Logo
Logo

‘कोशी’ नाम पुनर्विचार गर्न कांग्रेस जिल्ला सभापतिहरुको माग



बिराटनगर । नेपाली कांग्रेसका १४ जिल्ला सभापतिले ‘कोशी प्रदेश’को नाम पुनर्विचार गर्न माग गरेका छन् । प्रदेश १ का १४ जिल्लाका कांग्रेस सभापतिहरुले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै कोशी नाम पुनर्विचारका गर्न पार्टी नेतृत्व र प्रदेशसभासँग आग्रह गरेका हुन् ।

देशसभाले प्रदेृश १ को कोशी नामाकरण गरेपछि पहिचान पक्षधर चरणवद्ध आन्दोलन गरिरहेका छन् । यसैबेला कोशी प्रदेशका १४ जिल्लाका कांग्रेस जिल्ला सभापतिहरुले पार्टी नेतृत्वलाई ध्यानाकर्षण गर्दै भनेका छन्, ‘यो विरोधको सुनुवाइ नेपाली कांग्रेसको नेतृत्वले गर्नुपर्छ ।’

विज्ञप्तिमा प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रीसमेत रहेका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बु, खोटाङ सभापति विष्णु कुमार राई, उदयपुर सभापति हिमाल कार्की, झापाका सभापति देउ कुमार थेबे, संखुवासभाका सभापति दीपक खड्का, सुनसरी सभापति केदार भण्डारी र ओखलढुंगा सभापति तेजेन्द्र खनालको हस्ताक्षर छ ।

यस्तै, सोलुखुम्बु सभापति नामगेल जाङ्बु शेर्पा, तेह्रथुम सभापति अर्जुन तुम्बाहाम्फे, इलाम सभापति डम्मर खड्का, पाँचथर सभापति रुपनारायण जगेबु, धनकुटा सभापति दिनेश राई, भोजपुर सभापति विनोद राई वान्तवा र ताप्लेजुङ सभापति गजेन्द्र तुम्याहाङले पनि विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

गत फागुन १३ गते प्रदेशसभा बैठकले प्रदेश १ को कोशी प्रदेश नामकरणको प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको थियो । कोशी नामको पक्षमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले समेत मतदान गरेका थिए ।

तर, किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, नेपाल शेर्पा संघ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, किरात मोर्चा, जनता समाजवादी पार्टीका भ्रातृ संगठन र अन्य सामाजिक तथा सामुदायिक संगठनहरुले ‘प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति’ घोषणा गरेर आन्दोलन जारी राखेका छन् । आन्दोलनको क्रममा एक जनाले ज्यान समेत गुमाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्