Logo
Logo

विराटनगरमा बिहानैदेखि पहिचानवादीको प्रदर्शन, १७ जना पक्राउ



विराटनगर । कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुनुअघि प्रहरीको धरपकड सुरु भएको छ । आज बिहानै देखि पहिचान पक्षधरको आन्दोलन सुरु भएपछि प्रहरीले विराटनगरबाट १७ जना कार्यकर्तालाई पक्राउ गरेको हो ।

प्रदेश सभाको आज बस्ने बैठकमा प्रचलित प्रदेश ऐनहरूमा रहेको प्रदेश १ लाई संशोधन गरी कोशी प्रदेश कायम गर्ने विधेयक पनि पारित गर्ने भएपछि पहिचान पक्षधर आज बिहानै देखि आन्दोलनमा उत्रिएका हुन् ।

प्रदेशसभा घेराउ गर्ने उद्देश्यले जम्मा हुने क्रममा विराटनगरस्थित देवकोटा चोकबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष थाङसाङ लावती, उपमहासचिव दिपा आङ्दाङ्वालगायत छन् ।

गत पुस १७ गते प्रदेशको नामकरणपछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । त्यसपछि पहिचानवादीको प्रदर्शन र आन्दोलनका कारण प्रदेशसभाको बैठक नै नबसी हिउँदे अधिवेशन अन्त्य भएको थियो । आज दिउँसो २ बजे प्रदेशसभा बैठक बस्दैछ ।

उता, पहिचानवादीहरूले पनि प्रदेशसभाको बजेट अधिवेशनलाई लक्षित गर्दै आन्दोलनको घोषणा गरेका छन् । शुक्रबार विराटनगरमा युवा दस्ता निर्माणको घोषणा गरेका पहिचानवादीहरूले कोशी नाम खारेजको माग गर्दै शनिबार महेन्द्र चोकमा प्रदर्शन गरेका थिए । आज उनीहरुले वृहत् र फरक तरिकाले आन्दोलन गर्ने जनाएका छन् ।

सो आन्दोलनलाई लक्षित गरी स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रदेशसभा परिसर, मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय अगाडी र आसपासको क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्