्वासको मत लिने तयारी गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले बताए । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले मुख्यमन्त्रीले विश्वासको मत लिने गरी मंगलबार ११ बजे प्रदेशसभाको बैठक बोलाइएको बताएका छन् ।

दाङको निर्वाचन क्षेत्र–३ (१) बाट निर्वाचित चौधरी बिहीबार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिएपछि नियुक्त मन्त्रीको जिम्मेवारी र अन्य मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने मुख्यमन्त्री चौधरीको तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्