Logo
Logo

‘कोशी प्रदेश’ नलेख्दा खेलकुद बोर्डका सदस्य सचिव बर्खास्त



विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश खेलकुद बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई बर्खास्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गरेको हो ।

प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा वैशाख १४ गतेदेखि १६ गतेसम्म झापाको दमकमा भएको प्रदेश स्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा ‘कोशी प्रदेश’ लेखिएको ब्यानर नराखेको भन्दै मन्त्रालयले उनीमाथि दुई पटक स्पष्टीकरण सोधेको थियो ।

मन्त्रिपरिषदले सदस्य सचिव वाग्लेलाई बर्खास्त गर्नुको मुख्य कारण पनि यही नै हो । वैशाख १७ गते स्पष्टीकरण सोधेको मन्त्रालयले १९ गते बैंक खातासमेत रोक्का गरेको थियो । दुई पटकको स्पष्टीकरण चित्त नबुझेको भन्दै उनलाई सरकारले वर्खास्त गर्ने निर्णय गरेको हो ।

नेकपा एकीकृत समाजवादीका सचिवसमेत रहेका पूर्वमुख्यमन्त्री राजेन्द्र राईको कार्यकालमा वाग्ले प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव नियुक्त भएका थिए । अहिले एमाले नेतृत्वको सरकारले आफूमाथि राजनीतिक पूर्वाग्रह साँधेर यस्तो निर्णय गरेको वाग्लेले बताएका छन् । उनले आफूमाथि भएको राजनीतिक पूर्वाग्रह र अन्यायविरूद्ध अदालत जाने बताएका छन् ।

प्रदेश खेलकुद ऐन २०७६ बमोजिम गठन भएको प्रदेश खेलकुद बोर्डका सदस्य पदबाट हटाइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्