Logo
Logo

हिक्मत कार्की नेतृत्वको सरकार ढल्दै



काठमाडौं । नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार सङ्कटमा परेको छ । जनता समाजवादी पार्टी (जसपा)ले आज (बुधबार) सरकार छाडेसँगै कोशी सरकार सङ्कटमा परेको हो ।

नेकपा एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढल्ने निश्चितजस्तै भएको छ । जसपा सरकारबाट बाहिरिएपछि बजेट निर्माणको तयारीमा जुटिरहेको मुख्यमन्त्री तथा अर्थमन्त्री कार्की अपठ्यारोमा परेका छन् । कार्की नेतृत्वको सरकार बजेट पास गर्नै नसक्ने स्थितिमा आइपुगेको छ ।

केन्द्रको सत्ता गठबन्धन विपरीत एमाले नेतृत्वको सरकारमा रहिरहेको माओवादी केन्द्रलाई पनि अब कोशी सरकार छाड्न थप दबाब बढेको छ । केन्द्रमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादीसहितको गठबन्धन रहेपनि कोशीमा एमाले, माओवादी केन्द्र र राप्रपा सरकारमा छ । जसपा भने आज मात्रै सरकारबाट बाहिरिएको छ ।

माओवादी केन्द्र र जसपालाई यसअघि नै सरकार छाड्न कांग्रेसले दबाब दिएको थियो । जसपा आज सरकारबाट बाहिरिएसँगै माओवादी केन्द्र थप दबाब परेको हो । गत पाँच गते कांग्रेस कोशी प्रदेश संसदीय दलले माओवादी केन्द्र र जसपालाई सरकार छाड्न आग्रह गर्दै पत्र नै लेखेको थियो ।

आज स्वास्थ्यमन्त्री निर्मला लिम्बूले राजीनामा दिएसँगै जसपाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । जसपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपर्ने हुन्छ ।

यता, कांग्रेसले तत्कालै सरकार परिवर्तन गर्नुपर्ने भन्दै दबाब दिँदै आएको छ । नयाँ गठबन्धन बनेपछि नयाँ सरकारले नै बजेट ल्याउन पाउनुपर्छ भन्ने कांग्रेसको मान्यता छ । त्यसैले कार्कीले विश्वासको मत लिँदा एमाले र रप्रपाको मात्रै साथ पाउनेछन् ।

गत २५ पुसमा माओवादी केन्द्र, जसपा र राप्रपाको समर्थनमा एमालेका कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । तर राष्ट्रपति निर्वाचनअघि केन्द्रमा कांग्रेस–माओवादीसहितको गठबन्धन बनेको थियो । त्यसपछि कोशी प्रदेशबाहेक एमालले नेतृत्वको सबै प्रदेश सरकार ढलिसकेको छ । अब कोशी प्रदेशमा पनि एमाले नेतृत्वको सरकार ढल्ने देखिन्छ ।

कूल ९३ सदस्यीय प्रदेश सभामा बहुमत कायम हुन ४७ मत आवश्यक पर्छ । यो संख्या कुनै एक मात्रै दलसँग उपलब्ध छैन । एउटै मात्रै दलसँग बहुमत नभएकै कारण अहिले एमाले, माओवादी र राप्रपा सम्मिलित सरकार प्रदेशमा छ ।

कोशीमा एमालेसँग ४० जना सांसद छन् । त्यो सङ्ख्यामा जम्मा ७ जना थपिँदा उसलाई सरकार बनाउन पुग्ने बहुमत पुग्थ्यो । अहिले सभामुखसहित १३ सदस्य भएको माओवादी, ६ जना सांसद भएको राप्रपा र १ जना सांसद भएको जसपाले साथ दिएपछि एमाले नेतृत्वमा बहुमतसहित सरकार बनेको थियो ।

जसपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत लिँदा उनलाई उपसभामुखसहित एमालेका ४० र राप्रपाका ६ जना गरी प्रदेश सभाका ४६ जना सदस्य साथमा हुनेछन् । यो संख्या बहुमतभन्दा एक कम हो । त्यसपछि उनको सरकार ढल्नेछ ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार गठित कार्की नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुखले नयाँ सरकार कुन धाराअन्तर्गत बनाउन आह्वान गर्छन् ? प्रदेशमा संवैधानिक/कानुनी विवादको सुरुआत यहीँबाट सुरु हुने देखिन्छ ।

प्रदेश प्रमुख परशुराम खापुङ सत्ता गठबन्धन जसपानिकट रहेका कारण धारा १६८ (२) अनुसारनै उनीबाट आह्वान हुने देखिन्छ । उक्त धारा अनुसार सरकार गठनको आह्वान भए कांग्रेस–माओवादी गठबन्धनले मुख्यमन्त्रीको दाबी गर्नेछ । यदी, उपधारा ३ अनुसार सरकार गठन आह्वान भएमा एमाले नेतृत्वकै सरकार बन्नेछ । कोशी प्रदेशमा कांग्रेसँग २९, माओवादीसँग १३ (सभामुखसहित), नेकपा एकीकृत समाजवादीका ४ र जसपाको १ जना गरी ४७ सांसद छन् ।

संविधानको धारा १६८ उपधारा २ अनुसार सरकार गठनको आह्वान भयो भने नयाँ सरकार गठन हुन सक्नेछ । दुई वा दुईभन्दा बढी दलहरूलाई बहुमतका आधारमा मुख्यमन्त्री दाबी गर्न आह्वान भएपछि दलहरूले आफूहरूसँग बहुमत रहेको देखाएर प्रदेश प्रमुखसामु दाबी पेश गर्नेछन् ।

राप्रपा सहभागी नहुँदा पनि गठबन्धनलाई बहुमत पुग्नेछ । तर, एकजना मात्रै सांसद तलमाथि भयो भने गठबन्धनको पनि नपुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्