Logo
Logo

मिसन पत्रकारितालाई फर्केर हेर्दा


- माथवरसिंह बस्नेत


  • माथवरसिंह बस्नेत

मेरे सिनेमें नहीं, तेरे सिनेमैं सही,

हो कहीँ भी आग, जलनी चाहिये ।

– गजलकार दुष्यन्तकुमार

मिसन भनेकै कुनै निश्चित लक्ष वा उद्देश्य प्राप्त गर्न चलाइने अभियान हो । त्यसको नामले काम र कामले अवस्था अवस्थितिका बारेमा पर्याप्त प्रकाश पार्दछ । नेपालमा सातसालको क्रान्तिले स्थापित गरेको प्रजातन्त्रले विचार र प्रेस स्वतन्त्रता प्रदान गरेको थियो । २०१७ साल पुस १ गते राजा महेन्द्रबाट प्रजातन्त्रको अपहरण भयो । साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रतिबन्ध लगाइयो । त्यसका विरुद्धको आन्दोलनका रुपमा मिसन पत्रकारिताको युगको शिलान्याश भएको थियो । एकातिर प्रतिवन्धित नेपाली कांग्रेसको नेतृत्वमा प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलन चलिरहेको थियो भने, अर्कोतिर वाक् तथा प्रकाशन स्वतन्त्रताका निम्ति अभियान पनि समानान्तर रुपमा चलिरहेको थियो । वास्तवमा ती दुवै अभियान र आन्दोलन एकै सिक्काका दुई पाटा थिए, त्यसैले एक अर्काका पूरक पनि थिए । संक्षेपमा भन्नुपर्दा मिसन पत्रकारिता, नेपालको प्रजातान्त्रिक आन्दोलनकै अभिन्न अंग थियो ।

माथवरसिंह बस्नेत

यत्ति भनिसकेपछि ‘पुनर्जागरण’ किन बन्द भयो ? त्यसमाथि मैले थप प्रकाश पारिरहन आवश्यक परेन । आदर्श र मूल्य–मान्यताका कुरा गर्न जति सजिलो छ, त्यसको अनुसरण गर्न र त्यसमाथि अविचलित भएर टिकिरहन कति कठिन छ, त्यो अनुभव आर्जन गरेका महानुभावहरु नेपाली धर्तीका लोपोन्मुख जाति भइसकेकाले अब खोज्न झन् मुस्किल छ । मैले आफ्नो पत्रिका बन्द गरेर २०४६ सालको संयुक्त आन्दोलनका सहयात्री– दृष्टिलाई किन सघाउन पुगें, त्यसको कारण र मर्म भारतका विख्यात् गजलकार दुष्यन्तकुमारका माथि उद्घृत गरिएका पंक्तिले व्यक्त गर्नेछन् ।

नेपालमा वामपन्थी आन्दोलनको वैचारिक उभार पनि त्यसै बेलादेखि मुखर बनेको हो । कम्युनिष्ट आन्दोलन, तिनताका विश्वव्यापी रुपमा दुई खेमामा विभाजित थियो– सोभियत संघ र चिनियाँ मोडेलमा । माउत्से तुङका रेडबुक बोक्ने र घोक्नेहरु सोभियत संघ समर्थक रसियन कम्युनिष्टलाई संशोधनवादी, प्रतिक्रियावादी तथा नवसाम्राज्यवादी भनेर आलोचना गर्थे र क्रान्तिकारी कम्युनिष्ट भनेका माओ समर्थक मात्र हुन् भन्ने विश्वास पाल्थे । नेपालका कम्युनिष्टमा विभाजन र विखण्डनको शृंखला चलेको पनि त्यसै बेलादेखि हो । चीनको साँस्कृतिक क्रान्तिका नेपाली समर्थकहरु र सोभियत संघ समर्थक कम्युनिष्टका बीचमा झण्डै पानी बारावारको स्थिति उत्पन्न भइसकेको थियो । तर, नेपालका प्रजातन्त्रवादी अर्थात् कांग्रेसको विरोध गर्न भने दुवैथरि कम्युनिष्ट एक हुन्थे ।

