विराटनगर । किरात समुदायले कोशी प्रदेश नामकरणको विरोध गर्दै विराटनगरमा उभौली पर्व मनाएका छन् । प्रकृति तथा भूमि पुजेर मनाइने यस पर्व देशभरका किरात समुदायले शुक्रबार मनाएका हुन् । यस वर्ष भने पर्वसँगै विराटनगरमा बसोबास गर्ने राई, लिम्बू र याख्खा सम्दायले कोशी प्रदेश नामकरणको विरोध गर्दै सडकमै उभौली मनाएका छन् ।

किराँत याक्थुङ चुम्लुङ, किराँत राई यायोख्खा र याख्खा छुम्माको संयुक्त आयोजनामा शुक्रबार विराटनगरस्थित रोडशेष चोकमा सांस्कृतिक आन्दोलन गर्दै उभौली पर्व मनाए । फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै राई, लिम्बू, याख्खालगायत पहिचान पक्षधर कोशी प्रदेशको नाम फेर्नुपर्ने माग आन्दोलन गर्दै आएका छन् ।

विगतका वर्षमा किरात राई यायोख्खा, किरात याक्थुङ चुम्लुङ र याख्खा छुम्माले आ–आफ्नो आस्थाका कुल देवतालाई पूजा आराधना गरेर मनाउने भएपनि यसपाली भने प्रदेशको नाम कोशी खारेजी तथा पहिचानको आधारमा प्रदेशको नामांकन हुनुपर्ने मागसहित सडकमा उभौली पर्व मनाउन बाध्य बनेको आयोजकले जनाएको छ ।












