Logo
Logo

सागबाट भ्रमण वर्षको स्वागत


- रमेश घिमिरे (स्वतन्त्र पत्रकार)


रमेश घिमिरे (स्वतन्त्र पत्रकार)

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा तेह्रौँ दक्षिण एशियाली खेलकुदको गत आइतबार दशरथ रंगशालामा भव्य उद्घाटन भएको छ । उद्घाटन समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विद्यार्थी र विभिन्न जातजातिका झण्डै १५ हजार जनाले आफ्नो सांस्कृतिक झाँकीसहितको कलाकौशल प्रस्तुत गरेका थिए । गत आइतबार रंगशालामा उद्घाटन गरिएको साग साँच्चै नै रमणीय थियो ।

उद्घाटन कार्यक्रममा लेजर बिम, लाइटिङ तथा ड्रोनबाट समेत विशेष प्रस्तुति भएको थियो । कार्यक्रममा मुकुन्द शर्माको रचना, प्रकाश गुरुङको संगीतमा आनन्द कार्की, कुन्ती मोक्तान, इन्दिरा जोशी र सत्यराज आचार्यलगायतको टोलीले सार्क गीत प्रस्तुत गरेका थिए ।

तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)मा तीन सय सत्र स्वर्ण पदकका लागि काठमाडौँ, पोखरा र जनकपुरमा खेल प्रतियोगिता हुनेछन् । यस प्रतियोगितामा सार्क देशका बंगलादेश, भूटान, भारत, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र आयोजक मुलुक नेपालका दुई हजार नौ सय १० खेलाडी र सात सय उनान्सत्तरी अफिसियलले भाग लिएका छन् । सार्क मुलुक अफगानिस्तानले यसमा भाग लिएको छैन ।

दक्षिण एशियाली खेलकुद प्रारम्भ गर्न नेपालको विशेष भूमिका रहेको छ । त्यतिबेलाका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव शरदचन्द्र शाहले सार्क देशका ओलम्पिक कमिटीका अध्यक्षहरुलाई एकै थलोमा ल्याएर सन् १९८४ मा काठमाडौँमा प्रथम दक्षिण एशियाली खेल सम्पन्न गराएर यसको थालनी गरेका हुन् । दक्षिणपूर्वी एशिया र पश्चिम एशियामा नियमितरुपमा क्षेत्रीय खेल प्रतियोगिताहरु आयोजना भइरहेको सन्दर्भमा सन् १९८४ को सेप्टेम्बर १७–२० मा काठमाडौँको दशरथ रंगशालामा राजा वीरेन्द्रले पहिलो साग गेमको उद्घाटन गरेका थिए । पहिलो साग खेलमा एथलेटिक्स, पौडी, फुटबल र भारोत्तोलनका दुई सय खेलाडी सामेल भएका थिए ।

पहिलो दक्षिण एशियाली खेलको ठीक सोह्र वर्षपछि नेपालले सन् १९९९ मा पनि आठौँ सागको आयोजना गर्ने मौका पाएको थियो । जसमा खेलको संख्या बढेर बाह्र पुगेको थियो भने, खेलाडीको संख्या एक हजार ६ सय पुगेको थियो । सार्क राष्ट्रका सात देशका खेलाडीहरुले एथलेटिक्स, पौडी, फुटबल, कराँते, कबड्डी, सुटिङ, टेबलटेनिस, ताइक्वान्दो, भारोत्तोलन, बक्सिङ, कुस्ती र भलिबल खेल प्रतिस्पर्धा गरेका थिए । त्यस खेलमा एक अर्ब रुपैयाँभन्दा बढी खर्च भएको थियो ।

खेल क्षेत्र एउटा यस्तो क्षेत्र हो, जहाँ खेल भावना नै सर्वोपरी रहन्छ । यस खेलको सबभन्दा ठूलो उपलब्धि भनेको प्रतियोगी देशहरुका खेलाडीका स्तर लगभग एउटै भएको हुनाले पराजयको डर बिना स्वच्छन्द भएर खेल खेल्नेछन् ।

तेह्रौँ सागको आयोजक मुलुक नेपाल भएको नाताले प्रतियोगिताको सफल र भव्य सञ्चालनको माध्यमबाट दक्षिण एशियाली देशका जनताको मन जित्ने अपूर्व अवसर प्राप्त भएको छ । यस आयोजनाले नेपाल पर्यटन वर्ष सन् २०२० मा धेरैभन्दा धेरै पर्यटक नेपाल भित्र्याउन पनि मद्दत पुग्नेछ । यस्ता खेल प्रतियोगिताहरुको आयोजनाले राष्ट्रकै प्रतिष्ठामा अभिवृद्धि हुन्छ । आइतबार दशरथ रंगशालामा भव्यरुपमा उद्घाटन गरिएको १३ औँ साग खेलको रमणीय दृश्य धेरै खेलाडी र दर्शकको मन मस्तिष्कमा रहनेछ । १३औँ साग खेलले खेलाडीहरुको उत्साह बढाएको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन ‘सार्क’ अन्योल भएको बेला काठमाडौँमा आइतबारदेखि सुरु भएको ‘साग’ले दक्षिण एशियाका जनता–जनताबीचको सम्बन्धलाई उत्तिकै गाँढा बनाएको छ ।

[email protected]

प्रतिक्रिया दिनुहोस्