Logo
Logo

अन्तरजातीय विवाह : मनले स्वीकार्‍यो, समाजले स्वीकारेन 


1.8k
Shares

प्रेम यस्तो एक चिज हो– जसमा भावना छल्किन्छ । प्रेम यस्तो अनुभव हो– सबै रङ्गीन हुन्छ । अनि प्रेम गरेको मान्छे यस्तो लाग्छ– दुनियाँमा उ जतिको सुन्दर अरु केही छैन !

भनिन्छ– प्रेम अन्धो हुन्छ । प्रेममा पर्दा यस्तो लग्छ– आफ्नो वरिपरि आफूले माया गरेको मान्छे मात्रै छन् । हावाले पनि उसैको स्पर्श दिन्छ । उसको सामीप्यताबाट एकछिन पनि टाढिनु मन लाग्दैन !

माया कुनबेला कोसँग बस्छ, कुनै टुंगो हुँदैन । कुन जात ? कुन समुदाय ? कुन वर्ग ? कुन देश ? कुन भाषी ? मायाले केही छुटाउँदैन । मनले छुटाउने भनेको माया मात्रै हो ।

आधुनिकीकरण, पश्चिमीकरण र भूमण्डलीकरणले गर्दा विश्व एउटा सानो समाजमा रूपान्तरण हुँदैछ । पुँजीवादको विकास सँगसँगै विज्ञान प्रविधि, यातायात, सञ्चारको विकास, रोजगारी र शिक्षाको अवसर एक ठाउँका मान्छे अर्को ठाउँ पुग्छन् ।

त्यसैमाथि सामाजिक सञ्जालका माध्यमले टाढाटाढाको मान्छेसँग पनि नजिकै भइन्छ । कसैसँग चिनजान हुन्छ । र, माया बस्न सक्छ । अहिले विवाहको स्वरुप नै परिवर्तन भइसकेको छ । विवाहको लागि प्रेम सम्बन्ध अनिवार्य जस्तै भएको छ ।

मागी विवाहको ठाउँ प्रेम विवाहले ओगट्दै छ । अभिभावले पनि सोध्न थालेका छन्– बिहे गर्ने उमेर भइसक्यो, कसैसँग लभ परेको छ कि छैन ? तर, प्रेम सम्बन्धले समस्या पनि निम्त्याइरहेको छ ।

सर्वविदित छ, जातीय छुवाछुतको जरो अझैसम्म हाम्रो समाजमा पल्टिन सकेको छैन । तर, प्रेमले जात छुटाउँदैन । जुनसुकै जातको सँग पनि माया बस्न सक्छ । तर जातकै कारण अन्तरजातीय प्रेम विवाहसम्म पुग्न पाउँदैन । कोपिलामै निमोठिन्छ ।

बिहेको सुरुवाती चरण प्रेम सम्बन्ध हो । प्रेम दुई जनाबीच हुन्छ । तर, प्रेम र विवाहलाई जात, धर्म, संस्कृति, भाषा, वर्ग र क्षेत्रको आधारमा गर्भमा नै तुहाइदिने गरेको पाइन्छ । यी सबैसँग मेल नखाँदा एकतिर माया गर्ने जोडी र अर्कोतिर परिवार र समाज हुने स्थिति आउँछ ।

परिवार र समाजकै कारण गहिरो प्रेम हुँदाहुँदै बाध्यताले छुट्नुपर्छ । वियोगान्त सहन नसकेर कतिले त मृत्युवरणको बाटो नै रोज्छन् । सबैलाई बचाउँने प्रेम नै कहिलेकाहीँ अभिशाप बनिदिन्छ । र, त्यसको अन्त्य अपराध हुन्छ ।

हामी २१औँ शताब्दीमा छौँ । तर, किन दलित र गैरदलितबीचको प्रेम र विवाहलाई स्वीकार गर्न सकिरहेको छैनौँ ? यो गहन विषय बनेको छ । अझै मागी विवाहका लागि अपवादबाहेक अन्य जातकोमा प्रत्यक्ष बिहेको कुरा लिएर जान सक्दैनौँ ।

प्रेम सम्बन्ध पनि अपवादबाहेक अन्य जातको मान्छेलाई राख्ने आट गर्दैनन् । हाम्रो समाजमा दलित र गैरदलितबीचको प्रेम सम्बन्धलाई सामाजिक प्रतिष्ठासँग जोडेर हेर्ने गरिन्छ । त्यसकारण अन्तरजातीय जोडीप्रति अमानवीय व्यवहार भइरहन्छ ।

‘म ठूलो, ऊ सानो’ भन्ने भावनाले विवाहमा प्रत्यक्ष असर पारिरहेको छ । घरपरिवार, आफन्तले ‘प्रेम गर, तर आफ्नै जातसँग गर, इज्जत नफाल, कुलखान्दान हेर’ भन्ने गर्छन् । यस्ता कुराले जातीय मानसिकताको छाप पारेको छ ।

जातीय समानता र न्यायबारे ठूलाठूला भाषण सुनिन्छ । तर, समाज रूपान्तरण गर्छु भनेर हिँडेका नेता, अभियन्ता, पत्रकार, लेखक, शिक्षकलगायतका सन्तानले अन्तरजातीय प्रेम गरेको थाहा पाएमा स्वीकार्न सक्दैनन् ।

समाजमा अझै छोराछोरीको बिहेको निर्णय बाबुआमाले नै लिने गर्छन् । विवाहमा सामाजिक स्वीकृत प्राप्त हुन्छ । जसले महिला र पुरुषलाई यौन सम्बन्ध राख्न र बच्चा जन्माउन अनुमति दिन्छ  । जसले वंश परम्परालाई निरन्तरता दिन मद्दत गर्छ ।

