Logo
Logo

पहिचान पक्षधरलाई वार्तामा आउन सरकारको आह्वान



काठमाडौं । कोशी प्रदेश सरकारले आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेको छ । प्रदेश सरकारको तर्फबाट प्रवक्ता भक्तिप्रसाद सिटौलाले मंगलबार वक्तब्य जारी गर्दै पहिचानवादीलाई वार्तामा आउन आग्रह गरेका हुन् ।

प्रवक्ता भक्तिप्रसादले आन्दोलनरत पहिचान पक्षधरलाई वार्ताका माध्यमबाट समस्या समाधान गर्न आन्दोलनका कार्यक्रमलाई स्थगित गरी वार्तामा आउन आग्रह गरेका छन् । ‘नामाङ्कनको बारेमा आफ्ना विमतिहरुलाई शान्ति पूर्णरुपमा राख्न अनुरोध गर्दै पूर्व घोषित विरोधका कार्यक्रमलाई स्थगन गरी वार्ता र सम्वादका माध्ययमबाट निकास खोज्न सम्बद्ध सबै पक्षलाई कोशी प्रदेश सरकार आह्वान गर्दछ’, उनले भनेका छन् ।

गत फागुन १७ गते प्रदेशसभा बैठकले प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधरहरुले असन्तुष्ट जनाउँदै प्रदेश १ पुन नामाङ्कन संयूक्त संघर्ष समिति गठन गरि प्रदेश राजधानी केन्द्रीत आन्दोलन गरिरहेको छ ।

आइतबार प्रदेशसभा भवन बाहिर पहिचान पक्षधर र प्रहरीबीच झडप भएको थियो । अब बुधबार प्रदेशसभा बैठक बस्दैछ । पहिचान पक्षधरले बुधबार प्रदेशसभा केन्द्रित आन्दोलन गर्ने तय गरेको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालय मोरङमा भएको छलफलमा आन्दोलनरत पक्षले आन्दोलनलाई शान्तिपूर्ण बनाउने सहमति गरेको छ । आइतबार पक्राउ परेका २६ जना नेता कार्यकर्तालाई प्रशासनले छाड्ने र पहिचान पक्षधरले आफ्नो आन्दोलनलाई शान्तिपूर्ण बनाउने सहमति गरेको हो ।

आइतबार प्रदेशसभा बैठकमा सांसदहरुले आन्दोलनरत पक्षलाई तत्काल वार्तामा बोलाउन सरकारलाई आग्रह गरेको थियो । सोमबार गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पनि आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन आग्रह गरेका थिए ।

‘संविधान र कानूनले प्रत्यभूत गरेका अधिकारसहित गरिएको नामकरणको बारेमा केही विमतिहरु भए आगामी निर्वाचन मार्फत कानून र संवैधानिक प्रक्रिया अगाडि बढाउन अनुरोध गर्दछु’, मुख्यमन्त्री कार्कीले भनेका थिए । मंगलबार (आज) प्रदेश सरकारका प्रवक्ताले वक्तब्य जारी गर्दै पहिचान पक्षधरलाई औपचारिक रुपमा वार्तामा आउन आग्रह गरेका हुन् ।

वक्तव्य

प्रतिक्रिया दिनुहोस्