Logo
Logo

‘लिभिङ टुगेदर’ले जन्माएको डरलाग्दो अवस्था


2.1k
Shares

पछिल्लो समय युवामाझ लोकप्रिय बन्दै गएको छ– लिभिङ टुगेदर । पश्चिमा मुलुकबाट सुरु भएको यो संस्कार नेपालमा पनि निकै मौलाउँदै गएको पाइन्छ । लिभिङ टुगेदरको अर्थ हो– अविवाहित पुरुष र महिला पतिपत्नी झैँ बस्नु ।

गाउँका युवा सबै शहर ओइरिएका छन् । अध्ययनका निम्ति होस् या रोजगारी, सबैको रोजाइ शहर नै हुन्छ । त्यसमा पनि मुख्य गन्तव्य बनेको छ– काठमाडौं, पोखरा, धरान, धनगढी, विराटनगर, नेपालगञ्जलगायत ।

गाउँगाउँसम्म सिंहदरबार पुगेको छ ! तर शिक्षा, स्वास्थ्य र रोजगारी पुगेको छैन । जसका कारण युवा शहर केन्द्रित भएका छन् । राम्रो पढ्ने र सफल बन्ने सपनाको भारी बोकेर शहर छिर्छन् ।

तर, शहरमा पनि भनेजस्तो सजिलो कहाँ छ र ! पैसा नभइ एक कदम हिँड्न सकिँदैन ! सास फेर्नै गाह्रो छ ! त्यसमाथि महँगी उस्तै । भन्नलाई त सपनाको सहर भनिन्छ, तर सपनाहरूको चिहानघारी हो, शहर । जहाँ दिनहुँ हजारौं सपनाले आत्महत्या गरिरहन्छ !

खर्च धान्न नसकेपछि सँगै बस्न थाल्छन् । कोही साथीसँग बस्छन् । कोही प्रेमीप्रेमिकासँग ‘लिभिङ टुगेदर’मा बस्छन् । कोही रहरले बस्छन् त कोही कहरले । कोही लुकिछिपी बस्छन्, कोही खुलेआम । रहरले होस् या कहरले लिभिङ टुगेदर बस्नेहरू रमाइरहेका हुन्छन् । किशोरकिशोरी समेत लिभिङ टुगेदरमा बस्ने गरेको पाइन्छ ।

कुनै महिलाको कुनै पुरुषसँग कुनैपनि बेला यौन सम्पर्क रहन सक्छ, यो सामान्य भइसक्यो । तर, हाम्रो समाजले विवाहअघि हुनेवाला श्रीमान/श्रीमतीको अनुहार देख्न थालेको धेरै भएको छैन । एकैचोटी पश्चिमा संस्कार कहाँ पच्थ्यो र ! कुनै केटा र केटी सँगै बसेको देख्दा पनि जिब्रो टोक्छन् । फलाना त त्योसँग सल्किएछन् भनेर हुइयाँ पिटिन्छ ।

आफ्ना सन्तान लिभिङ टुगेदर बसेको थाहा पाउँदा गाउँका बुबाआमाले जिब्रो नटोक्ने कुरै भएन । यस्ता सम्बन्धलाई समाजले पचाउँदै पचाउँदैन । शिक्षित युवाले पनि प्रश्न चिन्ह उठाउँछन् ।

सँगै बस्दा आर्थिक हिसाबले केही सहजता पक्कै होला । तर, सम्बन्ध बिग्रियो भने यसले ठूलो अपराधको रूपसमेत लिनसक्छ । यसको मारमा विशेषगरि बढी महिला पर्ने गरेका छन् । यसको एक उदाहरण हो– सुजता गुरुङ (परिवर्तित नाम) ।

ओखलढुङ्गाकी सुजता काठमाडौंको कपन बस्छिन् । उनी, तीन वर्षदेखि अमन घिमिरेसँग लिभिङ टुगेदरमा बस्दै आएकी थिइन् । विवाह गर्ने सर्तमा उनीहरु लिभिङ टुगेदरमा बस्न थालेका थिए ।

सिन्धुपाल्चोक घर बताउने अमनले सुरुसुरुमा त सुजतालाई आकाशको तारा खसालिदिने सपना बाँड्थे । मनको लड्डु घ्युसँगै खान पाएपछि सुजता पनि मख्खै । तर, जब सुजताले विवाहको कुरा उठाइन्, आइलाग्यो आपत ।

सुजताले विवाहको कुरा उठाएपछि अमन बेपत्ता भए । उ हराएको पनि छ महिना बितिसक्यो । तर, अत्तोपत्तो छैन । आकाशको तारा लिन जाँदा बाटो पो बिराए कि ! सुजतादेखि अमन पो भए कि ! अमन कहाँ छन् कि स्वयं अमन आफै जानुन् कि दैव !