पुँजीवादका कारण अन्तरजातीय प्रेम सम्बन्ध र विवाह समाजमा खुकुलो भएपनि त्यसलाई जातीय, धार्मिक कारणले टिकाउन गाह्रो हुन्छ  । अन्तरजातीय, धर्म, वर्ग, क्षेत्रमा प्रेम भएपनि बिहे गर्दा घरपरिवार र समाज तगारो बन्छ ।

प्रेम प्राप्त गर्ने र सफल बनाउन परिवार, आफन्त र समाजसँग विद्रोह गर्नुपर्छ । तर, सबैले विद्रोह गर्न सक्दैनन् । अभिभावकको कुरा नकाट्ने स्वभावका हुन्छन् । परिवार र समाजलाई जित्ने प्रेमिल जोडी बिरलै भेटिन्छन् ।

अन्तरजातीय विवाहले नै समाजमा जातीय विभेद, छुवाछूत अन्त्य गर्न सकारात्मक भूमिका खेल्न सक्छ  । तर, जात व्यवस्थाले गहिरो जरो गाडेको र कथित जातीय श्रेणीलाई प्रवर्द्धन गरिरहेको नेपाली समाजमा अन्तरजातीय प्रेमविवाहको वातावरण बन्न सकेकै छैन ।

२०६२/६३ को जनआन्दोलनपछि ‘छुवाछुतमुक्त राष्ट्र’ घोषित भएको थियो । विडम्बना ! छुवाछुतमुक्त राष्ट्रमा अन्तरजातीय प्रेम अझै वर्जित छ । प्रेमले जात, धर्म, वर्ग र क्षेत्र चिन्दैन । प्रेमले चिन्ने भनेको आफूले माया गरेको मान्छेलाई मात्रै हो । त्यसैले यसलाई अन्तरजातीय प्रेम भनेर व्याख्या गर्नु निरर्थक हुन्छ । यो जातिभन्दा पनि माथि छ ।

तर, अन्तरजातीय प्रेमकै कारण अजित मिजारको शव सात वर्षदेखि अस्पतालमा छ  । अन्तरजातीय विवाह गरेकै कारण उनी मारिनुपर्यो । महाराजगन्जस्थित शिक्षण अस्पतालको फ्रिजबाट मिजारको शवले न्याय कुरिरहेकाे छ ।

त्यस्तै दैलेखका सेते दमाइ छोराले अन्तरजातीय प्रेम गरेकै कारण मारिनुपर्यो । गीता सुनार (नाम परिवर्तन) ले अझै श्रीमानको घरमा प्रवेश गर्न पाएकी छैनन् । गुल्मीका राजु बस्नेत दलित समुदायकी केटीसँग विवाह गरेकै कारण ‘अमान्छे’ बनेका छन् ।

समाजले ‘अमान्छे’ बनाएपछि मान्छे बन्न आमा र बच्चाको विचल्ली बनाएका छन् । रमेश (परिवर्तित नाम)ले लामो समयदेखि कसैलाई औँधि मन पराउँछन् । तर, उनीहरूको मिलनको टुंगो छैन । कारण, जात मिल्दैन ।

यस्ता घटनाको पछाडि समाजको निकृष्ट अनुहार लुकेको छ । अन्तरजातीय प्रेम र विवाहकै कारण विभेद र हत्या हुन छाडेको छैन् । यस्ता घटनालाई राज्यपक्षबाटै न्यायिक निरुपणका क्रममा कमजोर बनाइन्छ । प्रेमलाई जातीय संरचना सँगसँगै आर्थिक संरचनाले पनि असर पारेको छ ।

पिआर/ग्रिनकार्ड होल्डर, सेलिब्रेटी र खानदानी छन् भने त्यस्ता प्रेम सम्बन्ध फेरि ढिलोचाँडो कुनै न कुनै रूपमा सफल भएको देखिन्छ । प्रेमका पारखीहरू जुनसुकै प्रेम सम्बन्धलाई स्वीकार्ने समाजको व्यग्र प्रतीक्षामा छन् । र, परिवार र समाजसँग विद्रोह गर्न शुरु गरिसके नयाँ पुस्ता । हिन्दुवाद समाजले लादेको विभेको अन्त्य गर्ने अभियान सुरु भइसक्यो ।

सामन्ती पुरातनवादी चिन्तनले सिर्जना गरेको जातीय विभेदको पर्खाल अझै भत्कन सकेको छैन । कानुनले जातभात र छुवाछूत प्रथा हट्यो भन्छ । तर, व्यवहारमा कायमै छ । अन्तरजातीय विवाहको त समाचार नै बन्छ । जुन, दुखद पक्ष हो । अब यो बन्द हुनुपर्छ  ।

अब कोही पनि अन्तरजातीय प्रेम र विवाहको नाममा सजायको भागीदार हुनुहुँदैन  । हिन्दु जातीय व्यवस्थालाई भत्काउनै पर्छ । जातीय आधारमा गरिने सबै भेदभावलाई कानुनी दायरामा ल्याउनैपर्छ । नत्र समस्या ज्युँकात्युँ रहिरहने छ । जातीय छुवाछुतको कयौँ जघन्य अपराध मिलापत्रमा टुंगिएका छन् । तर, अब कानुनबमोजिम सजाय नदिई उनीहरूलाई छाड्नु हुँदैन ।

नेपालको विद्यमान संविधान तथा कानुनको बर्खिलाप भएका कयौं बर्बरतापूर्ण घटना छन् । यस्ता विभेदलाई जरैदेखि उखेल्न जरुरी छ । गहिरो जरो गाडेको जात व्यवस्था र कथित जातीय श्रेणीलाई अन्त्य गर्न सरकारले कडा कदम चाल्नैपर्छ । कानुनको पूर्ण पालना गर्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस्