Logo
Logo

नेपालको सपनामाथि मडारिएको भारत-पाकिस्तान विवाद


1.8k
Shares

काठमाडौं । एसीसी प्रिमियर कपमा च्याम्पियन बनेसँगै नेपाल २१ वर्षपछि एसिया कप छनौटमा पुगेको छ ।

मंगलबार घरेलु मैदानमा युएईलाई ७ विकेटले हराउँदै नेपालले लामो समयको प्रतिक्षापछि दोस्रोपटक एसिया कपमा स्थान बनाउन सफल भएको हो ।

नेपालले एसिया कप खेल्ने सपना देख्दै गर्दा यसै वर्ष पाकिस्तानमा हुने तय भएको प्रतियोगिता भने नहुँने सम्भावना बढ्दै भएकाे छ । यसअघि नेपालले सन् २००२ मा एसिया कपमा यात्रा गरेको थियो । तर, त्यसबेला भारत–पाकिस्तानबीचको आन्तरिक द्वन्द्वका कारण नेपाल एसिया कपमा सहभागी हुनबाट वञ्चित भएको थियो ।

भारत–पाकिस्तानबीच द्धन्द्ध भएपछि प्रतियोगिता नै रद्द गरिएको थियो । त्यसपछि भने नेपालले एसिया कपमा स्थान बनाउन सकेको थिएन ।

यसपटक पाकिस्तानले आयोजना गर्ने एसिया कप सेप्टेम्बरमा हुँदैछ । पछिल्लो दुई महिनामा जादुमय प्रदर्शन गरेर आगामी चार वर्षका लागि एक दिवसीय मान्यता जोगाएको नेपालले विश्व क्रिकेटका बलिया टोली भारत र पाकिस्तानसँग खेल्नेछ । तर, यसपटक पनि पाकिस्तानमा हुने प्रतियोगितामा भारतले नजाने घोषणा गरिसकेको छ ।

कारण हो– भारत र पाकिस्तान बिचको आन्तरिक किचलो । यदि भारतले पाकिस्तान जान नमाने एसीसीले आयोजनास्थल नै परिवर्तन गर्नुपर्ने हुन सक्छ । तर, पूरै प्रतियोगिता अर्कै देशमा गर्ने कुरामा पीसीबी तयार छैन ।

यता श्रीलंका र युएईले आफ्नो देशमा एसिया कप ‘होस्ट’ गर्ने इच्छा देखाएका छन् । तर, अहिले नै यसको समाधान नगरिए २०२५ मा च्याम्पियन्स ट्रफिमा पनि यही समस्या दोहोरिने पीसीबीको दाबी छ ।

त्यसैले भारत र पाकबीचको समस्या समाधान गरेर जानुपर्ने भन्दै पीसीबीले एसीसी बैठकमा ‘हाइब्रिड मोडल’ प्रस्तुत गरेको थियो । जसमा अन्य टोलीले पाकिस्तानमा खेल्नेछन् भने भारतीय टोलीले अर्को देशमा खेल्नेछन् ।

भारत र पाकिस्तानबीचको विवादले प्रतियोगिता नै रोकिन सक्ने सम्भावना बढ्दै गएपछि एसीसीले एसिया कपको स्थल टुंगो लगाउन अन्य सहभागी देशको सुझाव संकलन गर्ने तयारी गरिरहेको छ ।

अहिले फेरि नेपाल एसिया कपमा छनोट भइसकेको छ । र, भारत र पाकिस्तानसँगैको समूहमा छ । तर, दुई देशबीचको मनमुटावले फेरि २१ वर्षअघि कै इतिहास दोहोरिने त होइन ? भन्ने प्रश्न सर्वत्र उठ्न थालेका छन् । तर यदि कुनै कारणवश उक्त प्रतियोगिता नरोकिएमा भने नेपालले पहिलो पटक एसिया कप खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्