कांग्रेस र कम्युनिष्टहरुका बीचको सहकार्य र सहयात्राको जम्काभेट भएको २०४२ को सत्याग्रहबाट हो । त्यो सत्याग्रह, बीपी कोइरालाको निधनपछि कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहको नेतृत्व र कम्युनिष्टहरुसंग कार्यगत एकताको उनको अवधारणाको व्यवहारिक प्रयोगबाट प्रारम्भ भएको हो । वास्तवमा पंचायतकालमा कांग्रेस र कम्युनिष्टका बीचमा तिक्तता यति बढी सकेको थियो कि उनीहरुमा सहकार्य र सहयात्रा सहज असंभव लाग्थ्यो । बीपी कोइरालाले आफ्नो जीवनकालमा मात्र होइन, भविष्यमा पनि त्यस्तो सहकार्य नगर्न सचेत गराएका थिए । त्यत्ति मात्र होइन, उनले आफ्नो जीवनको उत्तरार्धकालमा आफ्ना उत्तराधिकारीहरुलाई जुन उपदेश छाडेर गएका थिए, त्यसमा पनि कम्युनिष्टसंग कुनै हालतमा एलाइन्स नगर्नु भनेका थिए । त्यही कारण गिरिजापन्थी कांग्रेसले २०४२ को सत्याग्रहको मात्र होइन, २०४६ को जनआन्दोलनको पनि अन्तिम अवस्थासम्म विरोध गरेका थिए । कम्युनिष्टसंग मिलेर आन्दोलन गर्नु भनेको बीपी कोइरालाको मेलमिलाप नीतिविरोधी भासमा कांग्रेसलाई फसाउनु हो भन्ने उनीहरुको अडान थियो । उनीहरुको त्यस्तो अडान र विरोधका बावजूद सत्याग्रह भयो, अन्त्यमा उनीहरुले पनि भाग लिनै प¥यो र लिए । यद्यपि, शृंखलावद्ध बम विस्फोटका घटनाले त्यो सत्याग्रह विथोलियो र बीचैमा स्थगित गर्नुप¥यो, तथापि २०४६ सालमा कांग्रेस र कम्युनिष्ट मिलेर जुन आन्दोलन भयो, त्यसको मजबूत जग बसाल्ने काम त्यसै बेला भएको हो । त्यसैले पनि त्यो सत्याग्रहलाई भविष्यमा कांग्रेस र कम्युनिष्टको सहयात्रामा हुने ऐतिहासिक जनआन्दोलनको पूर्वाभ्यास मानिएको थियो । नेपालको राजनीतिक इतिहासमा युगान्तकारी परिवर्तन ल्याउने त्यो ऐतिहासिक आन्दोलनको पृष्ठभूमि तयार पार्ने आधा काम भने मिसन पत्रकारिताका मूर्धन्य पत्रकारहरुले गरेका थिए ।

सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा भएको त्यही संयुक्त जनआन्दोलनले ३० वर्ष लामो निर्दलीय तथा निरंकुश पंचायत व्यवस्थाको अन्त्य र संसदीय प्रजातन्त्रको पुनस्र्थापना गरेको हो । त्यसपछि २०४७ सालमा कांग्रेस, वाममोर्चा र राजाको संयुक्त प्रयासबाट जुन संविधान बन्यो, त्यसले प्रेस स्वतन्त्रताका विश्वव्यापी मान्यताका सम्पूर्ण शर्तको पालना गर्ने ग्यारेन्टी गरेकाले मिसन पत्रकारिताको औचित्य स्वतः समाप्त हुन पुगेको थियो । तर केही पुरानो ह्याङओभरका कारण, केहीचाहिँ परिवर्तन पचाउन समय लाग्ने भएकाले, अझ केही संक्रमणकालीन अस्तव्यस्तताले र बाँकी धमिलो पानीमा माछा मार्न सिपालु तत्वले पानी धमिलो पारिदिन थालेकाले राजनीतिक स्थिरताको बदला अस्थिरताले निरन्तरता पाउन थाल्यो । त्यस्तो अवस्थाले मिसन पत्रकारिताको उपादेयताको अन्त्य हुनु त कता हो कता, झन् बढ्न पो थाल्यो । त्यही अन्योलग्रस्त अवस्थामा व्यावसायिक पत्रिकाका नाममा निजी क्षेत्रको लगानी आउन थाल्यो । अनि, ठूला देवताका अगाडि सानो देवता नैवेद्य हुन थाले । संचारका साधन र प्रविधिमा आएको क्रान्ति र नेपालले अपनाएको खुलापनले गर्दा निजी क्षेत्रको पिठ्युँमा सवार भएर विदेशी लगानी पनि भित्रिनथाल्यो । छापा, रेडियो (एफएम) र टेलिभिजन सबैतिर उनीहरुकै चकचकि चल्नथालेपछि संघर्षकालमा जन्मेका र थोरै लगानीबाट चलेका मिशन पत्रिका बन्द हुने नै भए । प्रजातन्त्र र प्रेस स्वतन्त्रताका निम्ति लामो लडाई लडेका र त्यस क्रममा अनेक प्रकारका यातना झेलेका त्यस अवधिका पत्रकारहरु न व्यवसायिक बन्न सके, न व्यवसायीसंग मिलेर जागिरे हुन सके । न पत्रिका जोगाउन नेताहरुको दैलो चाहार्न सके । न कुनै दूतावासका ढोका ढकढकाउन सके, अनि तिनले पत्रिका बन्द नगरेर के गरुन् ?

