Logo
Logo

भोलिदेखि विराटनगर भन्सार यार्डसम्म कार्गो रेल आउने



विराटनगर । विराटनगरको एकीकृत भन्सार जाँचविन्दु (आईसीपी)मा निर्माण भएको रेल्वे यार्डसम्म नै बिहीबारदेखि कार्गो रेल सञ्चालन हुने भएको छ । चारदिने औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र र भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीबार नयाँ दिल्लीमा कष्टम यार्डको संयुक्त रुपमा उद्घाटन गरेपछि कार्गो रेल सञ्चालनको अनुमति दिने तयारी गरेको हो ।

विराटनगर भन्सार प्रमुख ज्ञानेन्द्र ढकालका अनुसारभन्सार यार्डसम्म कार्गो रेल सेवा सञ्चालन भएपछि सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगका कच्चा पदार्थ र उत्पादित वस्तुको आयात निर्यात कार्गो रेलबाट हुनेछ ।

उद्घाटनको दिन फलाम उद्योगको कच्चा पदार्थ कार्गो रेलबाट आयात गर्ने उद्योगीको तयारी छ । यसअघि पनि फलाम उद्योगका कच्चा पदार्थ रेलबाट आयात वथनाहसम्म ल्याएर त्यहीं अनलोड गरेर ट्रक मार्फत भन्सार यार्ड ल्याउने गरिएको ढकालले बताए । अब भने भन्सारसम्मै कार्गो रेलबाट आयात हुनेछ ।

भन्सार यार्डसम्म कार्गो रेल सेवा सुरु भएपछि औद्योगिक कच्चा पदार्थको ढुवानीमा कम्तीमा ४० प्रतिशत लागत न्यून हुने मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालको भनाइ छ । उनले भने, ‘ट्रक र कन्टेनरमा औद्योगिक कच्चा पदार्थ आयात गर्दा महँगो ढुवानी खर्च तिर्नुपर्दा उत्पादन लागत बढी पर्दथ्यो । कार्गो रेलबाट कच्चा पदार्थ ढुवानी हुँदा खर्च कम भई औद्योगिक उत्पादनको लागत पनि कम हुन्छ ।’ सुनसरी मोरङ औद्योगिक करिडोरमा साना ठूला गरेर पाँच सय उद्योग छन् ।

भारतको बथनाहदेखि नेपालको कटहरीसम्म १८ दशमलव ६ किलोमिटर लम्बाई रहेको ब्रोडगेज रेल्वे मार्ग करिब चार अर्ब भारुको लागतमा भारतको इरकोन कम्पनीले सन् २०११ मा निर्माण सुरु गरेको थियो । सन् २०१७ मा निर्माण सकिनु पर्ने उक्त योजना नेपाल पक्षको कमजोरीका कारण अहिले पनि अधुरै छ ।

भारतको बथनाहा रेलवे स्टेसनबाट विराटनगरको बुधनगरस्थित कष्टम यार्डसम्मको साढे सात किलोमिटर दूरीको रेल मार्गमा पहिलो पटक २०७६ कात्तिकमा लिग परीक्षण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्