पोखरा । पोखराको रत्नमन्दिर आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । पूर्वराजाहरुले मात्र प्रयोग गर्दै आएको रत्नमन्दिर गणतन्त्र दिवशको अवसरमा साेमबारदेखि सर्वसाधारणका लागि खुला गरिएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले साेमबार फेवाताल निकारमा रहेको रत्नमन्दिर खुला गरेका छन् । रत्न मन्दिर पूर्वराजपरिवारका सदस्य पोखरा आउँदा बसोबास गर्ने ठाउँ हो । तत्कालीन राजा महेन्द्रले यहाँ आउँदा बस्न मिल्नेगरी रानी रत्नको नामबाट दरबार निर्माण गरेका थिए । वि.सं २०१३ मा यो दरबारको निर्माण सुरु गरिएको थियो ।
गणतन्त्र स्थापनापछि राजा वीरेन्द्र र राजपरिवारको नाममा भएका सम्पूर्ण सम्पत्ति नेपाल ट्रष्टको नाममा ल्याउने सरकारी निर्णयपछि १११ रोपनी क्षेत्रफलमा फैलिएको यो मन्दिर हाल ट्रष्टको स्वामित्वमा छ ।
गणतन्त्र स्थापना भएको १५ वर्षपछि खुला भएको रत्न मन्दिरमा अवलोकनका लागि टिकटको व्यवस्था गरिने नेपाल ट्रष्ट सदस्य योङजोम शेर्पाले जानकारी दिइन् । तर, खुला गरिएको पहिलो दिन भने निःशुल्क अवलोकनको व्यवस्था मिलाइएको छ ।











