काठमाडौं । केही समयअघि कतारमा भएको फिफा विश्वकपको उपाधि जितेपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी ट्रफीसँगै सुतेका थिए ।
फिफा विश्वकपको उपाधि उचालेको भोलिपल्ट मेस्सीले ट्रफीसँगै सुतेको फोटो सामाजिक सञ्जालमा सेयर गरेका थिए । उक्त फोटो भाइरल भएको थियो ।
एसीसी प्रिमियर कप उपाधि जितेको नेपाली खेलाडीहरूले मेस्सीकै स्टाइलमा ट्रफीसँग फोटो खिचेका छन् । त्यो पनि दिउँसै ।

कप्तान रोहित पौडेल, सोमपाल कामी र करन केसीले ट्रफीसँगै सुतेर खिचेको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् । उनीहरूले ट्रफीसहित ओछ्यानमा सुतिरहेको तस्विर सामाजिक सञ्जालमा राखेका छन् । यी फोटोलाई नेपाली क्रिकेट समर्थकहरूले निकै रुचाएका छन् ।
यसै वर्ष पाकिस्तानमा हुने एसिया कपमा नेपाल आजै छनोट भएको थियो । आज भएको फाइनल खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको थियो ।
ऐतिहासिक जितमा नेपाली क्रिकेट टोलीलाई बधाई दिने क्रम जारी रहेको छ । नेपाली खेलाडीहरूको खुसियाली मनाउने क्रम पनि जारी रहेको छ ।











