Logo
Logo

बागमतीका नवनियुक्त मन्त्रीले लिए शपथ



हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त ६ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएका हुन् । बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार नेपाली कांग्रेसबाट ३ जना र नेकपा एकीकृत समाजवादीबाट दुई मन्त्री समावेश गरी मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

कांग्रेसबाट मसिना खड्का भण्डारीलाई वन तथा वतावरण, पुकार महर्जनलाई पर्यटन उद्योग तथा सहकारी र उत्तम जोशी स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइएको छ । कांग्रेसका रामकृष्ण चित्रकार विना विभागीय मन्त्री बनेका छन् । यस्तै, नेकपा एकीकृत समाजवादीबाट लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायातमन्त्री बनेका छन् भने राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपंक्षी विकास मन्त्री बनेका छन् ।

बागमती प्रदेशमा ०७९ को २५ पुसमा माओवादी केन्द्रका जम्कट्टेल नेकपा एमाले र राप्रपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । राष्ट्रपति निर्वाचनअघि केन्द्रमा गठबन्धन बदलिएपछि १३ फागुनमा राप्रपा र १० चैतमा एमालेले सरकार छाडेपछि कांग्रेस र एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए । आइतबार मन्त्री नियुक्त गरेपछि बागमतीको मन्त्रिपरिषद १२ सदस्यीय भएको छ ।

प्रतिक्रिया दिनुहोस्