Logo
Logo
टिप्पणी

लुटको दुई टुक्रा रोटी खान पाएका दासहरू



अहिलेको राजनीतिक स्थिति विश्लेषण गर्दा हजारौँ शब्द लाग्न सक्छ, अर्थ्याउन । तर, त्यही कुरा कविताको केही हरफले अझ प्रस्टसँग बताउँन सक्छ । त्यसैले आजको छलफल कविताका यी हरफहरूबाट सुरू गरौँ–

यस्तै दासहरू पालेर
राजनीतिको फेरोभित्र
भ्रष्टाचारको मूल फुटेको छ
ढल फुटे सरह
सर्वत्र गन्हाएको छ
गन्ध नसहनेको लागि
यो गन्ध आउँदैन
भ्रष्टाचारको प्रमाण
भित्ता भित्तामा लेखिएको छ
तर त्यो देखिँदैन
उल्टो प्रश्न गरिन्छ
खै प्रमाण ?
प्रमाण हरियो मात्र देखिन्छ
त्यति बेला दासहरू पनि रुन्छन्

‘सिच्युएसन एनालिसिस’ अर्थात् स्थिति विश्लेषण विस्तृत रूपमा गर्न यहाँ स्पेस पुग्दैन । संक्षिप्त छलफल मात्र गर्न सकिन्छ । अहिले मुलुक तातिएको गर्मी चढेर होइन, नेपालीलाई भुटानी शरणार्थी बनाएको प्रकरणले हो ।

हाम्रो संसद् तातिएको छ तर, त्यो केही क्षणमै चिसो भयो भने पनि कुनै आश्चर्य मान्नु पर्ने छैन । अचाक्ली भएको भ्रष्टाचारको कुरा यसपालि समुद्रको खतरनाक उच्च ज्वारभाटा जस्तो गरी उठिरहेको छ ।

सत्ता व्यापार गरिरहेका दलहरूको जहाज डुब्न पनि सक्छन्, जसरी १७औँ शताब्दीतिर लुट्न हिँडेका जहाजहरू डुबेका थिए । तर, अहिलेको स्थिति भ्रष्टाचारको होइन, त्यो भन्दा फरक हो । के हो त्यो ? अलिकति हेरौँ ।

भ्रष्टाचार सधैँ छ समाजमा । के हिजो थिएन र ? निश्चित रूपमा थियो । नेपालको सन्दर्भमा हेर्दा नेपाल बनेदेखि नै भ्रष्टाचार छ । ३२ वर्षका जंगबहादुरले १८५० मा बेलायतमा ‘लउरा बेल’ नाम गरेकी एक सुन्दरीसँग रात बिताउनको लागि २ लाख ५० हजार पाउन्ड खर्च गरेका थिए । त्यो राजकीय सोख थियो । अहिले पनि त्यसकै लयको परिष्कृत सोख गर्नेहरू भएर जन्मन थाले ।

हिजो हुकुम थियो । तर अहिले त गणतन्त्र छ, जहाँ जनतालाई सार्वभौम मानिन्छ । प्रजातन्त्रको सुरुवातपछि नेपालमा भ्रष्टाचार भनेर जे बुझिन्थ्यो त्यो साधारण थियो । कर्मचारीले मसलन्दको बजेटबाट केही पैसा निकाल्नु वा दुइटा डट पेन घर लैजानु सामान्य भ्रष्टाचार थियो । अहिले त करोडौंका गाडी नै लैजान थाले । नपत्याए विद्युत् प्राधिकरणलाई सोधे हुन्छ, जसका ४० भन्दा बढी गाडीहरू बेपत्ता छन् ।

राजनीति नै भ्रष्टाचारमा अड्न थाल्यो । त्यसैले व्यापारिक कमिसनमा भाग खाएर नपुग्ने भयो । परियोजनाको लागत जति छ त्यसलाई नै भेरिएसनको नाममा डबल गर्ने र खाने । ठेकेदारलाई कागजात मिलाएर विलम्ब शुल्क या यसै गरी कागज मिलाएर अपार बढी भुक्तानी दिलाएर खाने । यसरी खाएको त जुन सुकै फाइल खोज्यो भने पनि पाइन्छ ।