त्यस्तै कपनमै लिभिङ टुगेदरमा बस्दै आएका एक जोडीको दुई वर्षअघि मृत्यु भयो । खोटाङ घर भएकी २२ वर्षीया युशिना राई र सङ्खुवासभा घर भएका २६ वर्षीय अनिष जिमी राईको मृत्यु भएको थियो ।

उनीहरूको चिनापर्ची अनलाइन गेम पब्जीबाट भएको थियो । पब्जी खेल्दाखेल्दै माया बस्यो । माया बसेपछि लिभिङ टुगेदरमा बसे । सँगै बसेका उनीहरूको स्वर्गवास पनि सँगै भयो ।

पाँच वर्षअघि गोरखा घर भएकी पूर्णिमा विकको काठमाडौंको टोखा–७, धापासी हाइटमा शव फेला परेको थियो । लिभिङ टुगेदर बसेको उनको हत्या आफ्नै प्रेमी पर्साका विजय तामाङले गरेका थिए । विजयले लिभिङ टुगेदरमा बसेको र पूर्णिमाको हत्या गरेको पनि स्वीकारेका थिए ।

त्यसैगरी काठमाडौंको नागार्जुन नगरपालिका–३ स्थित ठूलो भर्याङमा महानगरीय प्रहरीवृत्त स्वयम्भूका प्रहरी जवान शङ्कर ठगुन्नाले आफ्नै प्रेमिकासामु आत्महत्या गरेका थिए । शङ्कर पनि प्रेमिकासँग लिभिङ टुगेदरमा बस्दै आएका थिए ।

यो त केबल लिभिङ टुगेदरले निम्त्याएको प्रतिनिधि घटना मात्रै हुन् । यस्तो घटनाहरू त दिनहुँ भइरहन्छ । कुनै बाहिर आउँछ त कुनै गुपचुप राखिन्छ ।

लिभिङ टुगेदर बस्ने ट्रेन्ड जति बढ्दै गएको छ, समस्या पनि उति नै निम्तिरहेका छन् । हतारमा बिहे गर्नुभन्दा एकअर्काको व्यवहार बुझेर मात्र विवाह गर्ने उद्देश्यका साथ लिभिङ टुगेदरमा बस्ने गरेको पाइन्छ । तर यस्ता सम्बन्धहरू निकै कम विवाहमा परिणत हुने गरेका छन् ।

हिंसा र कानुनी उल्झन
अहिलेका बालबालिका १२/१४ वर्षमै माया जालमा पर्छन् । उनीहरूलाई लाग्छ– उ नै हो मेरो संसार ! तर, कुखुरे बैँसका माया जालले जीवनै बर्बाद पारिरहेको छ ।

मायामा परेपछि सँगै बस्ने र सँगै रमाउने सोच हुन्छ । लिभिङ टुगेदरमा बस्न तयार भइहाल्छन् । भविष्यमा कस्तो परिणाम आउँछ भन्नेतिर ध्यानै जाँदैन । पर्याप्त छलफलको त परको कुरा । जसले गर्दा सम्बन्ध अपराधमा पुगेर टुंगिन्छ ।

यो मामिलामा प्रायः केटी बढी पीडित भएको देखिन्छ । लिभिङ टुगेदरमा बसेका युवती हिंसाको सिकार बनेको प्रशस्तै पाइन्छ । प्रहरीका अनुसार लिभिङ टुगेदरमा बसेका युवतीमाथि कुटपिट, गालीगलौज र यौनजन्य हिंसा हुने गरेको छ ।

लिभिङ टुगेदरमा रहँदाको अश्लिल भिडियो बनाउने र पछि त्यसैलाई हतियार बनाएर ब्ल्याकमेलिङ गर्दै चरित्रहत्या गरिएका घटना पनि प्रहरीकहाँ प्रशस्तै छन् । लिभिङ टुगेदरमा रहने महिलाको पीडा घरेलु तथा यौनजन्य हिंसामा मात्र सीमित छैन । हत्या र आत्महत्या समेत गरेका घटना छन् ।

कतिपयले लिभिङ टुगेदरलाई फेक बलात्कारको नाममा ब्ल्याकमेलिङको अस्त्र बनाइएको पनि पाइन्छ । त्यसको पछाडि केटाले विवाह गर्न अस्वीकार गर्नु, एकअर्काप्रति अविश्वास, मनमुटाव, विवाद तथा आर्थिक पक्ष मुख्य कारण देखिन्छन् ।

समाजमा लुकाउनुपर्ने सम्बन्ध भएका कारण यस्ता घटनाका कति पीडित त प्रहरीसामु पुग्दै पुग्दैनन् । पुगिहाले पनि कानुनी उल्झनले न्याय पाउनै सकस हुन्छ । नेपालमा लिभिङ टुगेदरलाई अहिलेसम्म कानुनी मान्यता दिएको छैन । यसलाई घरेलु हिंसामै राखिएको छ ।

प्रेमले पूर्णता नपाउँदै शारीरिक सम्बन्ध राख्न हतारिने युवाको भविष्य अन्धकार मात्र भएको छैन । समाजमा नराम्रो छाप समेत पारिरहेको छ । तसर्थ यसबारे वृहत छलफल हुन जरुरी छ । र, यसलाई नियन्त्रण गर्न आवश्यक कानुन बनाउनुपर्छ ।

यदि लिभिङ टुगेदर अवैध हो भने राज्यले एउटा प्रस्ट कानुन बनाएर सम्बन्धित निकायलाई कारबाही गर्ने बाटो खुलाउनुपर्छ । र, सँगै बस्न पाउनुपर्ने हो भने पनि प्रस्ट व्याख्यासहितको कानुन बनाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्