यथार्थमा त्यो अवस्था, परिवर्तनको नितान्त स्वभाविक परिणाम थियो । मिसन पत्रकारिताको व्यवसायिक पत्रकारितामा संक्रमणहुँदा केही काल, त्यसले निरन्तरता पाए पनि त्यसको आयु लामो हुने संभावना थिएन र छैन पनि । हाम्रो राष्ट्रिय सन्दर्भमा कांग्रेस र कम्युनिष्ट नै मिसन पत्रकारिताका इन्जिन थिए । ती दुवै दल परस्परविरोधी विचारलाई प्रतिनिधित्व गर्ने दल हुन् । प्रजातन्त्रवादी कम्युनिष्ट हुन सक्तैनन् र कम्युनिष्ट कुनै पनि हालतमा प्रजातन्त्रवादी हुँदैनन् । कम्युनिष्ट पनि, प्रजातन्त्रवादी पनि हुनु भनेको चरम पाखण्डपन हो । नेपालका कम्युनिष्टहरु तसर्थ पाखण्डका उम्दा उदाहरण हुन् । प्रजातन्त्र भनेको उदार तथा सबै अटाउने विचार र व्यवस्था हो, त्यही कारण त्यसमा कम्युनिष्ट पनि अटाउँछन् तर, कम्युनिष्ट व्यवस्थामा प्रजातन्त्रवादी अटाउँदैनन् । त्यसो हुन्थ्यो भने चीनमा पनि विरोधीको अस्तित्व हुन्थ्यो र सबैले समान अवसर प्राप्त गरेको प्रमाणित गर्न चाहिने स्वतन्त्र र निस्पक्ष निर्वाचन हुन्थ्यो । त्यही कारण प्रजातन्त्रलाई जोगाउनु पर्ने भनेकै सर्वहारा वर्गको तानाशाहीका नाममा चल्ने कम्युनिष्ट पार्टीका नेताहरुको अधिनायकवादबाट हो भन्ने बीपी कोइरालाको स्कूलिङबाट परिचालित कांग्रेसले स्वदेशी होस् कि विदेशी होस्, निजी क्षेत्रको लगानी भनेपछि हुरुक्क हुने र त्यसले ल्याउने बिकृति र विसंगतिप्रति मज्जाले आँखा चिम्लिदिने गरेकाले ठूलो लक्ष बोकेका साना आकारका मिसन पत्रिका, मिसनबाट मात्र होइन, बजारबाट पनि ‘मिसिङ’ हुनथालेका हुन् । ठूलो लगानीका निजी क्षेत्रका मिडियाले आफ्नो व्यवसायिक हितको रक्षा गर्न पनि प्रेस स्वतन्त्रताका पक्षमा खडा हुनै पर्छ र त्यसमाथि हुने प्रहारको सामना गर्नै पर्छ । त्यही निष्कर्षमा देश र हाम्रा कर्णाधारहरु पुगिकेको देख्दादेख्दै त्यस्तो वैश्विक अवधारणामा बढेको यात्रा, मिसनका नाममा किन बिथोल्नु ? बरु, मुख सिएर बस्नु !

यत्ति भनिसकेपछि ‘पुनर्जागरण’ किन बन्द भयो ? त्यसमाथि मैले थप प्रकाश पारिरहन आवश्यक परेन । आदर्श र मूल्य–मान्यताका कुरा गर्न जति सजिलो छ, त्यसको अनुसरण गर्न र त्यसमाथि अविचलित भएर टिकिरहन कति कठिन छ, त्यो अनुभव आर्जन गरेका महानुभावहरु नेपाली धर्तीका लोपोन्मुख जाति भइसकेकाले अब खोज्न झन् मुस्किल छ । मैले आफ्नो पत्रिका बन्द गरेर २०४६ सालको संयुक्त आन्दोलनका सहयात्री– दृष्टिलाई किन सघाउन पुगें, त्यसको कारण र मर्म भारतका विख्यात् गजलकार दुष्यन्तकुमारका माथि उद्घृत गरिएका पंक्तिले व्यक्त गर्नेछन् । जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको बिंड !

प्रतिक्रिया दिनुहोस्