काठमाडौं । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता सोमबारबाट काठमाडौंमा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप)को विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सुरु प्रतियोगीताको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका हुन् ।

प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजाकिस्तानको सहभागिता रहेको छ । यसैबीच प्रतियोगीताको पहिला खेलमा नेपालले किर्गिस्तानलाई हराउँदै सुखद सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थीत कभर्डहलमा नेपालले किर्गिस्तानलाई ३-० को सोझो सेटमा हराएको हो । नेपालले किर्गिस्तानलाई २५-११,२५-१९ र २५-११ ले पराजित गर्यो ।
त्यस्तै पहिलो दिनको खेलमा उज्वेकिस्तानले श्रीलंकालाई सोझो सेटमा पराजित गर्दै सानदार विजयी सुरुवात गरेको छ । कभर्डहलमा भएको पहिलो खेलमा श्रीलंकालाई ३-० ले हराउँदै महत्वपूर्ण तीन अंक बटुलेको छ । उज्वेकिस्तानले २७-२५, २५-२० र २५-१४ ले हराउँदै विजयी सुरुवात गरेको हो ।
त्यस्तै सोमबार नै भएको अर्को खेलमा भारतले तुलनात्मक रुपमा कमजोर प्रतिद्धन्द्धी बंगलादेशमाथि ३-० को सोझो सेटमा जित निकाल्दै विजयी सुरुवात गर्यो । भारतले बंगलादेशमाथि २५-३, २५-९ र २५-६ को सहज जित निकालेको हो ।
राउन्ड रोविन लिग पछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरीयताका लागि प्रतिस्पर्धा गर्नेछन् ।











