
दमौली । प्रेस युनियन तनहुँको अध्यक्षमा शेषमहम्मद हनिफ (गोरा) मियाँ सर्वसम्मत निर्वाचित भएका छन् । शाखाको शनिबार सम्पन्न आठौँ अधिवेशनबाट मियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
अधिवेशनबाट उपाध्यक्षमा खुलातर्फ प्रकाश अधिकारी, समावेशीमा पूर्ण विके, सचिवमा उपेन्द्र खनाल, कोषाध्यक्षमा एलोज श्रेष्ठ, सहसचिवमा शिला वाग्ले र सदस्यमा दानबहादुर श्रेष्ठ, सञ्जय श्रेष्ठ, मुना कालिराज विक, सुनिता थापा, सुशीला थापा, विनिता थापा र मिलन तामाङ चयन भएका छन् ।
अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेमगरले संविधानको रक्षा र लोकतन्त्र संरक्षणमा नेपाली प्रेसको भूमिका महत्वपूर्ण रहेको बताए । मन्त्री आलेले नेपाली पत्रकारिता क्षेत्रले लोकतन्त्रको संरक्षण र संविधान रक्षाका लागि खेलेको भूमिका सदैव स्मरणीय रहँदै आएको उल्लेख गरे ।
जोखिमका बीचमा पनि पत्रकारले आफ्नो धर्म निर्वाह गरिरहेको बताउँदै मन्त्री आलेले पछिल्लो समय अनलाइन पत्रकारितामा विकृति बढेको गुनासो गरे । उनले भने, ‘पछिल्लो समय अनलाइन पत्रकारितामा जनता प्रष्ट हुन सकिरहेका छैनन्, जनता भ्रममा परिरहेका छन् । त्यसलाई पत्रकारले चिर्नुपर्ने अवस्था छ ।’
पत्रकारितामा पनि विकृति बढ्दै गएकाले त्यसलाई सुधार गर्नुपर्ने आवश्यक रहेको भन्दै उनले भने, ‘पत्रकारितामा पैसाको बार्गेनिङको प्रवृत्ति बढ्दै छ । पत्रकारिता चौथो अङ्ग भएकाले पत्रकारिता क्षेत्रलाई सुधार्नुपर्ने आवश्यकता छ ।’ प्रेस युनियन लोकतन्त्रमा विश्वास राख्ने संस्था भएकाले प्रेस युनियनमा आबद्ध पत्रकारले स्वच्छ पत्रकारिता गर्नुपर्नेमा उनले जोड दिए ।
प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष ऋषिकान्त पौडेलले पत्रकारितामा चुनौती रहेकाले वर्तमान सरकारले पत्रकारिता क्षेत्रको समस्या सम्बोधन गर्नेमा विश्वास व्यक्त गरे । प्रेस युनियनका महासचिव दिलीप पौडेलले लोकतान्त्रिक आन्दोलनमा नेपाली प्रेसले खेलेको भूमिकाको चर्चा गर्दै सञ्चारमाध्यमलाई टिकाइराख्न सक्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष एवं राससका पूर्वअध्यक्ष कुलचन्द्र वाग्ले, नेपाल पत्रकार महासङ्घका गण्डकी प्रदेश उपाध्यक्ष सोनी शर्मा, नेपाल प्रेस युनियनका प्रदेश महासचिव प्रकाश ढकाललगायतले पत्रकारिता क्षेत्रका चुनौतीका बारेमा प्रष्ट पारे ।











