
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष्य चित्रबहादुर केसीले टिकापुर काण्डमा दोषी ठहर भई जन्मकैदको सजायँ भोगिरहेका रेशम चौधरीलाई आममाफी दिन सरकारले अघि बढाएको प्रक्रिया रोक्न माग गरेको छ ।
चौधरीलाई आममाफी दिने कार्यले दण्डहीनता, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण बढ्ने भन्दै जनमोर्चाले वर्तमान सरकारले थालेको उक्त प्रक्रिया विरोध गरेको हो ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका चौधरीले २०७२ भदौं ७ टिकापुरमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भइ जन्मकैदको सजाय पाएका थिए । प्रचण्ड नेतृत्वको वर्तमान सरकारले गणतन्त्र दिवसको दिन उनको बाँकि सजाय माफ गर्दै आममाफी दिने प्रक्रिया अघि बढाएको छ । जनमोर्चाले आज (शुक्रबार) एक विज्ञप्ती जारी गर्दै उक्त प्रक्रियालाई रोक्न माग गरेको हो ।
‘टिकापुर हत्याकाण्ड कुनै राजनीतिक नभएर आम नरसंहारको घटना थियो । त्यो घटनाका मुख्य नाइकेलाई गणतन्त्र दिवसको उपलक्ष्यमा आमाफी दिइ कैद मिनाहा गराउन सरकारले अगाडि बढाएको प्रक्रिया आफ्नो सरकार टिकाउन गरिएको राजनीतिक लेनदेन वा सौदावाजी मात्र हो,’ अध्यक्ष केसीले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।
विगतमा सरकारले रवि लामिछानेको राहदानी प्रकरणमा राजनीतिक सौदावाजी गरेर मुद्दा नचल्ने निर्णय गर्दा सरकारलाई महँगो परेको स्मरण गराउँदै केसीले भनेका छन्, ‘त्यसैले रेशम चौधरीलाई आममाफी दिनका लागि अगाडि बढाएको प्रक्रिया रोक्न सरकारसँग माग गर्दछौं ।’
चौधरी १५ फागुन, २०७४ देखि थुनामा छन् । उनलाई अदालतले तोकेको जन्मकैदको सजाय अनुसार, २० वर्ष कैद भुक्तान गर्नुपर्ने थियो । माफी मिनाहाको प्रक्रिया कार्यान्वयन भए उनले करिब १५ वर्ष कैद सजाय मिनाहा पाउनेछन् ।
सम्बन्धित समाचार : रेशम चौधरीलाई ‘आम माफी’ दिने तयारी