जग्गाको बजारभाउभन्दा बढाएर जग्गाधनीलाई भुक्तानी दिलाएर त्यो बढाएको जति खाने । यस्तो एउटा उदाहरण लिने हो गोपाल खड्कालाई सोधे हुन्छ, जसले यही गरेर नेता पोसेर रिझाए नेपाल आयल निगमको हाकिम हुँदा । तर अहिले उनी भ्रष्टाचारमा परेका छन् । हतकडी लाग्दैछ ।

कानुन नै बदलेर कसरी खाने भन्ने सबभन्दा बढी ज्ञान भएका मान्छे हुन्, केपी ओली । यसको उदाहरण राजा वीरेन्द्रको नेपाल ट्रस्टमा ल्याएको सम्पत्ति कानुन नै बदलेर यतिलाई पोसेर भाङभुजा लगाइदिए । सरकारी जग्गाको नक्कली मोही खडा गरेर खाएको उदाहरण त ललिता निवासको जग्गा नै छ । सरकारी जग्गा लिजमा सिन्कीको भाउमा दिएर त कुन चाहिँ प्रजातान्त्रिक प्रधानमन्त्रीले खाएको छैन होला र ?

यहाँनिर आएपछि नेपालको अर्थतन्त्रको संरचनाबारे अलिकति कुरा गर्नु पर्ने हो । त्यसबाट अरू धेरै कुरा प्रस्ट हुन्थ्यो, अहिलेको यो संकटग्रस्त अर्थतन्त्र कसरी बन्यो भन्ने बारेमा । तर त्यो वर्णन गर्न अहिले सम्भव छैन । किनकि, यो पटकको मेरो लेख्ने स्पेस करिब सकिनै लागेको छ ।

अहिले मुलुक किन तातेको छ ? ‘सर्वदलीय भ्रष्टाचारलाई नङ्ग्याउन म संसद्मा नांगिएको हुँ’ भनेर विवादित छवि भएका स्वतन्त्र संसद् अमरेशकुमार सिंह प्रतिनिधिसभामा नांगिएकोले होइन । न अर्का फरार भनिएका सांसद् टोपबहादुरलाई राष्ट्रियसभामा केपी ओलीको ‘झड्केलो छोरो’ भनेको कारणबाट उठेको हंगामाले हो ।

निश्चित रुपमा यसपटक मुलुक तातेको भ्रष्टाचारभन्दा परको कुराले हो । के हो त्यो ? एउटा सम्मिलन हो यो । पहिलो प्रवाहमा छन् फड्का मार्ने, छलाङ लगाउने, रूपान्तरण गर्ने कुराहरू छिपाको घ्याम्पो फुटेको सरह भएका छन् । दोस्रो प्रवाह बनेको छ, राज्य शक्तिलाई नै प्रयोग गर्ने गैरकानुनी काममा । यस्तो सम्मिलनले गर्दा नै वैकल्पिक शक्तिको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय सम्भव भयो ।

अहिले तातेको नक्कली भुटानी शरणार्थी भ्रष्टाचारभन्दा पर पुग्यो । होइन, ठाडै आपराधिक काम भयो । सानो उदाहरण– राज्यको काम गुन्डागर्दी रोक्ने हो । राज्यले नै गुन्डागर्दी गर्यो भने के हुन्छ ? अहिले त्यही भएको छ, एउटा सम्मिलन बनेर ।

यो लुट मात्र होइन । राज्यले गरेको मानव तस्करीको हो । तीन पार्टीका शीर्ष मिलेर नै चाँजोपाँजो गरेको भए यति तातिँदैन थियो जसरी पाँच अर्ब खाए वाइडबडी हवाईजहाज खरिदमा । एक अर्ब काटेपछि बालुवाटार नपुगीकन आजको नेपालमा डिल हुन सम्भव छैन । हालको यो नक्कली भुटानी शरणार्थीले एक अर्ब रकम काटेर बालुवाटार त पुग्यो तर दुई दलको मात्र संलग्नता भयो ।

यसरी केवल दुई दलको मात्र संलग्नता र ठाडै आपराधिक काम भएकोले मुलुक तातेको हो । यस्तो अवस्थामा मुलुक रूपान्तरणको नाममा लुटको दुई टुक्रा रोटी खान पाएका दासहरू रुन्छन् ।

प्रतिक्रिया दिनुहोस्