विराटनगर । कोशी प्रदेशसभाले एक सय वटा ल्यापटप खरिद गर्ने योजना फिर्ता लिएको छ । प्रदेशसभाका प्रतिनिधित्व गर्ने दलहरूसहितले चर्को विरोध गरेपछि सांसदहरूलाई बाँड्न भनेर गरिएको ल्यापटप खरिदको टेन्डर रद्द गरिएको प्रदेशसभा सचिवालयले जनाएको हो ।

प्रदेश सरकारले रकमान्तर गरेर पैसा दिएपछि प्रदेशसभा सदस्यलाई डेढ करोड रुपैयाँ बराबरको ल्यापटप वितरण गर्न प्रदेशसभा सचिवालयले टेण्डर आह्वान गरेको थियो । तर, मुलुक आर्थिक संकटमा रहेको भन्दै प्रमुख दल र सांसदहरूले नै विरोध गर्दै ल्यापटप नलिने घोषणा गरेपछि आफ्नो निर्णयबाट प्रदेशसभा पछि हटेको हो ।
सांसदहरू र नागरिक तहबाट समेत प्रदेश सरकारको सो निर्णयको विरोध भएको थियो । सत्तारूढ एमालेको संसदीय दलले पनि ल्यापटप खरिद गर्ने निर्णय फिर्ता लिन प्रदेशसभा सचिवालयलाई आग्रह गरेको थियो । कोशीको बजेट अधिवेशन जेठ १४ गते आइतबार सुरू हुँदैछ ।