Logo
Logo

पाथीभरा तीर्थयात्रीलाई तोकिएकोभन्दा बढी सवारी भाडा लिन नपाइने


रासस


ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर आउने दर्शनार्थी एवं पर्यटकलाई तोकिएकोभन्दा बढी सवारी भाडा लिन नपाइने भएको छ । दर्शनार्थीका लागि गाडी तथा यात्रा व्यवस्थापनका सम्बन्धमा यसअघि भएको निर्णय कडाइका साथ कार्यान्वयन गर्न सरोकारवालाले पुनः ध्यानाकर्षण गराएका छन् ।

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बसेको सर्वपक्षीय बैठकले पाथीभरा आउने दर्शनार्थीको सहजताका लागि यसअघि भएका निर्णय पूर्णरुपमा कार्यान्वयन गर्ने, गराउनेसहितका केही थप निर्णय गरेको छ ।

अघिल्लो सर्वपक्षीय बैठकमा सदरमुकाम फुङ्लिङदेखि पाथीभरा क्षेत्रमा पर्ने काफ्लेपाटीसम्मको यातायात भाडा प्रतिव्यक्ति रु चार सयभन्दा बढी लिन नपाइने निर्णय गरेको थियो । तर पछिल्ला दिनमा भाडा बढी लिने गरेको भन्दै गुनासो आएपछि उक्त निर्णय कडाइका साथ कार्यान्वयन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पाथीभरा मन्दिरमा खटिएका पुजारी, कर्मचारी, सुरक्षाकर्मी र स्वयंसेवकले दर्शनार्थीलाई लाइनमा व्यवस्थित गरी पूजाआजामा सहयोग पु¥याउने, शिष्ट र मर्यादित व्यवहार गर्नेसमेत निर्णय भएको छ । सुकेटार–काफ्लेपाटी सडकखण्ड स्तरोन्नति गर्ने कार्य सुस्त गतिमा भएकाले सम्बन्धित निर्माण कम्पनीलाई चाँडो गर्न ध्यानाकर्षण गराउने पनि निर्णय भएको छ ।

प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङको अध्यक्षतामा बसेको बैठकमा प्रतिनिधिसभा सदस्य लीलादेवी बोखिम र फुङ्लिङ नगरपालिका प्रमुख अमीर मादेनसमेत सहभागी थिए । बैठकमा उपस्थित सरोकारवाला सङ्घसंस्थाका प्रतिनिधिले ताप्लेजुङमा आउने पर्यटकलाई सहजता सिर्जना गर्न आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्