काठमाडौं । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले संविधानलाई सफल कार्यान्वयन गर्न चाहिने आवश्यक ऐनकानुनहरू अझै बनाउन बाँकी रहेको बताएका छन् ।

मन्त्री श्रेष्ठले अहिले पनि पञ्चायतकालीन ऐनकानुनको भरमा काम गर्नुपरेको भन्दै बनाएका ऐनकानुनहरू पनि कार्यान्वयन नगर्नाले प्रदेश सरकार फितलो बन्न गएको बताए ।
‘हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान त बनायौं तर त्यस संविधानलाई सफल कार्यान्वयन गर्न चाहिने आवश्यक ऐनकानुनहरू अझै जेजति बनाउनु पर्थ्यो त्यति बनाउन सकिरहेका छैनौं’, आइसिटी फाउण्डेशन नेपालद्वारा विहिबार आयोजित डिजिटल बागमती संवाद कार्यक्रममा उनले भने- ‘भएका ऐनकानुनहरू पनि समयानुकूल परिमार्जन गर्न सकिरहेका छैनौं । आज पनि हामीले कतिपय पञ्चायतकालीन ऐनकानुनको भरमा काम गरिरहेका छौँ । जुन ऐनकानुनले सङ्घीयता, लोकतन्त्र, गणतन्त्र केहीलाई पनि चिन्दैन ।’
प्रदेश सरकार फितलो बन्दा जनतामा प्रदेशप्रति नै प्रश्न उठ्न थालेको उनको भनाई छ । संघीय सरकारलाई उनले आवश्यक नयाँ ऐनकानुनहरू फटाफट निर्माण गरेर संविधानको सफल कार्यान्वयन गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह समेत गरे । ‘अधिकारलाई लिएर संघीय सरकारले जति ऐनकानुनहरू बनाउन सक्नुपर्थ्यो त्यति बनाउन नसक्नाले र बनाएका ऐनकानुनहरू पनि कार्यान्वयन नगर्नाले खासगरी प्रदेश सरकार फितलो बन्न गएको छ । जसको कारण बिस्तारै जनतामा प्रदेशप्रति नै प्रश्न जन्मिन थालेको छ’, उनले भने, ‘संघीय सरकारप्रति विशेष आग्रह छ- विगतका ऐनकानुनहरू समयानुकूल संशोधन गर्नुस् र आवश्यक नयाँ ऐनकानुनहरू फटाफट निर्माण गरेर संविधानको सफल कार्यान्वयन गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुस् ।’

प्रविधिको प्रयोगविना समृद्धि सम्भव नभएको भन्दै मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकार बिज्ञान र सूचना तथा सञ्चार प्रविधिमैत्री ऐनकानुन बनाउन, बनेकालाई समयानुकूल परिमार्जन गर्न र कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताए ।
‘अझै पनि हाम्रो बागमती प्रदेशका बिकट क्षेत्रहरुमा इन्टरनेट र प्रविधिको पहुँच पुगेको छैन । हाम्रा दैनिक जीवन र सरकारी कामकाजमा कम्प्युटर तथा डिजिटल प्रविधि प्रयोग गर्न इन्टरनेट कनेक्टिभिटीको अपरिहार्यता बुझेका छौँ’, मन्त्री श्रेष्ठले भने, ‘हाम्रा विद्यार्थीहरू पढ्नको लागि घन्टौँ हिड्नुपर्ने र महिनौंसम्म पुस्तक पढ्न नपाउने अवस्था छ । यस्तो अवस्थामा सुधार ल्याउन बागमती प्रदेश सरकार व्यवस्थित योजना बनाएर अघि बढ्नेछ ।’
यस्तै मन्त्री श्रेष्ठले जनतालाई सूचनाको सहज पहुँचको लागि सूचना बैंक बनाएको बताए । त्यसलाई अझ विस्तार र थप व्यवस्थित बनाउने योजनामा रहेको भन्दै यातायातमा प्रविधिको प्रयोगमार्फत सर्बसाधारणलाई सहज सेवा उपलब्ध गराउने तयारी रहेको बताए । प्रदेशको डिजिटल रुपान्तरणको प्रयास र अभ्यासलाई सहयोग पुग्ने उनको विश्वास छ ।











